Logo
|
Saturday 20th April 2024
Logo

epaper

नाक, कान, घाँटीको समस्या ख्याल ख्याल होइन, कतै क्यान्सरको लक्षण पो हो कि !



पछिल्लो समय नाक, कान, घाँटी सम्बन्धि क्यान्सरका बिरामीको सँख्या बढ्दो छ । नेपालमा यकिन तथ्याङ्क नभए पनि अस्पतालको आँकडा अनुसार नेपालमा देखिने विभिन्न क्यान्सरमध्ये नाक, कान, घाँटी सम्बन्धि क्यान्सर चौंथो नम्बरमा पर्छ । त्यसमध्ये ९० प्रतिशत घाँटीको क्यान्सर सुर्तिजन्य पदार्थको सेवनबाट हुने गर्दछ । सुर्तीजन्य पदार्थ अन्तर्गत धुवाँयुक्त चुरोट, बिँडी र हुक्का, चपाएर खाइने खैनी, पान, पानपराग, तम्बाकु, गुट्खा आदि घाँटीको क्यान्सर गराउने कारक प्रमुख कारक तत्व मानिएको छ ।

डा. कुञ्जन आचार्य /नाक, कान, घाँटी रोग विशेषज्ञ

के हो घाँटीको क्यान्सर ?
सामान्य भाषामा खाना नली, आवाज आउने नली (भोइस बक्स), थाइराइड ग्रन्थि र र्याल (प्यारोटिड ग्ल्यान्ड) ग्रन्थिमा हुने क्यान्सरलाई घाँटीको क्यान्सर भनिन्छ । मुखबाट सुरू भएर खाना खाने नली हुँदै तल पेटसम्म जोडिएको इसुफेगसको माथिल्लो भागसम्म हुने क्यान्सर घाँटीको क्यान्सर अन्तर्गत पर्छन ।

जोखिम
धुम्रपान र मद्यपान गर्ने व्यक्तिहरुलाई खाना नली र आवाज नली (ल्यारेङक्स) को क्यान्सर हुने जोखिम उच्च हुन्छ । थाइराइड क्यान्सर यसरी नै भन्न गाह्रो छ । तर जापान तथा कोरियामा परमाणु बम बिस्फोटन हुँदा निस्केको रसायनले त्यहाँका मानिसलाई थाइराइड क्यान्सर धेरै हुने गरेको पाइन्छ । विकिरण एक्पोजले थाइराइड ग्रन्थिको क्यान्सर हुन सक्ने अध्ययनले देखाएको छ । जथाभावी एक्स–रे र सिटी स्क्यान गर्दा विकिरणले क्यान्सर गराउन सक्छ । त्यसैगरी थाइराइड क्यान्सर वंशाणुगत पनि हुन सक्छ । यस्तो अवस्थामा जेनेटिक म्यापिङ र परामर्श गरेर पत्ता लगाइन्छ । यो खानपान सँग सम्बन्धित हुँदैन ।

कसरी थाहा पाउने ?
आवाज नली र श्वासप्रश्वासनलीमा क्यान्सर हुँदा स्वर भाषिदै जाने र श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छ । खाना नली क्यान्सरको लक्षण ढिला देखिन्छ । घाँटी खसखस हुने, थुकमा रगत आउने, खाना निल्न गाह्रो हुने खाना नलीको क्यान्सरका मुख्य लक्षण हुन् । थाइराइड क्यान्सर पनि धेरैलाइ भएको पाइन्छ । घाँटीको अल्ट्रासाउण्ड गरेर यो क्यान्सर पत्ता लागाउन सकिन्छ । समयमा राम्रो उपचार गरे ८० देखि ९० प्रतिशत थाइराइड क्यान्सर चौथो स्टेजमा भएपनि निको हुन सक्छ ।

कसरी जोगिने
सुर्तीजन्य पदार्थ र मद्यपान सेवान नगर्ने व्यक्तिलाई घाँटीको क्यान्सर हुने जोखिम ८० प्रतिशत कम हुन्छ । वंशाणुगत थाइराइड क्यान्सरको पहिचान गर्न जेनेटिक म्यापिङ सेवा नेपालमा सुरु भइसकेको छ । सुर्तिजन्य पदार्थ र मद्यपान नगर्नु नै यसबाट बच्ने उत्तम उपाय हो ।
उपचार
सबैभन्दा पहिला कुन ठाउँ र तहको क्यान्सर हो पत्ता लगाउनुपर्छ । समयमा क्यान्सरको पहिचान भए उपचार राम्रो हुन्छ । विशेषगरी शल्यक्रिया, रेडियोथेरापी र किमोथेरापीबाट यसको उपचार गरिन्छ । क्यान्सरको तह र स्थान हेरेर चिकित्सकले उपयुक्त उपचार विधि अपनाउछन् । पहिलो स्टेजमा क्यान्सर पहिचान भए शल्यक्रिया गरेर निको पार्न सकिन्छ । मुख, जिब्रो र गिँजाको क्यान्सर पहिलो स्टेजमा पहिचान भए ८० प्रतिशत निको हुन्छ । तेस्रो–चौथो तहमा पुगिसकेका क्यान्सरलाई शल्यक्रिया र रेडियोथेरापी या शल्यक्रिया र किमोथेरापी या तिनओटै उपचार बिधि अपनाउनु पर्छ ।

के घाँटीको क्यान्सर दोहोरिन्छ ?
धुम्रपान गर्ने ब्यक्तिहरुको घाँटीको क्यान्सर दोहोरिने सम्भावना बढि हुन्छ । धुम्रपानबाट हुने क्यान्सरलाई सेकेन्ड प्राइमरी क्यान्सर भनिन्छ । यस्ता क्यान्सर पुनः दाहोरिन सक्छन् । लामो समय देखि चुरोट सेवन गरिरहेको हुनाले यसले गाला, फोक्सो, खाना नली लगाएत सबै ठाउँमा असर पारिसकेको हुन्छ । एकठाउँको क्यान्सर उपचार गरेर निको भएता पनि अर्को ठाउँबाट पुनः नयाँ क्यान्सर फैलिन सक्छ । बिरामीले स्टेज अनुसार राम्रो उपचार पाएको छैन भने पनि क्यान्सर फर्किन सक्छ ।

प्रतिक्रिया दिनुहोस्