Logo
|
Sunday 20th October 2019
NEWS PAPER

मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदानबिना धेरैको मिर्गौला प्रत्यारोपण असम्भव



 

डा.पुकार चन्द्र श्रेष्ठ/ वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपणविद्

नेपालमा सरुवा रोग भन्दा पनि नसर्ने रोगबाट धेरैको मृत्यु हुने गरेको पाइएको छ । मुटुरोग , क्यान्सर, मिर्गौलाको रोग तथा चोटपटकहरुबाट ६५% मृत्यु हुने राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ को अप्रिलमा सार्जनिक गरेको रिपोर्टले पनि देखाउँछ ।नसर्ने रोग भन्दा पनि मिर्गौला फेल हुने, हृदयघात, मस्तिष्कघात र अन्धोपन जस्ता रोगहरुको हामै्र प्रयासबाट नियन्त्रण गर्न सकिन्छ । मधुमेह, उच्च रक्तचापले विभिन्न समस्या निम्त्याइरहेका छन् ।

नेपाल जस्ता विकासोन्मुख देशहरुमा मिर्गौला फेल भएका ९० प्रतिशत भन्दा बढी व्यक्तिहरु केही महिनामै मृत्युको शिकार हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुमान छ ।
मिर्गौला र कलेजो ‘फेल’ भएकाहरुको उपचार अति महँगो हुने भएकाले यो अधिकांश नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको पहुँच भन्दा बाहिर हुने गर्छ ।

सन् २००० को शुरुतिर जब म जनरल सर्जनको रुपमा लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत थिएँ, मेरो आँखा अगाडी २०/३० वर्षका युवा युवतीहरु मिर्गौला र कलेजो फेल भएर अकाल मृत्यूको शिकार भएको देख्दा यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने दृढ इच्छा शक्ति जागेर आयो । त्यसताका स्कटल्याण्डबाट नेपाली युवा सर्जनको लागि आएको ६ हप्ते छात्रवृत्तिमा छानिएँ र इडिनवर्गमा कलेजो प्रत्यारोपणमा अभ्जरभेसनका लागि जाने मौका पाएँ । त्यसको केही समयपछि नै मैले बर्मिङ्गमको कुइन इलिजावेथ अस्पतालमा कलेजो प्रत्यारोपणमा फेलोशिप गर्ने मौका पाएँ । रात दिन मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग निकाल्न वा कलेजो प्रत्यारोपण गर्दा गर्दै करीब २ वर्ष बित्यो । त्यतिखेर नेपालमा मिर्गौला प्रत्यारोपण पनि शुरु नभएको अवस्थामा कलेजो प्रत्यारोपण (जुन चिकित्सा विज्ञानमा सबै भन्दा जटिल शल्यक्रिया मानिन्छ) असम्भव प्राय थियो ।

तसर्थ प्राविधिक दृष्टिकोणले तुलनात्मक रुपमा सहज मिर्गौला प्रत्यारोपणबाट ‘देशमा प्रत्यारोपण सेवाको शुभारम्भ गर्नुपर्छ’ भन्ने निचोड निकालँे र मिर्गौला, कलेजो र प्याँङ्क्रिियाज तीन अंग प्रत्यारोपण हुने ठाउँ न्यू क्यासलको फ्रिम्यान अस्पताल रोजँे । करिब ६ वर्षको प्रत्यारोपण तालिम पछि मलाई दिइएको जिम्मेवारी पुरा गरी म नेपालमै फर्कने कुरा मेरो गुरु प्रा.डा डेभिड टाल्बोट सित राखेँ । उनको जिज्ञासा थियो कुनै पनि अंग प्रत्यारोपणको शुरुवात् नभएको देशमा कतै मेरो तालिम खेर जाने त होइन भनेर । तर उनका साथ रहेमा नेपालमा प्रत्यारोपण कार्य शुरु गर्ने मेरो अठोट उनलाई बुझाएँ र नभन्दै उनी यस कार्यमा सहयोग गर्न २ पटक नेपाल आएँ । बेलायतबाट फर्केर म सरकारी जागिरे भएकाले बीर अस्पतलामै आवद्द भएँ । धेरै बर्षदेखि बन्द गरिएको मिर्गौला प्रत्यारोपण युनिट खोल्ने काम भयो । सफा सुग्घर गरियो ।
नेपालमा करिब ३००० जनाको मिर्गौला र करिब १००० जनाको कलेजो विफल हुने अनुमान गरिएको छ । देशमा विद्यमान अनुमानित करिब ३० लाख मधुमेहीहरु मध्ये कयौंलाई प्याङ्क्रियाज प्रत्यारोपण गरेर मधुमेहबाट मुक्त गराउन सकिन्छ भन्ने लाग्यो । मुटु र फोक्सो फेल हुनेहरुको संख्या यकीन समेत हुन सकेको छैन । नेपालको प्रत्यारोपण इतिहास सन् १९९८ तिरबाट शुरु हुन्छ जुन बेला काठमाण्डौ उपत्यकाको २ वटा निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसको कुनै आधिकारिक विवरण उपलब्ध छैन । जब म वीर अस्पतालमा फर्किएँ, न कुनै अप्रेसन थिएटर छ्ट्याइएको थियो न प्रत्यारोपण गर्नका लागि टोली नै । नेफ्रोलोजी विभागको साथै युरोलोजी, जनरल सर्जरी, न्यूरो सर्जरी विभागको सहयोगमा मिर्गौला प्रत्यारोपण कार्य बिस्तार अघि बढाइयो ।

यसका लागि अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्सेससका प्राध्यापक डा. सन्दिप गुलेरियाले एक दिन, बेलायतबाट प्रा.डा. डेभिड तल्बटले दुई दिन हामीलाई मिर्गौला प्रत्यारोपण गराउन सघाउनु भयो भने वीर अस्पतालका बरिष्ठ नेफ्रोलोजीष्टद्वय डा. रजनी हाडा, डा. राजेन्द्र अग्रवाल र डा. अनिल बराल र बरिष्ठ शल्य चिकित्सकहरु प्रा.डा विजय कुमार शर्मा, डा. वि.आर जोशी र प्रा.डा राकेश बर्माको विशेष भुमिका रह्यो । यसरी सुस्त गतिमै भए पनि ४ वर्षमा भएको ९९ वटा मिर्गौला प्रत्यारोपणमा ९९ प्रतिशत सफलता प्राप्त भयो । जसमा तत्कालीन अस्पताल निर्देशक प्रा.डा प्रविण मिश्रको विशेष साथ रह्यो भने नेपालको प्रत्यारोपण सेवालाई डा. मिश्र स्वास्थ्य मन्त्रालयका सचिव हुनुभएपछि थप गति मिल्न थाल्यो । तत्कालीन स्वास्थ्य मन्त्री उमाकान्त चौधरी र राजेन्द्र महतोले भक्तपुर अस्पतालका लागि बनाइएको ४ तले खाली भवनमा प्रत्यारोपण केन्द्र विकास गर्न भरपुर सहयोग गर्नुभयो । सन् २०१३ मा गठन आदेश अनुसार स्थापना भए पश्चात् शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफ्नो सेवा प्रत्येक वर्ष गुणात्मक रुपमा अभिवृद्धि गर्दै लगेको छ ।

केन्द्रले आफ्नो स्थापनाको ३ महिनामा हेमोडाइलाइसिस सेवा शुरु ग¥यो भने ६ महिनामा मिर्गौला प्रत्यारोपण नै शुरु भयो । स्थापनाको ५ वर्षमा यस केन्द्रले दिनहुँ १०० जना भन्दा बढीको डाइलाइसिस र वर्षको १५० जनाको हाराहारीमा मिर्गौला प्रत्यारोपण गर्ने गर्दछ । हाल सम्म यस केन्द्रमा ९८ प्रतिशत प्रतिशत सफलताका साथ ६ सय १ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ भने वार्षिक ३०,००० सेसन हेमोडाइलाइसिस हुने गर्दछ । सरकारी संस्था भए पनि नमूना केन्द्रको रुपमा ख्याती कमाउन सफल यस केन्द्रमा आज छिमेकी देशका नागरिकहरु पनि नियमित रुपमा मिर्गौला तथा कलेजो प्रत्यारोपणका लागि आउने गर्दछन् ।

नेपाल जस्तो देशमा प्रत्यारोपण कार्य स्थापना गर्न कुनै पनि किसिमले कम चुनौतीपूर्ण छैन । अंगदान र अंग प्रत्यारोपण सम्बन्धि जनचेतनाको अभाव, भौतिक पुर्वाधार, जनशक्तिको कमी, सेवाग्राहीहरुको आर्थिक अवस्थाले गर्दा प्रत्यारोपण कार्य शुरु गराउन र सुचारु राख्न अझै पनि थुप्रै चुनौतिहरु विद्यमान छन् । जनचेतना अभिवृद्दी र अत्यावश्यक भौतिक पूर्वाधार स्थापनाका लागि आनि छोइङ डोल्मा र मह जोडी लगायत राष्ट्रिय व्यक्तिहरुको सहयोगमा सन् २०१० मा आरोग्य प्रतिष्ठान स्थापना गरियो । यसले देशमै एक मात्र अत्याधुनिक एच.एल.ए ल्याब स्थापना ग¥यो जहाँबाट प्रत्यारोपणका लागि आवश्यक प्रायः सबै जाँचहरु गर्न सकिन्छ । छिमेकी देशको तुलनमा आधा मूल्यमानै परीक्षण गर्न सकिने उक्त ल्याबबाट १२ घण्टामै ‘रिजल्ट’ उपलब्ध हुने गर्दछ जबकी यो ल्याब नहुँदा छिमेकी देशबाट ‘रिपोर्ट’ आउन २ हप्ता सम्म कुर्नपर्दथ्यो । हिजो आज आरोग्य प्रतिष्ठान र मानव अंग प्रत्यारोपण केन्द्रको संयुक्त अयोजनामा निरन्तर विभिन्न जनचेतनामूलक कार्यक्रमहरु, निःशुल्क स्वास्थ्य शिविरहरु, प्रत्यारोपण खेलकुद, पदयात्रा, सांगितिक कार्यक्रम, अन्तरक्रिया कार्यक्रम, कार्यशाला गोष्ठीमार्फत देशव्यापीरुपमा अंगदान र प्रत्यारोपण तथा अंग फेल हुनबाट बचाउन विभिन्न कार्यक्रम अयोजना हुने गर्दछ । यसबीच विश्वकै उदाहरणीय उदार अंगदान र प्रत्यारोपण कानूनको व्यवस्था हुन सकेको छ भने डाइलाइसिस र मिर्गौला प्रत्यारोपण पूर्ण रुपमा निःशुल्क भएको छ ।

नेपालमा अत्यधिक सडक दुर्घटना हुने भएका कारण दिनहुँ ६ जना सम्मको मृत्यू हुने गर्दछ । काठमाण्डौ उपत्यकामा मात्र वर्षेनी करिब १००० जनाको मस्तिष्क मृत्यू हुने अनुमान गरिएको छ । एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट २ मिर्गाैला, २ फोक्सो, १ मुटु, १ कलेजो, १ प्याङ्क्रियाज, १ सानो आन्द्र, प्रत्यारोपण गरी आठ जना व्यक्तिको ज्यान बचाउन सकिन्छ । गाडेर खेर जाने वा जलाएर खरानी भएर जाने अंगहरु दान दिने संस्कार बनायाँै भने ८ जना व्यक्तिले पुनर्जिवन पाउन सक्दछ, यो भन्दा पुण्य काम अरु हुन सक्दैन । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठान, पुल्चोक लालिपुरमा ‘मेरो मृत्यू पछि मेरा यी अंगहरु दान गर्न चाहन्छु’ भनेर मञ्जुरीनामा फारम भर्ने व्यवस्था छ । २०७५ को चैत्र अन्तिमसम्म २ हजार ५ सयले अंगदान गरिसकेका छन् । स्वस्थ्य व्यक्तिले अंगदान गर्ने विषयमा नेपालको कानून अनुसार नजिकको नाता पर्ने प्राय सबैले अंग दान गर्न सक्दछन् । अंगदानसम्बन्धि फाराम वेभ साइटमा पनि राखिएको छ ।

संशोधित ऐनमा भएको व्यवस्था :
मानव शरिरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ मा गरिएको व्यवस्था अनुसार सीमित नजिकका नातेदारबाट अंगदान गर्न सक्ने व्यवस्था गरिएको थियो । तर हाल संसोधित ऐनमा अङ्गदाताको दायरा निकै फराकिलो बनाइएको छ । जस्तैः बुबा, आमा, दाजु, भाइ, दिदी, बहिनी, काका, भतिजा, भतिजी, बाबु तर्फको बाजे, बज्यै, छोरा तर्फको नाती, नातिनी छोरी तर्फको नाती, नतिनी बिगत दुई बर्षदेखि अटुट रुपमा नाता सम्बन्ध कायम भई रही आएका पति, पत्नी, धर्मपुत्र, धर्मपुत्री, सौतेनी आमा, सौतेनी बाबु, सासु, ससुरा, ठूलो बुबा, ठूली आमा, काकी, सानो बुबा, सानी आमा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजु, बुहारी, माइजु, भान्जा, भान्जी, साला, साली, फुपु, फुपाजु, आमाजु, भदा, भदै, भेनाजु, ज्वाँई, जेठानबाट समेत अंगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
तसर्थ आफ्नो नजिकको नातेदारमा यही कसैको मिर्गौला वा कलेजो फेल भएमा निसंकोच अंगदान गरेर बचाउन सकिन्छ । यसबाट पुरै परिवार सुखी र सम्बृद्द रहन मद्दत गर्दछ । अंगदानबाट केही जोखिम हुन सक्ने संभावना भएतापनि तुलनात्मक रुपमा धेरै फाइदा हुने गर्दछ । कुनै कुनै चिकित्सकीय अध्ययनमा मिर्गौलादाताहरुको आयु बढी पाइएको छ ।

नयाँ कानूनमा दुई वा दुईभन्दा बढि परिवारमा अङ्ग साटासाट गर्न सकिने व्यवस्था पनि गरिएको छ । यदि एक परिवारमा कसैको अङ्ग फेल भएको छ र अङ्ग प्रत्यारोपणको लागि अङ्गदाता पनि छ तर प्राविधिक कारणवश ‘क्रसम्याच’ नमिलेमा त्यस्तो व्यक्तिको लागि त्यस्तै अवस्थामा रहेको अर्को परिवारको सदस्यबाट आपसी समझदारीमा अंग साटासाट गरेर पनि दुई वा दुई भन्दा बढी परिवार बीच प्रत्यारोपण गर्ने व्यवस्था पनि गरिएको छ । पश्चिमा मुलुकमा यस किसिमको आपसी समझदारीबाट दुई वा दुई भन्दा बढी परिवारबीच अङ्ग साटासाट गरी प्रत्यारोपण गर्ने क्रम बढ्दो छ ।

नयाँ ऐनको सबैभन्दा महत्वपुर्ण पक्ष भनेको मस्तिष्क मृत्यु भएको व्यक्तिबाट प्राप्त हुने विभिन्न अङ्गको प्रत्यारोपण हो । विकसित मुलुकमा ८० प्रतिशत भन्दा बढि अङ्ग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त हुने अङ्गदानबाट हुने गर्दछ । एकजना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट कम्तीमा ८ वटा महत्वपूर्ण अङ्गहरु जस्तै दुई मिर्गौला, दुई फोक्सो, एक मुटु, एक कलेजो, एक प्याँक्रियाज, एक सानो आन्द्रा लगायत दुई आँखाको नानी तथा छाला आदि अंग दान हुन सक्दछन् ।

के हो मस्तिष्क मृत्यु ?
सडक दुर्घटना वा मस्तिष्कघातबाट मस्तिष्क मृत्यु हुन सक्दछ । मस्तिष्क मृत्यु (ब्रेन डेथ) भन्नाले मस्तिष्क स्टेम (ब्रेन स्टेम) को मृत्यु सम्झनु पर्दछ र सो शब्दले मस्तिष्कको ग्रहण गर्ने (रिसेप्टिभ) र प्रतिक्रिया दिने (रेस्पोन्सिभ) क्रियाकलापमा अप्रत्यावर्तनीय क्षती भएमा मस्तिष्क मृत्यु हुनसक्छ । मस्तिष्कको पूर्ण क्षती भए नभएको अवस्था यकिन गर्न चिकित्सकले कुनै बिरामीमा देहाएको अवस्था विद्यमान भएमा मात्र स्वास्थ्य परीक्षण गर्न सक्नेछ ।

क) अप्रत्यावर्तनीय क्षति भएको
ख) मस्तिष्क स्टेममा कुनै प्रतिक्रिया नभएको
ग) बिरामीको शरीरमा प्राकृतिक रुपमा स्वासप्रश्वास नभएको

उपरोक्त अवस्थामा स्वास्थ्य परीक्षण गर्न चिकित्सकले बिरामीको परिवारको कुनै सदस्यको लिखित सहमति लिनुपर्ने छ । मस्तिष्क मृत्यू घोषणा गर्ने क्रममा संलग्न हुने चिकित्सक निम्न बमोजिम योग्यता भएको हुनुपर्ने छ ।

– चिकित्सा विज्ञानमा कम्तिमा स्नातकोत्तर उपाधि हाँसील गरी सो विषयसँग सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्ष काम गरेको ।
– नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ चिकित्सकको रुपमा स्थायी दर्ता भएको ।
– नेपाली नागरिक ।

उपरोक्त योग्यता पुगेका चिकित्सकहरुमध्ये बिरामीको उपचारमा संलग्न बिरामीको रोग सँग सम्बन्धित विशेषज्ञ चिकित्सक सहित कम्तिमा एकजना एनेस्थेसियोलोजिष्ट वा इन्टेसिभिष्ट रहेका चिकित्सकको टोलीबाट स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ ।
मस्तिष्क मृत्यु घोषणा भएको कुनै व्यक्तिले मृत्यु हुनु अघि स्वेच्छाले अंगदान गर्ने मञ्जुरी नदिएको अवस्थामा वा त्यसरी मञ्जुरी नभएको अवस्थामा मृतकको परिवारको कुनै सदस्यले मृतकको शरीरको अंग दान गर्न लिखित मञ्जुरी दिएको अवस्थामा अंगदान हुन सक्दछ । तर मृतकले जिवित हुँदै आफ्नो शरीरको अंगदान नगर्ने लिखित रुपमा इच्छा व्यक्त गरेको भए परिवारको सदस्यले त्यस्तो मृतकको शरीरको अंग दान गर्न सक्ने छैन ।

समन्वय इकाइको व्यवस्था

कुनै अस्पताल वा स्वास्थ्य केन्द्रले कुनै व्यक्तिको मस्तिष्क मृत्युको घोषणा गरेमा नेपाल सरकारले तोकेको समन्वय इकाइलाई तुरुन्त जानाकारी गराउन पर्नेछ । मस्तिष्क मृत्यु घोषणा गर्ने सम्बन्धित अस्पताल वा स्वास्थ्य केन्द्रले समन्वय इकाइलाई अंग झिक्ने व्यवस्थाको लागि आवश्यक पर्ने भौतिक सुविधा तथा जनशक्ति उपलब्ध गर्नुपर्नेछ । मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग झिक्ने, झिकिएको अंगलाई सुरक्षित रुपमा राख्ने, अंग प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको अभिलेख दुरुस्त राख्ने तथा अंगलाई तोकिए बमोजिमको योग्यताक्रम अनुसार वितरण गर्ने व्यवस्था मिलाउने कार्य समन्वय इकाइले गर्नेछ । समन्वय इकाइले सम्बन्धित स्वास्थ्य संस्थासँग अंग प्रत्यारोपण गर्न समन्वय गर्नुपर्नेछ । तत्कालको लागि धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले समन्वय इकाइको कार्य गर्नेछ । स्थापनाको छोटो अवधिमै उक्त केन्द्रमा हाल वर्षेनी १ सय ५० जना भन्दा बढीको मिर्गौला प्रत्यारोपण भइरहेको छ र जीवित व्यक्तिबाट प्राप्त भएको तीनवटा कलेजो प्रत्यारोपण भइसकेको छ । नयाँ प्रत्यारोपण ऐन बनाउनमा यस केन्द्रको अग्रणी भूमिका रहेको छ ।

रकम उपलब्ध गराउन सकिने

मस्तिष्क मृत्यको घोषणा भएको व्यक्तिको अंग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप भएपश्चात् मस्तिष्क मृत्युको घोषणा गर्ने अस्पताल वा स्वास्थ्य केन्द्र, अंग प्रत्यारोपण गर्ने स्वास्थ्य संस्था वा मस्तिष्क मृत्यको घोषणा भएको व्यक्तिको परिवारको सदस्यलाई नेपाल सरकारले तोकिए बमोजिमको रकम उपलब्ध गराउन सक्नेछ ।
हाललाई मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान भएमा मृतकको परिवारलाई १ लाख रुपियाँ र मस्तिष्क मृत्यु घोषणा गरी अंगदान प्रक्रियामा सहयोग गर्ने अस्पतालालाई ५० हजार रुपियाँ केन्द्रबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका मुख्य उपलब्धि
– स्थापना २०६८ फागुन (२०१२ फेब्रुवरी)
– डाइलाइसिस सेवा आरम्भ २०६९ कार्तिक २७ (२०१२ नोभेम्बर १२)
– मिर्गौला प्रत्यारोपण आरम्भ २०६९ माघ ६ (२०१३ जनवरी १९)
– निःशुल्क डायलाइसिस सेवा आरम्भ २०६९ चैत्र १६ (२०१३ मार्च २९)
– मानव अंग प्रत्यारोपण ऐन २०७२ फागुन १३ (२०१६ फेबु्रवरी २५)
– पहिलो पियर एक्सचेन्ज मृगौला प्रत्यारोपण २०७३ श्रावण १२ (२०१६ जुलाई २७)
-कार्डियाक सर्जरी २०७३ मंसिर २ (२०१६ नोबेम्बर १७)
– मानव शरीरको अंग प्रत्यारोपण नियमावली २०७३ मंसिर १६ (२०१६ डिसेम्बर १)
– पहिलो कलेजो प्रत्यारोपण २०७३ मंसिर २२ (२०१६ डिसेम्बर ७)
– निःशुल्क मिर्गौला प्रत्यारोपण २०७४ बैसाख २ (२०१७ अप्रिल १५)
– दोश्रो कलेजो प्रत्यारोपण २०७४ आषाढ १८ (२०१७ जुलाई २)
– मस्तिष्क मृत्यु भएकाबाट मिर्गौला प्रत्यारोपण २०७४ बैसाख २८ (२०१७ मे ११)

देशमा प्रत्यारोपण सेवा उपलब्ध भएबाट धेरै दृष्टिकोणबाट लाभदायक देखिएको छ । भौतिक रुपमा मात्र सहज नभई आर्थिक दृष्टिकोणबाट पनि अत्यन्त किफायती भएको हुँदा अधिकांश दाजुभाइ दिदीबहिनीहरुको पहुँचभित्र पुगेको विश्वास गर्न सकिन्छ । नेपालमा प्रत्यारोपण ५ लाख र हेमोडाइलाइसिस प्रति सेसन रु २५०० लाग्ने गर्दथ्यो । हाल आएर प्रत्यारोपण र डाइलाइसिस निःशुल्क गरिएको हुँदा अब मिर्गौला फेल भएका अधिकांश बिरामीहरुले तुलनात्मक रुपमा गुणस्तरीय र दिर्घायु जीवन जीउन पाउने भएका छन् । मुलुकमा भएको प्रत्यारोपण सेवाले बिरामीको ज्यान मात्र जोगाएन ठूलो धनराशी बाहिरिनबाट पनि जोगिएको छ । विदेशी मुलुकहरुमा प्रत्यारोपण लागत धेरै महँगो छ । भारतमा मिर्गौला प्रत्यारोपणका लागि यातायात खर्च, ३ महिनाको बसाई गर्दा औषत लागत १६ लाख रुपियाँ भन्दा बढी खर्च लाग्छ । तर नेपालमा भएको प्रत्यारोपण सेवाले करोडौं रुपियाँ विदेशिनबाट जोगाएको छ ।
मिर्गौला प्रत्यारोपणका लागि वार्षिक ६ अर्ब रुपिँया विदेशिन्थ्यो भने अब केही अर्ब रुपियाँ विदेशिनबाट रोकिएको मात्र नभई छिमेकी मुलुकबाट यस केन्द्रमा प्रत्यारोपण गर्न आउने शिलशिला बढ्दै गएकोले यसबाट देशलाई थप आयआर्जन भएको छ ।
आजका दिनमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर पूर्णरुपमा सञ्चालित भई स्थानको चरम अभाव त भएकै छ भने देशव्यापी यसको विस्तार गरी सेवा सर्वसुलभ गरिनु आजको आवश्यकता हो । कम्तिमा अञ्चल अस्पताल सम्म डाइलाइसिस सेवा विस्तार गर्न यस केन्द्रले सघाइरहेको छ भने सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्न सरकारलाई सघाउन तत्पर छ । अंगदानमा विशेष गरेर मस्तिष्क मृत्यू भएका व्यक्तिबाट प्राप्त हुने अंगहरुको उचित उपयोग हुन सके नेपाल मिर्गौला प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्दछ ।
(डा. श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक र आरोग्य प्रतिष्ठान पुल्चोकको सदस्य सचिव हुनुहुन्छ ।)

NH
Health News
प्रतिक्रिया दिनुहोस्