Logo
|
Tuesday 17th September 2019
NEWS PAPER

बीर र त्रि.बि. शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुस्त गतिमा



प्रा.डा. दिव्या सिंह शाह/ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ

मिर्गौलाका बिरामी बढिरहेका छन् । डायलाइसिस गर्ने ठाउँ नपाउने समस्या छ । डायलाइसिस मेसिनहरुको कमी छ । डायलाइसिसका लागि लामो समय कुर्नुपर्ने बाद्यता छ । जनशक्ति र नर्सहरुलाई तालिमको जरुरी छ । प्रत्यारोपण गरेपछि फलोअपका लागि राजधानी जानुपर्ने बाद्यता छ । प्रत्यारोपण सेवा राजधानी बाहिर बिस्तार हुन सकेको छैन । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीको संख्या बढेका छन् । तर प्रयाप्त अंग उपलब्ध हुन सकेको छैन । सबैका मिर्गौैला दिने नातेदार हुँदैनन् । कतिको अंग फिट नहुनसक्छ । बूढाबूढी बाबु आमाले अंग दिन सक्दैनन् । मधुमेह, पोलिसिस्टिक किड्नी डिजिजका बिरामी नातेदारबाट मिर्गौला लिन मिल्दैन ।
सरकारले ब्रेन डेथ भएका ब्यक्तिबाट अंगदान गर्न पाउने कानुन पास गरिसकेको छ । यसलाई प्रभावकारी बनाउनुपर्छ । ३ वर्ष भइसक्यो । तर धेरैले अंगदान गरिरहेका छैनन् । जनचेतना व्यापक बनाउन सकिएको छैन । एकजनाले मात्र गरेर हुँदैन । अंगदानका लागि चिकित्सक, गैह« चिकित्सक, समाजसेवी सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।

सुस्त प्रत्यारोपण

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रभावकारी रुपमा अंग प्रत्यारोपण भइरहेको छ । तर बीर र त्रि.बि. शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुस्त गतिमा छ । यसो हुनमा अपरेशन थिएटर, बेड र आइसियूको अभाव हो । अस्पतालमा एकै दिन २ वटा ट्रान्सप्लान्ट गर्नुपर्ने बाद्यता छ ।’
मिर्गौला निकाल्न र प्रत्यारोपण गर्न छुट्टा छुट्टै २ वटा अपरेशन थिएटरको जरुरत पर्छ । कुनै कम्प्लिकेसन आएमा भास्कुलर सर्जन लगायतका विशेषज्ञ र अत्याधुनिक अपरेशन थिएटरको जरुरत पर्छ । तर अस्पतालमा पर्याप्त अपरेशन थिएटर (ओटी) छैन । ४ जनाको अपरेशन एउटा ओटीमा हप्तामा एक दिन मात्र गर्न पाइन्छ । विहान ८.०० बजे देखि बेलुका ४.०० बजे सम्म मात्र काम हुने गर्छ । रातको समयमा प्रत्यारोपण गर्ने व्यवस्था छैन । त्यसैले प्रत्यारोपणका लागि एक जनाले २—३ महिना पालो कुर्नुपर्ने बाद्यता छ ।
त्रि.बि. शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सम्बन्धि सबै जाँच हुन्छ । तर दाताको दुवै मिर्गौलाले काम गरे नगरेको अवस्था पहिचान गर्न ‘डिटिपीए’ जाँच गर्न बाहिर पठाउनुपर्छ ।

क्वालिटी अफ लाईफ
अहिले मिर्गौला दाता नपाउने मुख्य चुनौति छ । नेपालमा वर्षेनी ३ हजारको मिर्गौला विफल हुने अनुमान गरिएकोछ । उनीहरुलाई मिर्गौला प्रत्यारोपणको जरुरत पर्छ । तर प्रत्यारोपणका लागि करिब ३० प्रतिशत मात्र योग्य हुन्छन् । वर्षमा करिब १ हजार ५ सय व्यक्तिका लागि मिर्गौला आवश्यक पर्छ । सबैको मिर्गौला फिट नहुनसक्छ । मिर्गौला दान गर्छु मात्र भनेर हुँदैन । दान गर्ने व्यक्तिको स्वास्थ्य ठीक हुनुपर्छ र भविष्यमा कुनै समस्या नआउने पक्का हुनुपर्छ । अनि मात्र मिर्गौला निकालिन्छ ।
डायलाईसिसका लागि मात्र बार्षिक रुपमा एक अर्ब भन्दा बढी राज्यकोषबाट खर्च भइरहेको छ । त्यसैले राज्यले प्रत्यारोपणलाई बढी जोड दिनुपर्छ । जति सक्दो चाँडो प्रत्यारोपण भयो त्यति नै बिरामीले सक्रिय जीवन प्राप्त गर्नसक्छ । धेरै डायलाइसिसमा रहँदा शरीर कमजोर र क्षण भई मृत्यु समेत हुनसक्छ । प्रत्यारोपण पछिको क्वालिटी अफ लाइफ डायलाइसिसमा बसेको भन्दा कयौं गुणा राम्रो हुन्छ । मृत्युदर पनि कम छ । डायलाइसिसमा बसेका बिरामी करिब ४० प्रतिशत मात्र बाँच्छन् । तर प्रत्यारोपण गरेकाहरु ९० प्रतिशत बाँच्ने गरेको अनुभव छ ।

इन्करेजमेन्ट
निजी र सरकारी जहाँ भएपनि क्वालिटी सर्भिस महत्वपूर्ण कुरा हो । उनीहरुको सेवाबारे बीच बीचमा अनुगमन भइरहनुपर्छ । मिर्गौलाको उपचार र प्रत्यारोपणका लागि सबै अस्पतालहरुलाई इन्करेजमेन्ट गर्नुपर्छ । तर गैरकानुनी काम कसैबाट हुन हुँदैन ।

आन्तरिक रेकर्ड
हरेक अस्पतालले आन्तरिक रेकर्ड राख्न जरुरी हुन्छ । सरकारले मागेको अवस्थामा बुझाउनुपर्छ । कति प्रत्यारोपण भए ? कति मरे ? कति मरेनन् ? के कम्प्लिकेसन भयो ? सबै थाहा हुनुपर्छ ।

हेल्थ एण्ड हाइजिन मेन्टेन
सरकारले शुरुको जाँचका लागि ५० हजार, प्रत्यारोपणका लागि ४ लाख र औषधि सेवनका लागि १ लाख रुपियाँ उपलब्ध गराउँछ । त्यसपछि खाने औषधि बिरामी आफैंले व्यहोर्नुपर्छ । न्युनतम मुल्यमा औष्धि उपलब्ध गराउन सकेको अवस्थामा यो कार्यक्रम अझ प्रभावकारी हुनसक्छ । औषधि नियमित नखाएकाले कतिपयको पुनः मिर्गौला फेल भएको र ज्यान गएको पाइएको छ ।
नियमित औषधि खाने, हेल्थ हाइजिनलाई ध्यान दिएको अवस्थामा मिर्गौला प्रत्यारोपण भएका व्यक्ति लामो समयसम्म बाँच्न सक्छन् । यो कुरा हाम्रा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रमाणित गर्नुभएको छ ।
विगत १२ वर्षदेखि प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण गरेर सक्रिय जीवन बिताइरहनुभएको छ । सन् २००७ मा उहाँको मिर्गौला प्रत्यारोपण भएको थियो । २६ वर्षदेखि मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति पनि नियमित फलोअपमा छन् ।

NH
Health News
प्रतिक्रिया दिनुहोस्