Logo
|
Thursday 25th April 2024
Logo

epaper

डेंगु नियन्त्रण लागि ‘फगिङ’ गर्न दबाब, पहाडी जिल्लामा पनि डेंगु



dengu

डेंगु संक्रमणले महामारीको रुप लिन थालेपछि झापाको दमकमा लामखुट्टे मार्न विषादीयुक्त धुवाँ (फगिङ) छर्किन नगरपालिकालाई स्थानीयले दबाब दिन थालेका छन् ।  मानव स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले यो गर्न छाडे पछि तिब्र दबाब सिर्जना भएको बताइन्छ ।

धुवाँ फैलेपछि लामखुट्टे मरे पनि त्यसका लार्भा तथा अण्डा नष्ट नहुने भएकाले  सिधै श्रोत पहिचान गरेर नष्ट गर्ने कार्य प्रभावकारी हुने बताईंदै आएको छ ।
‘हामी श्रोत पहिचान गरी लामखुट्टेका लार्भाहरु नष्ट गरिरहेका छौं तर विषादी नछर्केको भनेर हामी माथि स्थानीयको दबाब परिरहेको छ ।’ दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले भन्नुभयो ।

‘दमकसहित झापामा अहिलेसम्म दुईसय २३ जनामा डेंगु देखिएको छ । दमकमा पछिल्लो तथ्याङ्क अनुसार एकसय २७ जनामा डेंगु देखिएको स्वास्थ्य शाखा प्रमुख अर्यालले बताउनुभयो । यसलाई फैलन नदिन हामी सचेतना र लार्भा नष्ट गर्ने कार्यमा लागेका छौ ।’ उहाँले भन्नुभयो ।

दमक वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाका अनुसार वडामा विरामीको संख्या बढेपछि वडाबासीले लामखुट्टे मार्न विषादीयुक्त धुवाँ लागि आग्रह गरिरहेका छन् । रोग फैलन नदिन आफुहरुले आवश्यक शर्तकता र सबै उपाय अवलम्बन गर्नका लागि स्वास्थ्य शाखासँग अनुरोध गरिएको छ ।

स्वास्थ्यकर्मीहरुका अनुसार डेंगु भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने भएकाले यसलाइ शहरीया समस्याको रुपमा लिइन्छ ।

पहाडी क्षेत्रमा पनि प्रभाव

स्वास्थ्य कार्यालय झापाका अनुसार डेंगु रोगको उच्च जोखिममा झापा जिल्ला रहेको छ । पछिल्लो पटक अस्पतालका अनुसार पहाडी जिल्लाहरु इलाम र पाँचथरबाट समेत डेंगुका विरामी उपचारका लागि झापामा आउने गरेका छन् ।

स्वास्थ्य कार्यालय झापाका डेंगु रोगका ‘फोकल पर्सन’ जीवन चौलागाईंका अनुसार अस्पतालबाट आएका रेकर्ड हेर्दा इलाम र पाँचथरबाट समेत विरामी आएका छन् । पहाडी जिल्लामा पनि डेंगु सार्ने लामखुट्टे पुगेको हुनसक्छ र यसलाई सुक्ष्म रुपमा हेरिनुपर्छ, उहाँले भन्नुभयो । विष्णुप्रसाद पोखरेल/ गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्