Logo
|
Thursday 18th April 2024
Logo

epaper

वडा–वडामा स्वास्थ्य संस्था



वडा–वडामा स्वास्थ्य संस्था

गजुरी र बेनिघाट रोराङ गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेका छन्। १० वटा वडा रहेको बेनिघाट रोराङमा ११ वटा स्वास्थ्य संस्था सञ्चालित छन्।

साविक गाविसस्तरीय स्वास्थ्य चौकीलाई समेत एक वडा एक स्वास्थ्य संस्थाका रूपमा राखी बाँकी सबै ५ वटा वडामा यस आर्थिक वर्षमा गाउँपालिकाले आफ्नै स्रोत–साधनमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले जानकारी दिए। ‘वडाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सजिलो होस् भन्ने उद्देश्यले प्रत्येक वडामा स्वास्थ्य संस्था सञ्चालन गरेका हौँ’, उनले भने, ‘वडाबासीले स्वास्थ्य सेवा लिन अर्को वडामा जानुपर्ने बाध्यता थियो, अब त्यो हटेको छ।’

गजुरी गाउँपालिकाको आन्तरिक स्रोतमा २० लाख बजेट छुट्ट्याएर वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले बताए। साविकको गजुरी, किरान्चोक र पिडा गाविस मिलाएर गजुरी गाउँपालिकाको ८ वटा वडा बनाइएको थियो। साविकका गाविसमा एक–एक वटा स्वास्थ्यचौकी रहेको र बाँकी ५ वटा वडामा गाउँपालिकाको २० लाख बजेट छुट्याएर करारमा स्वास्थ्यकर्मी नियुक्त गरी स्वास्थ्य संस्था सञ्चालन गरिएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले बताए।

स्वास्थ्य सेवा केन्द्रमा अहिले अहेव, अनमी र कार्यालय सहयोगी नियुक्त गरेर आवश्यक आधारभूत औषधिसहित सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन्। रेग्मीले भने, ‘स–साना औषधि र प्राथमिक उपचारका लागि टाढा जान नपरोस् भनेर वडामै स्वास्थ्य सेवा सुरु गरिएको हो।’ उनका अनुसार गाउँपालिकाबाट छुट्याइएको बजेटबाटै औषधि तथा जनशक्ति व्यवस्थापन हुने बताए।

गाउँपालिकाले यसअघि पनि गर्भवतीको स्वास्थ्य र सुरक्षाका लागि आफ्नै खर्चमा ‘प्रसूति–प्रतीक्षा घर’ सञ्चालन गरेको छ। गाउँ–गाउँमा रहेका महिलाले बच्चा जन्माउने बेला भोग्ने कष्ट र समस्या समाधान गराउने पहलस्वरूप गाउँपालिका आफैंले प्रसूति प्रतीक्षा घर सञ्चालन गरेको हो। बच्चा जन्माउनुअघि आएर बस्ने महिलाको खाने, बस्नेलगायत सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने गरेको छ। सुत्केरी र गर्भवतीका लागि नि:शुल्क एम्बुलेन्स सेवा पनि प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

बेनिघाट रोराङ गाउँपालिकाले पनि आफ्नो १० वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ। साविक ४ वटा गाविस मिलाएर बनाइएको गाउँपालिकामा पहिले ४ वटा नै स्वास्थ्य चौकी रहेको जनप्रतिनिधि निर्वाचित भएपछि स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्वास्थ्य संस्था थप गरिएको गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले बताए। उनले भने, ‘सामान्य रुघा खोकी र ज्वरो आउँदासमेत ३÷४ घण्टा हिँडेर अर्को वडामा सेवा लिनुपर्ने बाध्यता हटेको छ। एक वडा एक स्वास्थ्य संस्थाको अवधारणासहित स्वास्थ्य सेवालाई आमनागरिकमाझ सरल र सुलभ बनाउने उद्देश्यसाथ गाउँपालिकाले स्वास्थ्य संस्था निर्माण गरी सेवा प्रदान गरेको हो।’

बिरामीले स्वास्थ्य संस्था खोज्ने भन्दा पनि स्वास्थ्य संस्थाले बिरामी खोज्ने अभियानअनुसार वडा–वडामा स्वास्थ्य संस्था स्थापना गरिएको बेनिघाट रोराङ गाउँपालिकाका स्वास्थ्य संयोजक मधुसूदन खड्काले बताए। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्