Logo
|
Friday 19th April 2024
Logo

epaper

दाजु कोमामा, दिदी घरमै विक्षिप्त



भावना नेम्वाड (तामाङ) ले दाजु श्रीबहादुरको अनुहार लगभग भुलिसकिन् । कहिलेकाहीँ सपनामा देख्छिन्, बस् त्यति । डेढ दशकदेखि दाजुबहिनीको भेट भएको छैन । श्रीबहादुर कतार उड्दा भावना सानै थिइन् ।

झापा, भद्रपुर–३ (साविकको महेशपुर–१) का ३९ वर्षीय श्रीबहादुर ११ वर्षदेखि कतारको हमाद अस्पतालमा कोमामा छन् । उनको उद्धार गरेर नेपालमै उपचार गराउने हिम्मत र हैसियत परिवारसँग छैन ।

सरकारले उपचारलगायत सबै खर्च बेहोरेर दाजुलाई ल्याइदिए हुन्थ्यो भन्ने कामना गर्ने भावना भन्छिन्, ‘तर दाजुको मुख हेर्नबाहेक हामी केही गर्न सक्दैनौं । दिदीलाई आफैंले स्याहारेकी छु, दाजु पनि थपिँदा केले थेग्नु !’ दिदी अर्थात् टीकामाया नेम्वाङ । लेबनान पुगेर फर्किएकी टीकामाया एक दशकदेखि विक्षिप्त अवस्थामा छिन् । उनलाई भावनाले आफूसँगै राखेर स्याहारिरहेकी छन् ।

टीकामाया रहरले होइन, बाध्यताले वैदेशिक रोजगारी खोज्दै लेबनान पुगेकी थिइन् । किनभने त्यतिबेलै दाजु श्रीबहादुर कतारमा कोमामा परिसकेका थिए । श्रीबहादुर स्थानीय एजेन्ट धनराज थेबेमार्फत कतार पुगेका थिए । अलि रामदान ट्रेडर्समा कार्यरत उनले अलिअलि पैसा घर पठाउँदै थिए । उनी घर नफर्किएको तीन वर्षजति भएको थियो । २०६५ भदौ १९ मा उनी बाटो काट्ने क्रममा सडक दुर्घटनामा परे । साथीभाइले सडकबाट उठाएर अस्पतालसम्म पुर्‍याए । त्यसयता उनी अस्पतालकै कोमामा छन् । होस छैन । शरीर अचल छ । मात्र दुई मुठी सासले अल्झाएको छ ।

श्रीबहादुर विदेश जाँदा भावना सानै थिइन् । भावनाका भाइ पनि छन् मन्दिर, उनी झन् साना थिए । भावनाकी दिदी, श्रीबहादुरकी ठूली बहिनी टीकामाया मात्रै बुझ्ने उमेरकी थिइन् । श्रीबहादुरको दुर्घटनाको पीरले वर्ष दिनभित्रै आमाबुबापालैपालो बिते ।

उनलाई विदेश पठाउँदा लागेको ऋण तिरिसक्न बाँकी नै थियो । भएको जग्गा बेचेर ऋण तिरेपछि बचेको पैसाले टीकामाया लेबनान उडिन् । घरेलु कामदारका रूपमा गएकी उनी बेलाबेला घरमा फोन गर्थिन् । थोरैतिनो रकम पठाउँदै पनि थिइन् तर दुई वर्ष पुगेपछि अचानक उनको हालत बिग्रिएको खबर आयो । भावनाका अनुसार लेबनानमा घर मालिकको शारीरिक र मानसिक यातनाले उनी विक्षिप्त बनेकी थिइन् ।

बिरामी भएपछि मालिकले उनलाई घर पठाइदियो । जसोतसो आइपुगिन् । श्रीबहादुरकै जस्तो हालत छ टीकामायाको । ‘दाजु कतारको कोमामा हुनुहुन्छ,’ भावना सुस्केरा काड्छिन्, ‘ऋण तिर्ने पैसा कमाउन गएकी दिदी उस्तै भएर फर्किइन् ।’

लेबनानबाट फर्किएलगत्तै टीकाको मानसिक सन्तुलन गुमेको थियो । ‘दिदीको स्वास्थ्य राम्रो होला कि भनेर धेरै उपचार गरिहेरेँ,’ भावना भन्छिन्, ‘बीसको उन्नाइस भएन, स्वास्थ्य झन् बिग्रँदै गयो । ऋण पनि चुलियो ।’ऋण पाँच लाख नाघिसकेको छ ।

माइतीका नाममा घरजग्गा केही छैन । भद्रपुर–९ का युवकसँग बिहे गरेपछि भावनाले दिदी टीकामायालाई पनि आफूसँगै ल्याएकी थिइन् । परिवारले अर्काको जग्गामा खेतीपाती र ज्यालामजदुरी गरेर गुजारा चलाउँदै आएको छ । भाइ मन्दिर एक वर्षअघि कतार गएका छन् ।

नेम्वाङ परिवार २०३० को दशकमै गरिबीबाट बच्न पाँचथरबाट झापा झरेको थियो । महेशपुर र पृथ्वीनगर क्षेत्रमा झोडा फाँडेर बस्ती बसाउनेमध्ये श्रीबहादुरका बुबा एक थिए । श्रीबहादुर घरपरिवारको दुःख बिर्साउन कतार उडेका थिए ।परिस्थितिले श्रीबहादुरलाई आफन्त र परिवारले क्रमशः बिर्सनुपर्ने बाध्यता बनेको छ । ‘आफ्नो दाजु हो, ल्याउन पाए हुन्थ्यो भन्ने लाग्छ तर ल्याएर सम्हाल्न पनि सकिँदैन,’ भावना रोकिन सक्दिनन् ।

प्रतिक्रिया दिनुहोस्