Logo
|
Saturday 20th April 2024
Logo

epaper

धरानका घर-घरमा डेंगुका बिरामी



धरानका घर-घरमा डेंगुका बिरामी

सुनसरीको धरान उपमहानगरपालिकाका अधिकांश घरका सदस्यमा डेंगुको संक्रमण देखिएको छ। तीनै तहका सरकारले दीर्घकालीन योजनाका साथ डेंगु नियन्त्रणको काम नथाल्दा यसले अझै ठूलो रूप लिएको हो। दुई महिनाअघि डेंगु प्रकोपका रूपमा फैलिएको थियो।

डेंगुकै कारण असार २८ गते धरान–१५ की ४३ वर्षीया मनु सुनुवारको मृत्यु भएको थियो। एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामको पोथी लामखुट्टेको टोकाइबाट डेंगु फैलिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले बताए।

धरानका प्रत्येक घरमा बिरामीको संख्या बढिरहेको छ। डेंगुका कारण उपचार गर्ने चिकित्सकसमेत बिरामी परेका छन्। जेठ पहिलो सातादेखि फैलिएको डेंगुका कारण २ हजार ५ सयभन्दा बढी स्थानीय बिरामी परेका छन्।

बिरामीले प्रतिष्ठान, विजयपुर अस्पताल, वीरेन्द्र मेडिकल हल, श्रेष्ठ मेडिकल, मञ्जु श्री पोलिक्लिनक, धरान इमेजिङलगायत स्वास्थ्य संस्थामा उपचार गराइरहेका छन्। अस्पतालमा चापका कारण धेरैजसो डेंगु बिरामी चिकित्सकको सल्लाहमा घरमै औषधि उपचार गराइरहेका छन्।

कांग्रेस धरानका कोषाध्यक्ष सुवर्ण श्रेष्ठले चिकित्सकको सल्लाहमा घरमै औषधोपचार गराइरहेको बताए। धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारीले डेंगुले धरानमा महामारीको रूप लिएको बताइन्। यसको नियन्त्रण गर्न केन्द्र सरकारसँग माग गर्दा आश्वासन मात्र पाएको गुनासो उनले गरिन्। प्रदेश १ सरकारले धरानमा डेंगु नियन्त्रणका लागि ८० लाख बजेट विनियोजन गरेको घोषणा गरेको थियो। त्यो बजेट पनि नपाएको उनले बताइन्। धरान–१५ बाट डेंगु २० वटै वडामा फैलिएको प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहले बताए।  अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्