Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्याँनक्रियाजको समस्या भएका बिरामीका लागि इआरसिपी प्रविधि प्रभावकारी



 

डा.कमल राज सुवेदी/ कन्सल्टेन्ट फिजिसियन तथा ग्यास्ट्रोइन्ट्रेरोलोजिस्ट

हामीले कतिपय व्यक्तिलाई जन्डिस भएको देखेका छौं । वास्तवमा जण्डिस कस्तो अवस्थामा देखिन्छ ? र यसको समाधानका उपायहरु के के हुनसक्छन् ? भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ । कलेजोले पित्तरस बनाउँछ । यसले खाना पचाउन मद्धत गर्छ । यो पित्तनलीको माध्यमबाट सानो आन्द्रामा जाने गर्छ । पित्त नलिमा अवरोध आउनु जन्डिसको प्रमुख कारण हो ।

कारक तत्व
पित्तनलीमा ढुङ्गा बन्ने एवं पित्तथैलीको ढुङ्गा नलीमा जाने (वाइल डक्ट स्टोन) र पित्तनली साँघुरिने एवं च्यापिने (स्ट्रिक्चर) समस्याले धेरैजसो व्यक्तिलाई जन्डिस हुने गरेको पाइन्छ ।

लक्षण
माथिल्लो पेट दुख्ने, आँखा वा शरिर पहेँलो हुने, पिसाव गाढा पहेँलो देखिने, पित्तनली साँघुरिएर जन्डिस बढ्ने, जिउ चिलाउनेलगायतका समस्या जन्डिसका लक्षण हुन् ।
के कारणले पित्तनली साँघुरिन्छ ?
पित्त नली सुन्निने, पित्तनलीको क्यान्सर (कोलेन्जियो कार्सिनोमा), पित्तथैलीमा जमेको ठूलो ढुङ्गा, पित्तथैलीको क्यान्सर, प्याँनक्रियाज क्यान्सर एवं पित्तनलीको मुखको अम्पुला क्यान्सर हुँदा पनि यस्ता लक्षणहरु देखिन सक्छन् । यस्ता समस्याहरु देखिएमा चित्सिकको सल्लाहमा तुरुन्त अपरेशन गर्नुपर्छ । अप्पुला क्यान्सरका लागि इन्डोस्कोपिक रेट्रोग्रेट कोलांगो प्याँक्रियाटोग्राम (इआरसिपी) प्रविधिको प्रयोग गरिन्छ ।

इआरसिपी प्रविधि
विगतमा इन्डोस्कोपिक रेट्रोग्रेट कोलांगो प्याँक्रियाटोग्राम (इआरसिपी) प्रविधिको प्रयोग पित्तनली र प्याँनक्रियाज नलीका रोग पत्ता लगाउन प्रयोग गरिन्थ्यो । तर अहिले सोही अंगहरुको उपचारका लागि प्रयोग गरिँदै आएको छ । मुखबाट इन्डोस्कोपी मेसिन छिराएर पेटको बाटो हुँदै आन्द्रामा रहेका पित्तनलीको मुख (अम्पुला) मा पुग्छ । विभिन्न उपकरणहरुको प्रयोग गरेर नलीको मुखलाई ठूलो बनाइन्छ र पित्तनलीको ढुङ्गा निकालिन्छ ।
नली साँघुरो भएको भागको माथि स्टेन्ट (पाईप) राखिन्छ । यसले पित्तरसको बहाव सुचारु गराउँछ । यसले जन्डिस र दःुखाई कम हुन्छ । पित्तनलीको ढुङ्गा ठूलो भएमा त्यसलाई नली भित्रै फुटाएर वा नलीको तल्लो भागलाई तन्काएर ठूलो बनाएर निकाल्न सकिन्छ । प्याँनक्रियाजको समस्या भएका बिरामीका लागि पनि इआरसिपी प्रविधि प्रभावकारी मानिन्छ । यस्ता समस्या भएका बिरामीको माथिल्लो पेट दुख्ने र खाना नपच्ने समस्या हुन्छ । प्यानक्रियाज नलीमा ढुङ्गा बन्ने र नली साँघुरिने भएकाले ढुङ्गा निकालेर स्टेन्ट राख्नुपर्छ ।
यो प्रविधिको प्रयोग गर्दा पेट चिर्नु वा पेटमा प्वाल पार्नुपर्दैन । विरामीलाई एनेस्थेसिया दिएर बेहोस बनाएर उपचार गरिन्छ । इआरसिपी गरिसकेपछि केहि घण्टा अवलोकनमा राखेर सोहि दिन घर फर्काउन सकिन्छ ।
(कन्सल्टेन्ट, फिजिसियन तथा ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा.कमल राज सुवेदी ह्याम्स हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्