Logo
|
Tuesday 16th April 2024
Logo

epaper

सेतो पुतली आँखाका लागि खतरा



 

moth

कसैको एउटामात्र आँखा एक्कासि रातो भएको छ वा छोटो समयमा नै देख्ने शक्ति कमजोर हुँदैछ भने छिटै अस्पताल पुग्नु जरुरी छ । त्यो आँखामा लाग्ने सापु रोग (सिजनल हाइपर एक्यिुट प्यान युभेइटिस) हुनसक्छ । यो रोग विशेषगरी बालबालिकामा बढी देखिन्छ । रातो हुने गरी सङ्क्रमण भएपछि केही घन्टादेखि केही दिनमा आँखै नदेख्ने हुन्छ ।
नेपालमा यो रोग आएको ४० वर्षभन्दा बढी भयो । २०३२ सालमा पहिलोपल्ट नेपालमा देखिएको थियो । त्यतिखेर पनि बच्चामा पहिले देखा प¥यो । अस्पताल आएका बच्चामा एउटै लक्षण थियो । “मोथ (सेतो पुतली) खेलाएको र कसैको आँखामा मोथ परेको देखिएको पाइयो,” आँखारोग विशेषज्ञ डा. अनु मानन्धरले भन्नुभयो, “मोथले नै हो कि भनेर त्यो बेलादेखि नै अनुमान गरियो । ”
तर, सीधै मोथले गर्दा भएको भन्ने औपचारिक रूपम प्रमाणित भएको छैन, मोथ यस रोगको जोखिम कारक नै हो भन्ने प्रमाणित भने भएको छ । उहाँका अनुसार यो रोग लागेमा आँखाभित्र ब्याक्टेरिया देखिएको छ । दस–पन्ध्र वर्षयता रोगको निदानमा सफलता मिलेको छ । “आँखामा ‘एन्टिबायोटिक इन्जेक्सन’ लगाउँदा आँखामा जमेको पिप हटाउन र ज्योति फिर्ता ल्याउन सकिन्छ भन्ने जानकारी भयो,” उहाँले स्पष्ट पार्नुभयो । जीवाणु देखिएको, नदेखिएको दुवै आँखामा एन्टिबायोटिक राख्दा राम्रो परिणाम देखिएको छ । रोग लागेका बेला १४ देखि ३९ प्रतिशतका आँखामा ब्याक्टेरिया देखिएको उहाँको भनाइ छ ।
डा. मानन्धरका अनुसार हरेक एक वर्ष बिराएर यो रोग ठूलै महामारीका रूपमा पनि देखा पर्छ । हरेक वर्ष फाट्टफुट्ट वर्षा मौसममा आउँछ । नेपालमा भने दशैँ–तिहारताका ठूलै प्रकोप हुने सम्भावना रहन्छ । “कहिले कुन क्षेत्रमा धेरै हुन्छ कहिले कुनैमा,” उहाँले थप्नुभयो, “प्रदेश ३ र ४ मा वर्ष बिराएर देखिइरहेको छ । प्रदेश १ र २ तिरबाट भने कम आउने गरेको छ । ”
७०–७५ प्रतिशत बच्चामा र २५–३० प्रतिशत ठूला मानिसमा असर गरेको पाइएको छ । बच्चाको आँखा बढी रातो हुन्छ र रुने तथा नखाने गर्छन् । कसैलाई ज्वरो आउने र टाउको दुख्ने हुन्छ । बच्चाले आँखा दुख्यो र देखिन भन्न नजान्दा अस्पताल आइपुग्न समय लाग्छ ।
“हेर्दाहेर्दै घन्टैपिच्छे दृष्टि कम हुँदै जान्छ,” उहाँले सुनाउनुभयो, “आँखामा चिप्रा पटक्कै आउँदैन, पिप जम्छ । ” अस्पताल पुग्न तीन दिनभन्दा ढिलो भयो भने आँखाको लेन्सपछाडि बाक्लो पिप जमेर सेतो टल्किन्छ । बच्चाहरूलाई प्रायः सेतो टल्किएपछि अस्पताल ल्याइन्छ ।
त्यो बेलामा रोगले धेरै नै प्रभाव गरिसकेको अवस्था हुन्छ । यस्तोमा पिप पूरा सफा गर्ने र शल्यक्रिया गरेर एन्टिबायोटिक हाले पनि दृष्टि फर्काउन सकिन्छ भन्ने सुनिश्चित नहुने उहाँ बताउनुहुन्छ । “कोही कोहीको आँखाको गेडीसम्म बचाउन सक्छौँ, ज्योति नभए पनि आफ्नै आकारमा आउँछ सुकेर जाँदैन,” उहाँले प्रस्ट्याउनुभयो, “हरेक महामारीमा एकचौथाइदेखि एकतिहाइ जति बालबालिकाको आँखा सुकेर जान्छ । ” मोथको असरका बारेमा बताउँदै डा. मानन्धरले १०–१२ प्रतिशत बच्चाको आँखाभित्र झुस पाइएको बताउनुभयो । “आँखाभित्र झुस फेला पा¥या छौँ,” उहाँले थप्नुभयो, “सेतो मोथ राम्रो देखेपछि बालबालिकाले समात्ने गर्छन् । कसैले हातले मार्छन्, कसैले चप्पलले र कसैले कुचो हान्छन् । त्यसरी हानेपछि त्यो मोथको जिउमा भएको झुस उडेर आँखामा पर्छ । ” सडकमा बाइकमा हिँड्दा आँखामा परेको घटना पनि छन् । लोडसेडिङको बेलामा मैनबत्ती बाल्दा त्यो बेलामा मोथ आँखामा परेको पाइएको उहाँले जानकारी दिनुभयो । त्यो एउटा भेक्टर मात्र हो कि, त्यसले किटाणु आँखामा मात्र ल्याउने हो कि अथवा त्यसको टक्सिनले रोग ल्याउने हो भन्ने थप अध्ययन हुन बाँकी रहेको औँल्याउनुभयो ।
जोगिने कसरी ?
एक वर्ष बिराई आउने भएकाले यो वर्ष नेपालमा यस रोगको महामारीको सम्भावना निकै छ । यसअघि २०७४ सालमा प्रभाव व्यापक थियो ।
चिकित्सकका अनुसार यो रोगबाट जोगिनलाई कालो धर्सा भएको सेतो पुतली (मोथ)बाट बच्चालाई टाढा राख्नुपर्छ । ठूलो मान्छे पनि टाढा बस्नुपर्छ । अनावश्यक छुने, मार्ने गर्नुहुन्न । मोटरसाइकलमा हिँड्दा भाइजर लाउने, घरको झ्यालढोकामा जाली प्रयोग गर्ने, जाली राख्न नसक्ने अवस्था छ भने झुलभित्र सुत्न सकिन्छ ।
सेतो बत्ती बालेपछि पुतली आकर्षित हुने हुँदा त्यसका वरिपरि बालबालिकालाई जान नदिन डा. अनु मानन्धरले सुझाउनुभयो । घरभित्र र आँगनमा सकेसम्म यस सिजनमा सेतो बत्ती प्रयोग नगर्न वेश हुने उहाँले बताउनुभयो । आँखा रातो भइहालेमा तत्काल अस्पताल पुग्नुपर्छ ।

के हो मोथ ?
सेतोमा कालो धर्सा भएको सुन्दर पुतली मोथ हो । रातमा रमाउने भएकाले यसलाई निशाचर पुतली भनिने पुतलीविज्ञ डा. भैया खनालले बताउनुभयो । उहाँका अनुसार सेतो मर्करी, रेड, सीएफएल र सडकमा बालिने चर्को उज्यालो बत्तीमा मोथ आकर्षित हुन्छ ।  उहाँका अनुसार ‘नोटोडनटिडी’ परिवारभित्र भने मोथका केही प्रजाति विषालु हुन्छ । जसमा ‘ग्याजेलिना क्राइसोलोफा, ग्याजालिना ट्रान्सभर्सा र ग्याजालिना’ अप्सरा पर्छ । यीमध्ये सबैभन्दा विषालु र आँखामा असर गर्ने मोथ भने ग्याजालिना क्राइसोलोफा हो । “यसको पोथी जातको पुच्छरमा पहँेलो मसिना रौँ हुन्छ,” उहाँले भन्नुभयो, “जुन हल्का हावामा समेत सजिलै उप्किएर उड्छ । ” वास्तवमा यी रौँ उसले आफ्ना बयस्क अण्डाको संरक्षण गर्न उपयोग गर्छ । कसैले चलाएमा र छोएमा विषसहितको रौँ छाडेर भगाउँछ । मोथको शरीर पछाडिको भागमा रहेको विषालु ग्रन्थीसँग रौँ जोडिएको हुन्छ । जब त्यसलाई छोइन्छ तब रौँमा विष प्रवाह हुन्छ । आँखामा पस्ने रौँमा विष भएकाले गहिरो असर गर्ने उहाँ बताउनुहुन्छ ।
चहकिलो बत्तीमा फुरफुर गर्दै उड्ने पुतलीका रौँ पनि उडिरहेको हुन्छ । सबैभन्दा ठूलो मोथ एटलस मोथ हो । तर, सामान्य मोथका रूपमा रहेको क्राइसोलोफा जस्तो यो विषालु हुन्न । नेपालमा तीन हजार बढी प्रजातिका मोथ पाइन्छ ।
अत्यधिक रूपमा नेपालको मध्यपहाडी भेगमा विषालु मोथ पाइने हुँदा यस क्षेत्रमा नै आँखाको सङ्क्रमण बढी पाइएको हुनसक्ने उहाँले अनुमान गर्नुभयो । “तराईमा त्यति देखिएको छैन,” उहाँले भन्नुभयो, “काठमाडौँ, पोखरा र पहाडी भेगको सात हजार मिटर उचाइसम्म देखिएको छ । ”
मनसुन सकिने बेलातिर मोथ बढी सक्रिय हुन्छन् । नेपालको मौसमअनुसार दशैँ–तिहार ताकासम्म यसको चहलपहल बढी रहने गर्छ । प्रायः उत्तिसको रूखमा यसको लार्भा बस्छ र त्यसैको पात खान्छ । गोरखापत्रबाट

 

प्रतिक्रिया दिनुहोस्