Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल बनाउने योजना जनप्रतिनिधिको स्वार्थले अलमलमा



सरकारले गत वर्षदेखि हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल सञ्चालन गर्ने नीति लिएको थियो । यसैअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आर्थिक वर्षमा मात्र २५१ वटा अस्पताल बनाउने लक्ष्य लिएको थियो । तर, जनप्रतिनिधिको अक्षमताका कारण निर्माण प्रक्रिया सुरु हुन सकेको छैन ।

गत आर्थिक वर्षबाट जग्गा खोज्ने कार्य सुरु भए पनि जनप्रतिनिधिबीचको विवादका कारण काम अघि बढ्न नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ‘७५३ मध्ये ६४० स्थानीय तहमा अस्पताल छैन,’ मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले भने, ‘तर जनप्रतिनिधिकै लफडाका कारण लक्ष्यअनुसार काम अगाडि बढेन ।’ मन्त्रालयका अनुसार वडाध्यक्ष र मेयरले आफूलाई पायक पर्ने गरी वा आफ्नै जग्गाको आसपास अस्पताल बनाउन खोजेपछि विवाद निम्तिएको हो ।

अस्पताल बनाउन जनप्रतिनिधिको फर्जी शिलान्यास
मन्त्रालयले पुराना स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १५ शय्याको अस्पताल बनाउने योजना अघि सारेको छ । तर, आफूलाई पायक पर्ने स्थानमा अस्पताल बनाउन जग्गा प्राप्त नभईकनै जनप्रतिनिधिले फर्जी शिलान्यास गरेको मन्त्रालयको भनाइ छ । ‘जग्गा उपलब्ध भएको निर्णय नहुँदै वडाध्यक्ष र मेयरले पल्लो डाँडामा आवश्यक पर्ने अस्पताल आफ्नै घरनजिक बन्ने निर्णय भएको भन्दै शिलान्यास गरिरहेका छन्,’ डा. देवकोटाले भने, ‘मन्त्रालयमा धमाधम यस्तो गुनासो आउन थालेको छ ।’ १० भन्दा बढी स्थानमा फर्जी शिलान्यास भएको उनको भनाइ छ । उनले फर्जी शिलान्यास गरेकै आधारमा स्वास्थ्य संस्था नबन्ने बताए ।

एक वडा, एक स्वास्थ्य संस्था पनि लफडै
हरेक वडामा एक स्वास्थ्य संस्था बनाउने सरकारको नीति छ । देशभर ६ हजार सात सय ४३ वडा छन् । दुई हजार चार सय ७० मा कुनै स्वास्थ्य संस्था छैन । पहिलो वर्ष १२ सय र दोस्रो वर्ष बाँकी सबैमा बनाउने मन्त्रालयको लक्ष्य छ । पहिले नै भवन भएको र कसैले जग्गा सहयोग गरेको खण्डमा सो स्थानमा स्वास्थ्य संस्था बनाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिले नै गरिसकेको छ । स्वास्थ्य–संस्था बनाउँदा अधिकांश जनसंख्यालाई सहज हुने स्थान छान्नुपर्ने मन्त्रालयको भनाइ छ । वडापिच्छेको स्वास्थ्य संस्था पनि आफूनिकट तान्न वडाध्यक्षले किचलो गरिरहेका छन् । स्वास्थ्यजस्तो संवेदनशील विषयमा आपसमा लडाइँ नगर्न जनप्रतिनिधिलाई मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले विगतमा भएकै स्रोत–साधनलाई उपयोग गरी अस्पताल बनाउने बताएको छ । पुराना भवनलाई मर्मत र आवश्यकतानुसार निर्माण गरी अस्पताल बनाउने मन्त्रालयको तयारी छ । तर, जनप्रतिनिधि भने नयाँ जग्गामा भवन बनाउनुपर्ने पक्षमा छन् । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्