Logo
|
Thursday 28th March 2024
Logo

epaper

गर्मीमा स्वास्थ्यवर्धक लस्सी




यतिखेर राजधानी लगायत मुलुकभर व्यापक गर्मी बढेको छ । सडकमा चिसो पिउनेहरुको भिड पनि त्यतिकै देख्न पाइन्छ । दर्शक बृन्द गर्मी बढेसँगै काठमाडौंको इन्द्रचोकमा लस्सी पिउनेहरुको संख्या पनि कम छैन । जनस्वास्थ्य सरोकारको टोली इन्द्रचोक पुग्दा दर्जनौ लस्सीका पारखीहरु उभिएर लस्सी पिउँदै गरेको दृष्य देखिन्थ्यो । लस्सी बिक्रेतालाई भ्याई नभ्याइ थियो । उनले अरु बेला भन्दा गर्मी मौसममा धेरै लस्सी बिक्री हुने गरेको बताए ।

गर्मी मौसममा शरीरलाई अत्यधिक पानीको मात्रा आवश्यक हुन्छ । धेरैजसो मान्छेले पानीलाई साधा पिउन रुचाउँछन् । तर, कोही कोहीले साधा पानीभन्दा यसमा विभिन्न सामग्री मिसाएर पिउने गर्छन् । गर्मीमा शरीरलाई चिसो प्रदान गर्ने खाद्यपदार्थ सेवन गर्न मानिसहरु अनेक उपाय अपनाउँछन् । बजारमा पाइने विभिन्न जुस, ग्लुकोज वा अन्य घरेलु उपायले पेय पदार्थ बनाउन सकिन्छ । बजारमा पाइने विभिन्न कोल्ड ड्रिंक्सले हाम्रो शरीरमा निक्कै नै हानी पुर्याउने गर्छ । त्यसैले हामीले यस्तो पेय पदार्थको सेवन गर्नु हुँदैन । घरमा पाइने र छिट्टै बनाउन सक्ने पेय पदार्थ मध्ये दहीको लस्सी एक हो । दही सेवनले शरीरलाई शितलता प्रदान गर्नुका साथै यसमा विभिन्न औषधीय गुणहरु हुने गर्छन् । नियमित दहीको लस्सीको प्रयोगले शरीरलाई गर्मीबाट बचाउन सकिन्छ । चिनीबिनाको लस्सी पिउनु शरीरलाई धेरै नै फाइदाजनक मानिन्छ ।

लस्सी खानाले पाचन प्रक्रियामा मद्दत पुर्याएर आन्द्रा र पेटसम्बन्धी रोगहरुबाट छुट्कारा मिल्ने पोषणबिद्हरुको भनाइ छ । प्रशस्त मात्रामा क्याल्सियम पाइने हुनाले हाम्रो हड्डीहरुको विकासमा धेरै सहयोग पुर्याउनुका साथै, दाँत, तथा नङलाई पनि बलियो बनाउन मद्दत गर्दछ । यसले शरीरमा फोस्फोरस र भिटामिन डीको मात्रालाई नियन्त्रण गरेर ओस्टियोपोरोसिस, क्यान्सर, हार्टअट्याक र अन्य पेटको विकारविरुद्ध लड्न मद्दत गर्छ । हाम्रो शरीरमा भएको खराब कोलेस्टेरोलरको मात्रा घटाएर उच्चरक्तचाप तथा मुटुसम्बन्धी रोगलाई हटाउन मद्दत गर्छ । लस्सीले ब्लड सुगरलाई सन्तुलन राख्न सहयोग पुर्याउँछ । गर्मीको मौसममा शरीरको तापक्रम कम गर्न लस्सीभन्दा राम्रो अर्को विकल्प अरु देखिँदैन । तर, धेरै लस्सी पिएमा ग्यास्ट्रिकको समस्या देखा पर्न सक्ने हुनेले रातिको समयमा लस्सी पिउनु उचित मानिदैन । त्यति मात्र नभएर मधुमेह रोगीहरुले पनि लस्सीको सेवन धेरै गर्न नहुने पोषणबिद्हरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्