Logo
|
Saturday 20th April 2024
Logo

epaper

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पहिलो शाखा जनकपुरमा, मुटुका बिरामीहरुले के के पाउँछन् सुविधा ?



सरकारीस्तरबाट सञ्चालित एक मात्र मुटु उपचारसम्बन्धि डेटिकेटेड हस्पिटल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पहिलो शाखा जनकपुरमा शुरु भएको छ । जनकपुर अञ्चल अस्पताल परिसरमा सञ्चालित गंगालालको सो शाखा उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभयो । केन्द्रको बार्षिकोत्सवको दिन पारेर गत माघ १५ गतेदेखि सञ्चालनमा आएको सो शाखाबाट हालसम्म १ हजार भन्दा बढीले मुटुसम्बन्धि बहिरङ्ग उपचार सेवा प्राप्त गरिसकेका छन् । हाल शाखाबाट दैनिक करिब ४० जनाले सेवा प्राप्त गरिरहेका छन् । दैनिक १०० बिरामीलाई बहिरंग सेवा दिनसक्ने शाखाको क्षमता रहेको केन्द्रका वरिष्ठ मुटु सर्जन एवं कार्यकारी निर्देशक डाक्टर ज्योतीन्द्र शर्माले बताउनुभयो ।
केन्द्रको जनकपुर शाखाबाट पहिलो चरणमा बिरामीहरुलाई मुटुका चिकित्सकहरुबाट परीक्षण, इसिजी, इको, हल्टर, टिएमटी, केपिपी, एक्सरे र ल्याबका सम्पूर्ण सेवाहरु उपलब्ध गराइएको छ ।
यसका लागि कार्डियोलोजिष्ट डाक्टर राजेश शाहलाई शाखाको प्रमुख जिम्मेवारी दिइएको छ । शाखामा डा.शाहसहित कार्डियोलोजिष्ट डाक्टर अमित कुमार सिंह गरी २ जना कार्डियोलोजिष्ट, २ जना मेडिकल अफिसर, ४ जना नर्स, २ जना रेडियोग्राफर, २ जना ल्याब टेक्निसियन, १ एक जना प्रशासक, ३ जना गार्ड, २ जना सहयोगीको व्यवस्था गरिएको छ । शुरुमा शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृद केन्द्रमा रिफर गरिनेछ ।
केन्द्रका वरिष्ठ कार्डियाक सर्जन एवं कार्यकारी निर्देशक डाक्टर शर्माका अनुसार, शाखामा बिरामीको रोग पहिचान गरी स्थानीय तहमा उपचार हुनसक्ने कतिपय समस्या त्यही समाधान गरिने र पहिचान भएका जटिल समस्याहरु शुरुको अवस्थामा रिफर भई सहज रुपमा उपचार सेवा उपलब्ध गराइने छ ।
दोस्रो चरणमा अन्तरंग, इमर्जेन्सी, क्याथल्याब र कार्डियाक सर्जरी सेवा उपलब्ध गराइने छ । यसका लागि आवश्यक भवन निर्माण गर्न जनकपुर अञ्चल अस्पतालले अस्पताल हाताभित्र ओपिडी कम्प्लेक्सको अगाडिपटीको जग्गा केन्द्रलाई हस्तारन्तरण गरिसकेको छ । ३ वर्षभित्रमा भवन पूरा गरेर कम्तिमा पनि ५ वर्षभित्र कार्डियोलोजी सेवाका सम्पूर्ण इन्भेजिभ सेवाहरु उपलब्ध गराउने लक्ष्य रहेको कार्यकारी निर्देशक डा. शर्माले स्पष्ट पार्नुभयो ।
शाखाको सम्पूर्ण आम्दानी खर्चको स्वामित्व केन्द्रको रहने छ । यसका साथै प्रदेश नम्बर २ सरकारले सो शाखाको विकास र विस्तारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्