Logo
|
Tuesday 16th April 2024
Logo

epaper

प्रधानमन्त्री ओली स्वास्थ्य, अस्पताल र भूकम्पमै केन्द्रित



प्रधानमन्त्री केपी ओलीले शुक्रबार परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको पुनर्निर्मित भवनको उद्घाटन समारोहमा राजनीतिक भाषण गरेनन् । भाषणका क्रममा प्राय : उखान र टुक्काको साथै राजनीतिक टिप्पणी गर्ने प्रधानमन्त्री ओली शुक्रबार थापाथलीमा रहेको प्रसूति गृहको नयाँभवनको उद्घाटनका क्रममा स्वास्थ्य, अस्पताल र भूकम्पमा केन्द्रित भए ।

उनी फरक वा रजनीतिक विषयमा प्रवेश गरेनन् भने अलिखित भाषण गर्दाताका अस्पतालबारे सटिक तथ्यांक समेत प्रस्तुत गरे ।

संसारभरीमै सबैभन्दा प्रसूति सेवा दिने अस्पतालहरु मध्ये एउटा रहेको दाबी गरिएको प्रसूति गृहमा भूकम्पबाट क्षतिग्रस्त अस्पतालको १८५ शय्या क्षमताको भवन जापान सरकारको सहयोगमा पुनर्निर्मित गरिएको हो ।

नवनिर्मित भवन सञ्चालनसँगै हाल पुनः हाल प्रसूति गृह आफ्नो पूर्व क्षमता अर्थात ४१५ शय्या मा फर्किएको औल्याउँदै प्रधानमन्त्री ओलीले भने,‘यहाँ भएको पार्किङको समस्या लगायत ३ वटा मागको सम्बन्धमा के गर्न सकिन्छ, सरकारको ध्यान जानेछ ।’ भूकम्पले भवन क्षतिग्रस्त भएपछि प्रसूति गृहको शय्या क्षमता ३०० मा झरेको थियो । उनले प्रसूति गृहको पारी पट्टिको जग्गाबारे समेत ध्यानाकर्षण गराए ।

स्रोतको अनुसार प्रधानमन्त्री कार्यालयले शुक्रबार बिहान नै अस्पताल प्रशासनसँग प्रसूति गृहसँग सम्बन्धित विभिन्न तथ्यांक, समस्या आदि बारे जानकारी मागेको थियो ।

६ दशक अगाडि ६० शय्याबाट स्थापित प्रसूति गृहले आम जनतालाई सेवा दिँदै आएको उनले जनाए ।

भूकम्पबाट भत्किएको समय समेत आम जनतालाइ सेवा पुर्‍याएकोमा प्रधानमन्त्रीले यहाँका चिकित्सक, नर्स, कर्मचारी लगायत सबैलाई धन्यवाद समेत दिए । उनले भवन निर्माण गरेर नेपाललाई सघाउने जापान सरकार, त्यहाँका जनतालाई समेत धन्यवाद दिए ।

उक्त समारोहमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मुलुकले आधुनिक अस्पताल भवन पाएको बताए । अगामी दिनमा मुलुकमा थप आधुनिक मातृत्व तथा शिशु अस्पताल निर्माण गर्नु पर्ने उनले जनाए ।

‘यो संसारभरीमै सबैभन्दा प्रसूति सेवा दिने अस्पतालहरु मध्ये एक हो,’ प्रसूति गृहको निर्देशक डा.जागेश्वर गौतमले भने, ‘गत वर्ष यहाँ २० हजार ६ सय ८० जनाले बच्चा जन्माएका थिए भने यो वर्ष २३ हजारले सेवा लिने आँकलन गरिएको छ ।

यो अस्पताल सबैभन्दा कम शल्यक्रियाको माध्यमले बच्चा जन्माइन्छ । यहाँ हाल ७१ प्रतिशत सामान्य र २९ प्रतिशत गर्भवती महिलाको शल्यक्रिया मार्फत बच्चा जन्माइन्छ ।

नव निर्मित ३ तले भवनमा नया प्रविधिको उपयोग गरिएको छ । यहा भएका धारा सवै सेन्सर युक्त छन । भवनमा संक्रमण नियन्त्रणको राम्रो व्यवस्था गरिएको छ । समान अटो क्लेभ गर्ने व्यवस्था समेत रहेको डा.गौतम बताउछन ।

यसको झुइ तलामा इमर्जेन्सी सेवा ३ वटा अपरेसन थियेटर सहित प्रसूति सेवा, एएनसी, तथा एक्टिभ लेवर वेड राखिएको छ । यस्तै पहिलो तलामा १० वटा डेलिभरी एकैपटक गर्न सकिने प्रसूति कक्ष, पोष्ट अपरेटिभ वार्ड र मैटरनिटि इन्टेन्सिभ केयर युनिट सेवा राखिएको छ ।

दोश्रो तल्लामा स्पेसल केयर वेवी युनिट, नियो नेटल इन्टेन्सिभ केयर युनिट, पोष्ट नेटल केयर वार्ड, राखिएको छ । यस भवनमा पर्याप्त कक्षा कोठा, कन्फरेन्स हल, लाइव्रेरी, प्राध्यापकको कोठाको व्यवस्था गरिएको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्