Logo
|
Thursday 28th March 2024
Logo

epaper

धामीझाँक्री र तन्तरमन्तरले स्थानीय समाज निकै आक्रान्त

गर्भवती तथा सुत्केरी महिलाका लागि जुनसुकै बेलामा पनि उद्धारका लागि ‘स्टयान्डबाइ’ अति विशिष्ट सेवाको ग्यारेन्टी खै ?



तीन दिन अघि बाजुराको जिल्ला अस्पतालमा २१ वर्षीया स्थानीय सुत्केरी वसन्ती नेपालीको मृत्यु भयो । मृत बच्चा जन्मिएको करिब दुई घण्टाभित्रै उनको मृत्यु भएको थियो । तर, उनको गर्भमा रहेको बच्चा करिब ५/६ दिन पहिलेदेखि नै चल्न छाडी मृत अवस्थामा रहेकाले उनी निरन्तर रक्तस्रावको पीडामा थिइन् । उनी भाद्र महिनाको पहिलो सातामा केवल एकपटक मात्र अस्पताल आएकी थिइन् । त्यसबेला चिकित्सकको अस्पताल भर्नाको सल्लाह अस्वीकार गरी घर फर्किएकी उनको जिल्ला अस्पतालमा आइपुग्दा स्वास्थ्य अवस्था निकै नाजुक भइसकेको थियो । जिल्ला अस्पतालका चिकित्सकको टिमले उनको मृत बच्चाको जन्म र उनको बचाउका लागि भएभरका र जानेसम्मका सबै उपायहरू अवलम्बन गरे । तर, अथक प्रयासपछि पनि सफलता हात लागेन । मृत बच्चाको जन्मपछि सुत्केरी आमाको पनि मृत्यु भयो । यस पीडादायी घटनाका पछाडि केही जान–अन्जान र केही गैरजिम्मेवारपूर्ण केही कुराले निकै डरलाग्दा भूमिका निर्वाह गरेका छन् । फेरि यो घटना पहिलो पनि होइन । पर्दापछाडि पीडित परिवार स्वयं, समाज, छरछिमेक, अस्पताल र राज्यव्यवस्था आदि यसका जिम्मेवार पक्षहरू रहेका छन् ।

पहिलो कुरा, पीडित परिवार आफंैमा सुत्केरीको ज्यान जहिले पनि जोखिममा छ भन्ने कुरामा निकै लापरबाह रहेको देखिन्छ । यसका पछाडि अज्ञानता, सचेतनाको कमी, बालविवाह, सन्तुलित आहाराको कमी, गर्भवतीका लागि आवश्यक आराम र हेरचाहका साथै नियमित अस्पताल जाने र चिकित्सकको सल्लाह लिनमा रहेको कमीले काम गरेको छ । उनीहरूले सामान्य सचेतता पनि नअपनाएको देखिन्छ । यसका साथै, पुरातन मनोविज्ञानले पनि प्रशस्त काम गरेको पाइन्छ । घरका मुलीमाझी र बूढापुरानाले ‘हामीले घाँस काट्दा काट्दै छोराछोरी पाएर हुर्कायौं, खेतबारी र मेलापातमा जन्मिए हाम्रा नानी, तिमीलाई अस्पताल’ भनेर गिज्याउने परम्परा र मनोविज्ञान जबर्जस्त देखिन्छ । त्यसैगरी, छरछिमेक पनि सहयोगी र परिपूरक रहनुको सट्टा बाधक र जोकरको भूमिकामा देखापर्नुले पनि निकै दुःख दिने गरेको छ । पछिल्लो चरणमा परम्परागत रूपमा रहेको सामाजिक मानवताको स्थान खिसिटिउरी र इष्र्याले लिन थालेको छ । मृतक वसन्ती नेपालीको लोग्ने पनि विदेशमा छन् । उनीहरूको विवाह आफैंमा बालविवाह हो ।

दोस्रो कुरा, वसन्ती नेपाली भदौ महिनामा नै अस्पतालमा भर्ना हुन सक्थिन् होला । तर, त्यहाँको स्थानीय समाजमा गाउँघरभन्दा केही टाढा रहने गरेका अस्पतालमा भूतप्रेत र मसान रहने गरेकाले बच्चा र सुत्केरी आमा रातमा मर्ने गर्छन् भन्ने ठूलो अफवाह समाजमा छ । गर्भवती महिलाहरू अस्पताल जाने भनेपछि निकै आतंकित हुने, काप्ने, निरास हुने र अन्तिम अवस्था हुँदासम्म पनि नजाने गर्छन् । नाजुक अवस्थामा अस्पताल गएका पनि फर्केर आउने आशाका साथ गएका देखिँदैनन् । धामीझाँक्री र तन्तरमन्तरले स्थानीय समाज निकै आक्रान्त देखिन्छ । यसका साथै, गरिबीको चपेटामा परेका स्थानीयको हातमा नगद पैसा र ठूला तथा सुविधा सम्पन्न अस्पतालमा जाने हैसियत पनि हुँदैन ।
तेस्रो महŒवपूर्ण कुरा हो, सरकार र राज्यव्यवस्था जनताप्रति उत्तरदायी छैन । सरकारले स्थानीय सरकारी संयन्त्रमा प्रचारात्मकबाहेक क्रियात्मक जनचेतनाका लागि ठोस काम र कार्यक्रमहरू दिन सकेकै छैन । कुनै व्यक्ति विशेष ठूला भनाउँदाहरूले ‘कठैबरा’ र ‘समयमै थाहा पाएको भए’ र ‘खबर पनि भएन’ भन्नेजस्ता सस्ता ओंठे मानवता र सहानुभूति बटुल्ने कुराबाहेक संस्थागत र प्रक्रियागत रूपमा परिणाम ल्याउने कुरा जनताका बीचमा पु¥याइएका छैनन् । स्थानीय स्वास्थ्य चौकी र अस्पतालमा आवश्यक सेवा, सुविधा र उपकरणका साथै दक्ष जनशक्तिसमेत छैनन् । आकस्मिक उद्धारका लागि कुनै फोन सेवा र ‘स्ट्यान्डबाइ’ हेलिकोप्टर तथा एयर एम्बुलेन्सको व्यवस्था छैन । राज्य यदि नागरिकको अभिभावक हो भने गर्भवती तथा सुत्केरी महिलाका लागि जुनसुकै बेलामा पनि उद्धारका लागि ‘स्टयान्डबाइ’ अति विशिष्ट सेवाको ग्यारेन्टी गर्नुपर्ने समाचार राजधानी दैनिकमा उल्लेख छ । ।

प्रतिक्रिया दिनुहोस्