Logo
|
Friday 29th March 2024
Logo

epaper

लुम्बिनी मेडिकल कलेजबाट चोरी भएको बच्चा फेला पर्‍यो, श्रीमान्लाई ढाँट्न बच्चा चोरी



 यसअघि दुई छोरा र दुई छोरीकी आमा हुन्, ३६ वर्षीया विमकला पाण्डेय । उनको पहिलो श्रीमानको मृत्यु भइसकेको छ । त्यसपछि उनी सामाजिक सञ्जालमार्फत् नेपालगञ्जका गोविन्द भण्डारीसँग माया बस्यो । ०७५ कार्तिकमा उनीहरू बीच विवाह भयो ।

स्याङजाको गल्याङ नगरपालिका–५, मोहनडाँडाकी पाण्डेयले विदेशमा बस्ने श्रीमान्लाई पेटमा बच्चा भएको भन्दै ढाँटिन् । १५ वर्षकै उमेरमा विवाह गरेकी उनले कालीगण्डकी विद्युत् मिर्मिमा सरसफाइको काम गर्थिन् ।

‘श्रीमान्लाई ढाँट्नका लागि नै उनले बच्चा चोरी गरेको देखियो,’ विमकलाको भनाई उद्धृत गर्दै प्रहरी उपरीक्षक दीपेन्द्र जीसीले भने, ‘ढाँटको खेलले गर्दा अहिले बच्चा चोरी गर्नेसम्मको खेलमा उनी लागेको देखिन्छ ।’ विमकला पत्रकार सम्मेलनमा समेत बिरामी भएको बहानामा सार्वजनिक हुन चाहिनन् । उनले विगत आठ/नौ महिनादेखि श्रीमान्लाई ढाँटदै आएकी थिइन् । कम्मरमा पेटिकोट बढी बाँध्ने, गर्भावस्थाको चरित्र देखाउने गर्दै आएकी उनी लुम्बिनी मेडिकल कलेजमा तीन दिन अघि नै आएकी हुन् । भर्ना भएर बसेकी उनले केही अन्य महिलाको समेत मन जित्ने कोसिस गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

‘केही महिलालाई उनले मलाई एउटा बच्चा दिनुस् भनेको पनि भेटिएको छ,’ अनुसन्धानमा खटिएका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले भने, ‘अन्य महिलाले पछि मात्रै यस्ता कुरा जानकारी दिएका छन् ।’ श्रीमान्ले अर्को विवाह नगरोस् भन्नका लागि नै उनलाई ढाँट्दै आएको देखिएको उनले बताए । शुक्रबार सुत्केरी बेथा लागेर अस्पताल पुगेकी तानसेन नगरपालिका–९, डाँडागाउँ तिलाहारकी २२ वर्षीया जमुना रानाले बिहान ११ बजेर ५६ मिनेट जाँदा शिशु जन्माएकी थिइन् । छोराको जन्म दिएकाले उनलाई बाबुआमाको अवस्था हेर्दा दयनीय पनि लाग्यो । बाबुआमा दुवै सुस्त मनस्थितिका थिए ।

दुवैको अवस्था हेरेर बच्चा चोरी  गर्ने उनको ध्यान पुग्यो । सुत्केरी रानासँगै उनकी माइतीतर्फकी आमा र श्रीमान् समेत साथमा रहेका थिए । ललाई फकाई गरेकी उनलाई हजुरआमा ईश्वरी गाहाले बच्चा माग्दा थर्काएकी पनि थिइन् । ‘मलाई बाबुआमा यस्तै रहेछन् बच्चा दिनुस् जस्ता कुरा पनि गरेकी थिइन्,’ उनले भनिन्, ‘मैले आफैले पालेर हुर्काउँछु भनेर उनलाई थर्काएकी हुँ ।’ त्यसपछि पनि उनले पिछा गर्दै सहयोग गर्ने गरेकी थिइन् । सुत्केरी जमुना अर्धचेत अवस्थामा उनकी आमा छोरीलाई ज्वानोको झोल ल्याइदिन बच्चा काखमा राखेर मेडिकल कलेजकै क्याण्टीनमा गएको परिवारले बताएको छ ।

क्यान्टिनबाटै चोरी

सँगै गएकी विमकलाले शिशु समातेर सघाइन् । हजुरआमा गाहाले ज्वानोको झोल लिएर छोरी समक्ष पुगिन् । विमकला त्यसपछि पनि आइनन् । केही समय शिशुको खोजी पनि भयो । शिशुकी हजुरआमा पुनः क्याण्टिन गइन् ।

‘मैले पुनः क्याण्टिन गएर खोजी गरे,’ हजुरआमा गाहाले भनिन्, ‘तर कहिँ कतै नदेखेपछि अस्पतालका सिस्टरहरूलाई भनेकी हुँ ।’ उनलाई केही शंका लाग्यो । तर को हो भन्ने उनले चिनेकी थिइनन् । विमकलाले सोध्नेलाई बर्तुङ नजिक र केहीलाई बुटवल घर बताएकी थिइन् । खोज्न जाने कहाँ भन्ने अन्योल भयो त्यसपछि प्रहरीलाई खबर गरे ।

सरासर मिर्मी स्याङ्जा

सुत्केरी जमुना, श्रीमान् र आमा सीधा स्वाभावको फाइदा उठाएर शिशु लिएर उनी कालीगण्डकी जनविद्यूतो क्वार्टरमा पुगिन् । प्रभासबाट बस चढेकी उनी स्याङजाको जिरोबाट भने जीपमा उनी गएकी थिइन् । विमकलाले बच्चा चोरेपछि अस्पतालको गेटबाटै भाग्दै गर्दा कसैले पत्तो पाएनन् । अस्पतालको मुखमै रहेको प्रहरी चौकी अगाडिबाट पोखराको बसमा चढेकी थिइन् ।

उनी स्याङ्जाको जीरोका लागि साढे ३ बजे त्यहाँबाट हिडेकी थिइन् । राती सवा ७ बजे मिर्मिको विद्युत् प्राधिकरण क्याम्पमा रहेको कर्मचारी क्वाटरमा पुगेको अनुसन्धानमा खटिएका प्रहरीले बताए ।

कसरी भेटियो शिशु ?

शिशु चोरिएको सामाजिक सञ्जाल, अनलाइनबाट जतासुकै फैलियो । प्रहरीले भने ढिला सूचना पायो । प्रहरीले सूचना पाउन्जेल ती महिना पाल्पा कटिसकेकी थिइन् । तत्काली प्रहरी र अस्पतालका कर्मचारी, सुरक्षागार्डले वरपर र शंकास्पद स्थानमा खोजी सुरु गरे ।

प्रहरीले सिसिटिभीको फुटेज हेरेर सोही अनुसार फलो गर्‍यो । रुपन्देही, स्याङजा, गुल्मी लगायत विभिन्न स्थानमा प्रहरीले खोजी सुरु गरेको प्रहरी उपरीक्षक जीसीले बताए । रातभर बाहिर जिल्लामा जाने सवारी साधनको निगरानी राख्यो । तर विद्युत् प्राधिरकरण मिर्मि स्याङजाका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा उनी शनिबार बिहान पक्राउ परिन ।

‘हामीले पहिलो सूचना संचारकर्मी जगदीश भट्टराईमार्फत् पायौं,’ एसपी जीसीले भने, ‘त्यसपछि सोही सूचना आधारमा खोजी गर्दा वास्तविकता पत्ता लगाउन सफल भइयो ।’ विद्युत् क्याम्पका सुरक्षाकर्मीले रातभरी बच्चा रोएको सुनेका थिए । त्यहाँ कोही पनि सुत्केरी हुने थिएनन् ।

अनलाईन र सामाजिक सञ्जालमा बच्चा हराएको भन्ने देखेका उनीहरूले केही शंका गरेरै खबर गरेका थिए ।

अस्पतालसँग सहमति

अस्पतालले हराएका नवजात शिशुका बुवालाई रोजगार दिने भएको छ । सुत्केरी आमा र बच्चालाई आजीवन निःशुल्क उपचार गर्ने जनाएको छ । बच्चा भेटिएपछि मेडिकल कलेज र पीडित पक्ष बीच सहमति भएको हो ।

सहमति पत्रमा कलेजका कार्यकारी अध्यक्ष गोपालप्रसाद पोखरेल र तानसेन–९ का वडाध्यक्ष हरिसुमर रेग्मीले संयुक्त हस्ताक्षर गरेका छन्। कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्