Logo
|
Wednesday 24th April 2024
Logo

epaper

बी एण्ड बी हस्पिटलमा प्रा.डा. बाँस्कोटाको नाममा ‘एकेबी सेन्टर फर आर्थोस्कोपी, स्पोर्टस इन्जुरी तथा रि–जेनेरेटिभ मेडिसिन’



ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी हस्पिटलमा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा. अशोक कुमार बाँस्कोटाको नाममा आर्थोस्कोपी, स्पोर्टस् इन्जुरी एवं रिजेनेरेटिभ सेन्टर स्थापना गरिएको छ । ‘एकेबी सेन्टर फर आर्थोस्कोपी, स्पोर्टस इन्जुरी तथा रि—जेनेरेटिभ मेडिसिन’ को नामबाट सञ्चालनमा ल्याइएको सो सेन्टर हस्पिटलका वरिष्ठ अर्थोसर्जन एवं अध्यक्ष प्रा.डा. अशोक कुमार बाँस्कोटा र हस्पिटलका वरिष्ठ युरोसर्जन एवं प्रबन्ध निर्देशक डा. जगदीश लाल बैद्यले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सो विभागमा प्रा.डा. बाँस्कोटा, डा. अमित जोशी, डा.इश्वर प्रधान, डा. नागमनि सिंह र डा. बिवेक बासुकलाको टिम रहेको छ । विगतदेखि अस्पतालले स्पोर्टस् इन्जुरी र आर्थोस्कोपि सेवा दिइरहेको भएपनि रिजेनेरेटिभको सुविधा उपलब्ध गराउन छुट्टै सेन्टरको व्यवस्था थिएन ।े
सो अवसरमा अवसरमा प्रा.डा बाँस्कोटाले बी एण्ड बी अर्थोपेडिक सर्भिस उपलब्ध गराउने हस्पिटलमध्ये ठूलो विभाग भएको बताउँदै २५ जना भन्दा बढी अर्थोपेडिक सर्जन कार्यरत रहेको बनाउनुभयो । यति ठूलो टिम विकास गरेपछि मस्कुलोस्केलेटल डिजिजहरुको सबै शाखाहरुलाई कसरी अझ भाइब्रेन्ट बनाउने, नयाँ सेवाहरुलाई व्यापक बनाएर कम्युनिटीलाई सुविधा उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको प्रा.डा बाँस्कोटाको भनाइ छ । अस्पतालका प्रबन्ध निर्देशक डा. जगदीश लाल बैद्यले सेन्टर स्थापनाले अझ प्रभावकारी उपचार सेवा उपलब्ध हुने स्पष्ट पार्नुभयो । सो विभागले आर्थोस्कोपी, खेलकुदको चोटपटक र विभिन्न जोर्नीहरुको दुःखाइलाई सुईमार्फत पुनरुत्पादन गर्ने लगाएतका सेवा उपलब्ध गराइने अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा. ईश्वर प्रधानले जानकारी दिनुभयो ।

के हो आर्थोस्कोपी ?
शरीरको कुनै पनि भित्री भागमा प्वाल पारी दुरविन छिराएर हेर्ने प्रविधीलाई इन्डोस्कोपी भनिन्छ । जोर्नीमा गरिने इन्डोस्कोपीलाई आर्थोस्कोपी भनिन्छ ।
अर्थोपेडिक सर्जन डा. प्रधानका अनुसार कुम, कुहिनो, नाडी, तिघ्रा, घँुडा र गोलिगाँठो आदिको उपचार आर्थोस्कोपीबाट गर्न सकिन्छ ।
जोर्नीहरु प्रायः हाड, लिगामेन्ट (डोरी जस्तो नशा), कुरकुरे हड्डी, सिनोभिएम (जोर्नीको जाली) आदि मिलेर बनेको हुन्छ । डा. प्रधान भन्नुहुन्छ —‘जोर्नी भित्रको हड्डी भाँचिदा, नशा चुडिएमा, कुरकुरे हड्डी च्यातिएमा, जोर्नीको जालीमा विभिन्न किसिमका रोग लागेमा आर्थोस्कोपीको माध्यमबाट उपचार गर्न सकिन्छ ।’

आर्थोस्कोपी प्रविधिको फाइदा
आर्थोस्कोपी प्रविधिबाट चिरफर नगरी सानो प्वाल पारेर शल्यक्रिया गर्न सकिन्छ । शल्यक्रिया पछि चाँडै हिँडडुल गर्न सकिन्छ । शल्यक्रियाको समयमा जटिलता आउँदैन । दुःखाइ एकदमै कम हुन्छ ।

के हो स्पोर्टस इन्जुरी ?
खेलकुदको चोटपटक खेलाडीहरुलाई बढी हुने भएता पनि नेपालको सन्र्दभमा खेलाडीलाई बाहेक अन्य मानिसहरुलाई पनि प्रशस्त देखिने गरेको छ । लडेर, जोर्नी मर्केर, दुर्घटनामा परेर खेलकुदको चोटपटक लाग्न सक्छ ।

रिजेनेरेटिभ चिकित्सा भनेको के हो ?
रिजेनेरेटिभ चिकित्सा भनेको बिग्रिएको तन्तु वा अंगलाई पुर्नउत्पादन गर्ने पद्धति हो । रगतको कोषिकाहरु मध्ये एउटा कोषिका जसलाई ‘प्लेटलेट’ भनिन्छ । प्लेटलेटमा अरु तन्तुलाई पुर्नउत्पादन गराउन सक्ने क्षमता हुन्छ । सोही प्लेटलेटको सँख्यालाई बाक्लो बनाएर बिग्रिएको अंगमा हालेर तन्तुहरु पुनरुत्पादन गर्ने प्रविधिलाई पी.आर.पी. थेरापी भनिन्छ ।
जोर्नी खिँइएमा, भाँचिएको हड्डी नजोडिएमा, जोर्नी वरीपरि विभिन्न किसिमका रोग लागेमा, घाउ नपुरिएमा र मांशपेशी च्यातिएमा पी.आर.पी. थेरापी उपयोगी हुने अर्थोपेडिक सर्जन डा. प्रधानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्