क्यान्सर अस्पताल व्यवस्थापन समितिमा विवाद
भक्तपुर नगरपालिकाले दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेपछि समितिबारे विवाद खडा भएको छ । क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि नगरपालिकाले पुरानो व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेपछि विवाद बढेको हो ।
भक्तपुर नगरप्रमुख प्रजापतिले नेपाल अर्ब‘द रोग निवारण संस्था नामक गैरसरकारी संस्थाको नाममा अस्पताल सञ्चालन गरी भ्रष्टाचार भएको गुनासो आएकोले पुरानो समिति विघटन गरिएको जानकारी दिनुभयो । अस्पतालमा कार्यरत सबै कर्मचारीले हस्ताक्षर गरी अस्पतालमा अनियमितता भएको जानकारी दिएकोले नयाँ समिति बनाएको जानकारी उहाँले दिनुभयो ।
अस्पतालले मनोमानी गरेको भन्दै उहाँले अब नगरपालिकाले अस्पताल सञ्चालन गर्ने जानकारी दिनुभयो । यता निवर्तमान समितिका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठले भने पत्रकार सम्मेलन गर्दै अस्पताल निर्बाध सञ्चालन भइरहेको बेला नगरपालिकाले हस्तक्षेप गरेको आरोप लगाउनुभयो । उहाँले नगरपालिकाको निर्णयविरुद्ध पुरानो व्यवस्थापन समिति अदालत जाने जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाले नगरप्रमुख प्रजापतिको अध्यक्षतामा भक्तपुर जिल्ला क्षेत्र १ का सङ्घीय सांसद् प्रेम सुवाल र प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईं सल्लाहकार तथा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्ष रवीन्द्र ज्याख्व, उकेश कवां र श्यामकृष्ण खत्री सदस्य रहेको नयाँ समिति गठन गरेको छ ।
त्यस्तै, नेपाल अर्ब‘द रोग निवारण संस्था, भक्तपुर शाखाका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिका अध्यक्ष र सोही समितिका महिला सदस्य, अस्पतालका मेडिकल डाक्टर प्रतिनिधि र कर्मचारी कल्याणकारी समितिका प्रतिनिधि पनि सदस्य रहनुभएको छ ।
नयाँ समितिमा अस्पतालका मेडिकल निर्देशक सदस्य सचिव र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षकलाई आमन्त्रित सदस्यका रूपमा चयन गरिएको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीबाट नै आर्थिक अनियमितता र भ्रष्टाचार भएको समाचार सञ्चारमाध्यममा प्रकाशित थिए । त्यसविरुद्ध स्थानीय जनता तथा अस्पतालका चिकित्सक तथा कर्मचारीबाट सङ्घर्ष भइरहेको जानकारी पाएपछि अस्पताललाई जोगाउन नयाँ समिति गठन गरिएको नगरप्रमुख प्रजापतिले
जानकारी दिनुभयो ।
उहाँले नगरपालिकाका जनप्रतिनिधिले पटक पटक व्यवस्थापन समितिका पदाधिकारीसँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएपछि स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी हप्तक्षेप गर्नुपरेको जानकारी दिनुभयो । क्यान्सर अस्पताल निर्माणका लागि नगरपालिकाको तर्फबाट ११ रोपनी जग्गा प्रदान गरेको जानकारी पनि उहाँले दिनुभयो । गोरखापत्रबाट