Logo
|
Sunday 20th October 2019
NEWS PAPER

सन्दर्भ अन्तर्राष्ट्रिय योग दिवस: नसर्ने रोगबाट बच्न अपनाउनुहोस् यस्ता योगासन



आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २१ जुनमा विश्वभर योग दिवस मनाउने गरिन्छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।
अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री मोदीले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए ।
योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न मद्दत गर्ने योगगुरुहरु बताउँछन ।

अन्तर्राष्ट्रिय योग दिवस अवसरमा जनस्वास्थ्य सरोकारका सन्देश श्रेष्ठले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका कविराज निरिक्षक गोकुल पराजुलीसँग गरेको कुराकानीबाट:

            कविराज निरिक्षक,  गोकुल पराजुली

हामीले दैनिक गर्ने शारीरिक अभ्यासलाई यौगिक मोडलबाट शिलशिलावद्ध तरिकाले, नियमित विहानको शुभमुहूर्तमा गरेमा रोग लाग्ने सम्भावना न्युन हुन्छ । योगका माध्यमबाट नसर्ने रोगबाट बच्न सकिन्छ । दैनिक पसिना आउने गरी शारीरिक अभ्यास गरेमा नसर्ने रोगबाट बच्न सकिन्छ ।पहिला सरुवा रोगको प्रकोप त्राहित्राहिमा थियोे । जसले नसर्ने रोग छायाँमा परेको थियो । पछिल्लो समयमा सरुवा रोग नियन्त्रण हुदैँ गए पनि नसर्ने रोगले विकराल रुपलिदैँ गइरहेको छ । मोटोपना , मधुमेह, उच्चरक्तचाप, मिर्गौला र कोलेस्टोर जस्ता नसर्ने रोगका बिरामीहरु फैलिरहेका छन् । फ्याटी तत्व र खानपानबाट नसर्ने रोगका बिरामीहरु दिनप्रतिदिन बढिरहेका छन् ।

अल्छी मानिस शिकार
अल्छी मानिसहरुलाई नसर्ने रोगले बढि आक्रमण गर्ने विभिन्न तथ्याङकहरुबाट पुष्टि भइसकेको छ । विहान ढिला उठ्ने ,बढी सुत्ने, टन्न खाने र राति अबेर सुतेर विहान अबेर उठ्ने प्रवृति भएका व्यक्तिलाई नसर्ने रोगले बढी आक्रमण गरेको पाइन्छ । उनिहरुले नियमित योग अभ्यास, शरीरिक व्यायाम र जीवनशैली परिवर्तन गर्नुपर्छ । जब मानिस नियमित योग अभ्यासमा सरिक हुन्छ, तब उसको रोग प्रतिरोधात्मक शक्तिमा विकास हुन्छ । यसले सरुवा रोगको आक्रमणबाट सजिलै बचाउछ ।

कस्ता रोगलाई कस्ता योगासन ??
मधुमेह
मधुमेहका बिरामीले शरीर सिथिल बनाउने र पसिना निकाल्ने खालका शारीरिक अभ्यास गर्नुपर्छ । मधुमेह रोेगीका लागि मण्डुका योगाआसन अति उत्तम मानिन्छ । मकरासन, गोमुखासन, बक्रासन, भुजुङ्गा आसन पनि प्र्रभावकारी मानिन्छ ।

मण्डुका आसन
मण्डुका आसनले प्यानक्रियाजलाई सक्रिय बनाएर ईन्सुलिन बनाउन मद्दत गर्दछ । यो योगासन मधुमेह रोगीका लागी अत्यन्त लाभकारी मानिन्छ । साथै पेट तथा मुटुका रोगीहरूका लागी पनि प्रभावकारी छ ।
तरिका
१.वज्रासनमा बसेर दुवै हातका मुट्ठी बन्द गर्ने ।
२.मुट्ठी बन्द गर्दा बुढिऔँलालाई अन्य औँलाहरुले भित्रतिर ठेल्ने ।
३. दुवै मुट्ठीलाई नाभिको दुवैतर्फ लगाएर सास बाहिर निकाल्दै अगाडि झुक्ने । दृष्ट्रिलाई अगाडि तिर केन्द्रित गर्ने ।
४.केहि बेरसम्म यहि स्थितिमा बसेपछि फेरी वज्रासनमा फर्किने ।
मण्डुका आसन ८–१० पटक सम्म गर्नुपर्छ ।

ढाड दुःखाई
ढाड दुःखाईका लागी सबैभन्दा उत्तम योगासन भुजङ्गासन हो । शसकाआसन घोप्टो परि सुतेर गरिन्छ । शलभाआसन र बक्रआसन पनि ढाड दुःखाइका लागि राम्रो मानिन्छ । ढाड दुःख्ने बिरामीले निहुरेर, ढाड खुम्चाएर काम भने गर्नुहुदैँन ।
भुजङ्गासन
भुजङ्गासन ढाड दुःखाइका लागि सबैभन्दा उत्तम योगासन हो । यसले ढाड दुःखाईका साथसाथै सर्वाइकल, स्पोंडोलाइटिस तथा स्लिपडिस्क आदि मेरुडण्दसम्बन्धी रोगहरुका लागि लाभदायक मानिन्छ ।
तरिका
१.घोप्टो परेर सुत्ने । हत्केलालाई भुईमा राखी हातलाई छातिको दुवैतर्फ राख्ने । कुहिना माथि उठेको तथा पाखुरा टाँसिएको हुनुपर्छ । खुट्टा सिधा तथा पैतलाहरु आसपासमा मिलेको हुनुपर्छ ।
२. सासलाई िभत्र लिएर छाती तथा टाउकोलाई विस्तारै माथितिर उठाउने । नाभिदेखि तलको भागमा भुईमा जोडिएको हुनुपर्छ । टाउकोलाई माथि उठाउदैँ घाँटिलाई जतिसक्दो पछाडितिर मोड्नुपर्छ । यहि स्थितिमा करिव ३० सेकेन्ड जति बस्नुपर्छ । यो आसनलाई सकेसम्म दोहो¥याउनुपर्छ ।

मोटोपना

द्धिचक्रिकासन
मोटपन घटाउन द्धिचक्रिकासन उत्कृष्ठ मानिन्छ । नियमित रुपमा १०–१५ मिनेटसम्म यो अभ्यास गर्नाले शरीरमा अनावश्यक रुपले बढेको तौल कम हुदैँ जान्छ । आन्द्रलाई सक्रिय बनाउछ । कब्जियत, अम्लपित्त आदिलाई निर्मुल पार्दछ ।

तरिका
१. उत्तानो परी सुतेर हातका हत्केलाहरुलाई नितम्बको तल राख्ने ।
२. सास रोकेर एउटा खुट्टालाई पुरा उठाएर घुँडाबाट मोडेर कुर्कुच्चा नितम्बको छेउमा ल्याएर गोलाकार (साइकल चलाएको जस्तो) घुमाइरहने । यो प्रक्रिया २० देखि ३० पटकसम्म गर्ने । दुवै खुट्टालाई पालैपालो गर्ने ।
३. थाकेपछि शवआसनमा केहिबेर आराम गर्ने र त्यहि आसनलाई विपरित दिशाबाट दोर्याउने ।
४. यो अभ्यासलाई अघिल्लो स्थितिमा दुवै खुट्टालाई निरन्तर साइकल चलाए जस्तै घुमाउने । सास भित्र लिएर एउटा खुट्टालाई मोडेर छातितिर र अर्को खुट्टालाई सिधा फैलाउने

माइग्रेन
टाउको दुःखाइ तथा माइग्रेनका लागि प्रणायम आसन उपयुक्त मानिन्छ । प्रणायम भित्र पनि भ्रामरी र भस्त्रीकाले माइग्रेनलाई राम्रो गर्छ ।
भ्रामरी प्रणायम
भ्रामरी भनेको भमौरा जस्तै कराएर गर्ने योग हो । यो सास लिने खास तरिका हो । योगश्वासले शरीरका कोषहरूमा अक्सिजन बृद्धि गराउछ । यसले मानिसलाई मानसिक तथा शारीरिक रूपमा स्वस्थ बनाउछ । माइग्रेनको दुःखाईबाट पनि छुटकारा पाउन सकिन्छ । यो योग ३ पटकसम्म गर्न सकिन्छ

तरिका
आँखा र एउटा नाक बन्द गर्ने । भमौरा जस्तै कराएर सकेजति स्वास बाहिर फ्याक्ने । विस्तारै स्वास भित्र तान्ने ।
जीवनशैली
आयुर्वेद तथा योगको मुख्य उदेश्य नै मानिसहरुको जीवनशैली परिवर्तन गर्नु हो । योगा गरेको छ भन्दैमा टन्न फ्याटी खानेकुरा खान थाल्यो भने व्यक्ति झन् मोटाउन थाल्छ । योगा गर्नुको औचित्य रहदैँन् । त्यसकारण व्यालेन्स डाइट गर्नुपर्छ । आफुलाई चाहिने भन्दा बढि क्यालोरी खानुहुदैँन ।
वार्मअप
योगा गर्नुपुर्व वार्मअप गर्न अत्यन्त जरुरी हुन्छ । यसका लागि यौगीक जगिङ गर्नुपर्छ । यसका विभिन्न स्टेपहरु छन् । जसले शरीरको खुट्टा देखि टाउको सम्मका सबै भागहरुलाई तताउने कामगर्छ । वार्मअपले जोइन्टहरुलाई लुज (लचकदार) बनाउने काम गर्छ । वार्मअप पछि अरु योगाआसन, प्रणायाम र शुक्ष्म व्यायाम सजिलै गर्न सकिन्छ । हामीले योगाका लागि प्रत्यक दिन कम्तिमा १ घण्टा समय छुट्यायौँ भने पनि पर्याप्त हुन्छ ।

टेलिभिजन हेरेर योगा गर्नु ठिक या बेठिक ?
टेलिभिजन हेरेर पनि योगा गर्न सकिन्छ । योगासनको थेउरीलाई राम्रोसँग ग्रहन गर्न सके टेलिभिजनमार्फत पनि योगा सिक्न सकिन्छ । नजानेका स्टेपलाई धेरै अभ्यास गर्नु हुदैँन । उच्चरक्तचापका बिरामीले गाह्रो र हस्याङफस्याङ हुने खालका व्यायाम गर्नुहुदैँन । बालक र वयस्कले अलि कडा योगाअभ्यास गर्न सक्छन् । तर बृद्धबृद्धाले सामान्य खालका योगा गर्दा उत्तम हुन्छ ।
मेडिटेसन के हो ?
योगले सबैकुरालाई समेटेको हुन्छ । मेडिटेसन त्यो भित्रको एउटा पाटो हो । मेडिटेसनले मेन्टल्ली हिलिङ गर्छ । व्यक्ति मानसिक रुपमा स्वस्थ हुन्छ । समग्र स्वास्थ्यको परिभाषा योगबाट सम्भव हुनसक्छ । किनकी मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य र सामाजिक स्वास्थ्य सबै योगा भित्र नै छन् ।
सुझाव
नियमित योग अभ्यास गराँै । सधैँ स्वस्थ रहौँ । योग दिवस वर्षेनि आइरहन्छन । यसले केवल सचेतना दिने काम गर्छ । योगा व्यक्ति आफैले घरमा बसेर, साथिहरुसँग या शिक्षकको सहयोगमा गर्नुपर्छ । यसरी योगमा संलग्न भए हाम्रो समाज स्वस्थ हुन्छ । नसर्ने रोगको आक्रान्तबाट टाढा भइन्छ । रोग प्रतिरक्षा शक्तिको विकास हुन्छ । जसले गर्दा सामान्यखालका सरुवा रोगबाट बच्न सकिन्छ ।

 

NH
Health News
प्रतिक्रिया दिनुहोस्