Logo
|
Tuesday 16th April 2024
Logo

epaper

समयमै उपचार पाउँदैनन् विकटका महिला



 शिवनाथ गाउँपालिका २ कि ७० वर्षिया बेलु चाडको पाठेघर खसेको ४ वर्ष बढी भयो । उनी उपचारको अभावमा समस्या झेल्दै आएकी थिईन् । शरीररै थाम्न गाह्रो हुने यो उमेरमा पाठेघर बाहिर आउँदा उनलाई खुबै पीडा थियो । हिड्न, उठबस गर्न र सुत्नसमेत सकस हुने गरेको थियो ।

यस्तै शिवनाथ गाउँपालिका १ की ५० वर्षिया गौमती साउँदको पीडा पनि बेलुको भन्दा फरक छैन । जहिल्यै रगतले लतपतिएको कपडाको भरमा उनी हुन्थिन् । कहि कतै जाउँ भने पनि पाठेघरकै समस्याले रोकिनुपर्ने अवस्था थियो ।

उनीहरू दुवै जनाले आर्थिक अभावसंँगै नजिकै कुनै अस्पताल नहुँदा अहिलेसम्म पनि उपचार गराउन नसकेको बताए । उनीहरू जस्तै धेरै ग्रामिण्ण क्षेत्रका महिलाहरू विभिन्न प्रजनन रोगहरूबाट ग्रसित रहेका छन् । तर उनीहरूले समयमै उपचार पाउदैनन् । नजीकै कुनै विषेशज्ञ सेवा पाईने स्वास्थ्यसंस्था नहुनु, गाउँबाट अन्त गएर उपचार गराउने पैसा नहुनेले उनीहरूले उपचार गराउन पाईरहेका हुदैनन् ।

धेरै महिला उपचारका लागि घरबाट बाहिर जान पनि असहज मान्ने गरेका छन् । गाउँघरमा सञ्चालन हुने स्वास्थ्य शिविरबाहेक उनीहरूलाई उपचारको अरु विकल्प छैन । शिविरहरू कहिले, कहाँ रकुन समयमा सञ्चालन हुन्छ उनीहरूलाइ केही अत्तोपत्तो हुदैन् । त्यसैले विकट क्षेत्रका महिलाहरू रोग पालेरै जिवन सिध्याउछ ।

पुरुषहरू विभिन्न कामको सिलसिलामा सहरतिर गएर स्वास्थ्य उपचार गर्ने गरेका भए पनि महिलाहरूलाई यस्तो अवसर जुट्न दुर्गम भेकका गाउँबस्तीमा धेरै गाह्रो छ । उपचारकै लागि गाउँ बाहिर जाने खर्चसमेत नहुँदा उपचारबाट बन्चित हुनुपर्ने गरेको शिवनाथ गाउँपालिका २ कि कौशिला साउँदले बताईन् ।

गत आइतवार र सोमबार २ दिन जिल्ला स्वास्थ्य कार्यालयले विकट स्थानीय तहहरू शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर संञ्चालन गरेको छ । उक्त शिविरबाट बेलु र गौमती जस्तै धेरै महिलाहरूको प्रजनन स्वास्थ्य समस्याहरूको समाधान पनि गरिएको छ । साथै शिविरमा अन्य चेकजाँच पनि गरिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाईजर डिल्लीरमण जोशीले बताए ।

पालिकाहरूसँंगको समन्वयमा महिलाहरूको लागि शिविर सञ्चालन गरिएको सुपरभाइजर जोशीले बताए । शिवनाथको शर्माली स्वास्थ्यचौकीमा भएको शिविरमा २५४ जनाले सेवा लिएका थिए । जहाँ १० जना महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच, ९ जनाको पाठेघर खसेकाहरूको पाठेघरमा रिङ राख्ने, ९६ जना गर्भवतीहरूको भिडियो एक्सरे गरिएको जानकारी जोशीले जानकारी दिए । बाँकी अन्यको यौन रोग, तल्लो पेट दुख्नेलगायतको उपचार गरिएको उनको भनाई छ ।

यस्तै पञ्चेश्वरको कुलाउमा २५५ जनाले सेवा लिएकोमा १८ जनाको पाठेघरको मुखको क्यान्सरको जाँच, ८ जना पाठेघर खसेकाहरूको पाठेघरमा रिङ खाख्ने, ११४ जना गर्भवतीको भिडियो एक्सरे गर्ने कार्य गरिएको सुपरभाइजर जोशीले बताए । शिविरमा पुग्ने अन्यको पनि स्वास्थ्य चेकजाँच गरिएको थियो । २ स्थानमा भएको शिविरमा ६ जना गर्भवती महिलाहरूको पेटको बच्चा उल्टो भएको भेटिएको छ । उनीहरूको थप उपचार गरिने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

विभिन्न समस्याबाट ग्रसित विकट क्षेत्रका महिलालाई गाउँघरमै सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरेको स्वास्थ्य कार्यालय प्रमुख निशा जोशीले बताइन् । ‘गाउँघरका महिलाहरूको प्रजनन् समस्या पत्ता लगाउन, स्थानीय स्तरमै व्यवस्थापन गर्न शिविरमा चिकित्सकबाट हुने चेकजाँच निकै प्रभावकारी भएको छ,’ उनले भनिन, ‘ठूलो प्रजनन् समस्या देखिएमा समयमै उपचारको लागि सहयोग गर्ने उद्देश्यले शिविर संञ्चालन गरिएको हो ।’

अझै पनि विकट गाउँहहरूमा विशेषज्ञ डाक्टरहरूबाट सेवा पाउँन स्वास्थ्य शिविर नै कुर्नु पर्ने हुन्छ । तराई झर्न धेरै समय र खर्च लाग्ने भएकोले शिवनाथ र पञ्चेश्वरका बासिन्दाहरू महाकाली तरेर उपचारको लागि भारत पुग्ने गर्छन । भारतमा पनि सस्तोमा उपचार पाउन मुस्किल पर्ने भएकोले अधिंकास नागरिकहरू रोग पालेरै बस्ने गरेका छन् ।

धेरै समयपछि शिविर बसेको भन्दै स्थानीय खुसी भएको हेल्थ असिस्टेन्ट हेमन्तसिंह साउँदले बताए । ‘अझै धेरै नागरिक राम्रो स्वास्थ्य सुविधा पाउनबाट बन्चित भएका देखियो’ उनले भने, ‘सबै सरोकारवाला संघसंस्थाहरू मिलेर निशुल्क विशेषज्ञ सहितको सेवा दिन जरुरी देखिन्छ । नभए धेरैको अकालमै ज्यान गुमाउनुपर्ने अवस्था हुनेछ ।’

डाक्टर दिलीप शाह र दिलीप जोशीलगायतले शिविरमा सेवा दिएका थिए । केही दिनमा फेरि डिलाशैनी गाउँपालिकाको सिमार र दोगडाकेदार गाउँपालिकाको सित्तडमा यस्तै शिविर सञ्चालन गर्ने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । धेरै वर्षसम्म विभिन्न प्रजनन् रोगबाट पीडित महिलाहरूले गाउँघरमै सेवा पाउँदा खुसी भएका थिए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्