Logo
|
Thursday 18th April 2024
Logo

epaper

मिर्गौलाका घातक रोग केही मिनटमै पत्ता लगाउँने एप



मोबाइल फोनमा हुने एउटा एप मानिसमा घातक सिद्ध हुन सक्ने मिर्गौला रोग भए नभएको पत्ता लगाउन सहयोगी बनेको छ। मिर्गौलाको रोग केही मिनेटमै पत्ता लाग्न थालेपछि स्वास्थ्यकर्मीहरूले यो विधिले बिरामीको जीवनरक्षामा सहयोग पुर्‍याउन सक्ने बताएका छन्।

सेप्सिसजस्ता गम्भीर प्रकारको रोग लागेका बिरामीको मिर्गौलामा हानि पुग्न सक्छ। त्यस्तो समस्या प्राय: वृद्ध बिरामीहरूमा देखिन्छ।छिटो उपचार नगरे त्यसले अन्य अङ्गलाई पनि प्रभावित तुल्याउन सक्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार गम्भीर प्रकारको मिर्गौलाको चोटपटकका कारण विश्वमा प्रत्येक वर्ष झन्डै १७ लाख मानिसको ज्यान जाने गर्छ।

चेतावनी

लन्डनको रोयल फ्री अस्पतालमा गरिएको परीक्षणको क्रममा चिकित्सक तथा नर्सहरूले एउटा मोबाइल फोन एपको सहायताले औसतमा १४ मिनेटको अन्तरालमा चेतावनीहरू प्राप्त गरे। चोटपटकको सम्भावना बढेको बेला रक्तपरीक्षण गर्दा त्यस्ता चेतावनीहरू प्राप्त भए। सामान्य अवस्थामा कैयौँ घण्टापछि मात्र त्यस्तो समस्या पत्ता लाग्थ्यो।

स्ट्रीम्स नाम दिइएको सूचना प्रणाली रोयल फ्री अस्पतालले डीपमाइन्ड नामक प्रविधि फर्मसँग मिलेर बनाइएको हो। त्यसले काममा खटिएका स्वास्थ्यकर्मीहरूलाई सरल सूचना र ग्राफहरू उपलब्ध गराउँछ।  विभिन्न रक्तपरीक्षणको क्रममा क्रीएटनिन नामक खेर जाने तत्त्वको परिणामको मापन गरिन्छ। त्यसलाई मिर्गौलाले छानेर बाहिर निकाल्ने गर्छ। रगतमा हुने अन्य सूचकबारे पनि एपले तुरुन्तै स्वास्थ्यकर्मीलाई जानकारी गराउँछ।

त्यो विधिको विकास भएपछि उपचार खर्च निकै घटेको अस्पताल व्यवस्थापकहरूले बताएका छन्। रोयल फ्रीकी प्रमुख नर्स म्यारी एमर्सनले भनिन्, “यसरी अस्पतालका बिरामीहरूको अवस्थाबारे तत्कालै सूचना पाउने विधि एकदमै ठूलो परिवर्तन हो। यसले हामीलाई तत्कालै सूचना पाउन सजिलो भएको छ।”

नयाँ एप
यो नयाँ एप निकै उपयोगी हुन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्

एक्युट किड्नी इन्जरी अर्थात् गम्भीर मिर्गौला चोटपटक के हो?

  • जटिलता र अन्य गम्भीर रोगका कारण मिर्गौलाले राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न भएमा त्यसलाई एक्युट किड्नी इन्जरी अर्थात् गम्भीर मिर्गौला चोटपटक भन्ने गरिन्छ
  • यस्तो अवस्था आएमा मिर्गौलाले राम्ररी काम गर्न सक्दैन वा मिर्गौला पूरै काम नगर्ने अवस्थामा पुग्छ

स्रोत: एनएचएस यूके

हालै विभिन्न बिरामीहरूको मिर्गौलाको अवस्थाबारे प्राप्त १२,००० सूचनाहरूको युनिभर्सिटी कलेज लन्डनमा मूल्याङ्कन गरिएको थियो। नेचर डिजिटल मेडिसिन जर्नलमा प्रकाशित शोधका अनुसार ती सूचनाका कारण बिरामी निको हुने क्रममा सुधार नभएपनि गम्भीर मिर्गौला चोटपटक छिटै पत्ता लगाउन सजिलो भएको थियो।

एक परामर्शदाता चिकित्सक स्याली हामोरले यो परियोजना “जीवनरक्षक बन्न सक्ने” खालको भएको बताइन्। नयाँ अध्ययन प्रतिवेदन डीपमाइन्डले अमेरिकामा गरेको अध्ययनको प्रतिवेदनसँगै सार्वजनिक गरिएको थियो। त्यसमा अमेरिकाका सात लाख बिरामीको अवस्था पनि समेटिएको थियो। त्यसमा अझ उन्नत विधिको प्रयोग गरिएको थियो।

त्यसक्रममा रक्तपरीक्षण तथा मुटुको चाल र अन्य तथ्याङ्कहरूको विश्लेषण गरेर बिरामीहरूलाई मिर्गौलाको गम्भीर चोटपटक लाग्ने जोखिम भए नभएकोबारे अनुसन्धान गरिएको थियो। त्यसपछि त्यो कम्पनीले चिकित्सा अभ्यासमै उल्लेखनीय सुधार हुने सङ्केतहरू देखिएको दाबी गरेको छ। बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्