Logo
|
Wednesday 24th April 2024
Logo

epaper

उपत्यकामा डेङ्गु फैलनसक्ने



 विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ । डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई आमन्त्रण गरी अध्ययन गरेको थियो । रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले डब्लूएचओ टोलीको अध्ययनले उपत्यकामा डेङ्गु फैलनसक्ने निष्कर्ष निकालेको भन्दै सचेतना अपनाउन सुझाव दिएको बताउनुभयो ।
डब्लूएचओ टोलीले गरेको नमुना सङ्कलनमा काठमाडौँ उपत्यकामा डेङ्गु सार्ने लामखुटे प्रशस्त मात्रामा भेटिएको पाइएको थियो । प्रमुख लालले थप्नुभयो, “काठमाडौँ वरिपरिका जिल्लाहरूमा पनि डेङ्गु देखिसकेको छ । ” गत वर्ष पनि काठमाडाँैमा डेङ्गु सङ्क्रमित देखिएको थियो ।
महाशाखाका प्रमुख लालले भन्नुभयो, “काठमाडौँको हावापानी, वातावरण, पानी, खाल्डाखुल्डी, पानी जम्ने ठाउँजस्ता विषयले काठमाडौँ डेङ्गुको उच्च जोखिम रहेको पाइएको छ । ’’ उहाँले डेङ्गु सार्ने लामखुट्टेले सफा पानीमा अन्डा पार्ने र अन्डा पारेको भाँडा, प्लास्टिक, गमला, पोखरी, खाल्डाखुल्डी जस्ता ठाउँमा अन्डा भित्तामा टाँसिएर रहने भएकाले सतर्क हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश नं. १ को सुनसरीमा मात्र यस वर्ष तीन हजार ४२५ जनामा डेङ्गु देखा परेको छ । पाँच वर्ष अघिसम्म १२ जिल्लामा देखिएको डेङ्गु पाँच वर्षको बीचमा ५६ जिल्लामा फैलिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्