Logo
|
Friday 29th March 2024
Logo

epaper

जनकपुर अञ्चल अस्प्तालमा अत्यधिक बिरामीको चाप, सिमित चिकित्सकले कसरी धान्ने ?

संरचना र कर्मचारी नहुँदा स्वास्थ्य सेवा प्रवाहमा कठिननाई



जनकपुर अञ्चल अस्पतालको नव निर्मित ओपीडी भवनमा सेवा सञ्चालन भएको एक वर्ष पनि बितेको छैन्। ठाउँ अभावले बिरामीको उपचारमा समस्या भएको भन्दै सहजताका लागि नयाँ भवन निर्माण गरिएको थियो। तर अहिले यो भवनमा पनि बिरामी अटाउने ठाउँ छैन। बिहानैदेखि अस्पतालको विभिन्न वार्डमा बिरामीको चाप थेगिनसक्नु छ। बिरामीको चापका कारण चिकित्सकले सबै बिरामीलाई समय दिएर जाँच गर्नसमेत पाएका छैनन्।

एउटैलाई धेरै समय दिँदा अन्य बिरामी छुट्ने भएपछि चिकित्सकले सोधपुछ गर्ने र हतारमा रिपोर्ट हेरेरै औषधि सिफारिस गर्ने गरेका छन्।बिरामीको चाप र कुरुवाको हल्लाका कारण सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको अस्पतालले जनाएको छ। बर्खाको समय भएकाले अधिकांश मौसमी रुघाखोकीका बिरामी आउँछन्। अस्पतालमा चाप धेरै भएपछि अन्य रोगका बिरामीलाई पनि संक्रमण फैलिनसक्ने भन्दै चिकित्सक चिन्तित छन्।

अस्पतालका आकस्मिक, प्रसूति र ओपीडी वार्ड लगायत सबैमा बिरामीको घुँइचो छ। कुरुवा र बिरामी भेट््न आउने आफन्तले केही छिनका लागि भए पनि मुस्किलले बस्ने ठाउँ भेटाउँछन्। दैनिक दुई हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ। सरकारबाट एकसय शै्याको मान्यता पाएको अस्पतालको विकास समितिबाट आन्तरिक एकसय ५० शै्या थप गरिएको छ। बिरामीको चापलाई मध्यनजर गर्दै ५० शैय्या थप गरी जम्मा तीन सय शै्या सञ्चालनमा छ। हाल अस्पताला बिरामीको चाप हेर्दा ५ सय शै्या आवश्यक पर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादव बताउँछन्।

‘अन्यत्रभन्दा धेरै नै बेड देखिन्छ। तर दैनिक आउने बिरामीको चाप हेर्दा अहिलेको संरचनामा उपचार गर्न कठिन छ’ मेसुु यादवले भने, ‘अहिले एउटा बिरामीलाई पूरा समय दिएर जाँच्न नै पाइएको छैन, चिकित्सक र शै्या थप नगरेसम्म सेवा प्रवाह प्रभावकारी बनाउन मुस्किल छ। तै पनि हामीले क्षमताले सकेअनुसार सेवा दिइरहेका छौं।’ देशभरीकै तुलनामा प्रदेश २ मा मिर्गौला संक्रमितको संख्या अत्याधिक छ। जनकपुर अञ्चल अस्पतालबाट मात्रै दुई हजार बढी मिर्गौलाका बिरामीले डायलासिस सेवा लिन्छन्। सरकारी अस्पताल भएकाले सस्तोमा उपचार हुने आशमा सबै बिरामी यसै अस्पतालमा आउने गरेका छन्। अन्यत्र सेवा सस्तो नहुँदा सम्पूर्ण बिरामीको भार जनकपुर अस्पतालले नै थेग्नुपरेको डा. यादव बताउँछन्।

अस्पतालमा सातवटा डायलासिस मेसिन छन्। तर जनशक्ति अभाव र बिरामी धेरै हुँदा सबैले सहज उपचार पाउन सकेका छैनन्। तीन जना चिकित्सकको भरमा सातवटा मेसिनबाट सेवा सञ्चालन भइरहेको छ। अस्पतालका वरिष्ठ चिकित्सक कुलदिप पण्डीतले भने, ‘यहाँ प्रत्येक शै्यामा एउटा चिकित्सकको आवश्यकता छ। तर तीन जनाले नै पूरै वार्ड सम्हाल्नुपरेको छ।’ गम्भीर बिरामीका लागि आईसीयू कक्षमा १० शै्या छन्। सम्बन्धित वार्डका कर्मचारी नहुँदा ८ शै्या मात्रै सञ्चालनमा छन्। ‘आईसीयूमा बिरामीको पूर्ण हेरचाह स्वास्थ्य कर्मचारीले नै गर्नुपर्ने हुन्छ’ आईसीयू वार्डकी मेडिकल अफिसर समिना खातुनले भनिन््, ‘यहाँ कम्तिमा २२ जना नर्सिङ स्टाफ आवश्यक छ। तर हामी ५ जनाले काम चलाइरहेका छौं।’

उनले एक जना बिरामी सिकिस्त हुँदा वार्डका सबै कर्मचारी त्यसतर्फ नै लाग्ने गरेको बताइन्। वार्डमा रहेका एकभन्दा धेरै बिरामीको अवस्था गम्भीर बनेमा उपचारमा समस्या आउने गरेको उनको भनाइ छ। उपचारका लागि आउने कतिपय गम्भीर प्रकृतिका बिरामी बेड नपाएर निजी स्वास्थ्य संस्थामा जाने गरेका छन्। तर बिहान बेलुका छाक टार्न मुस्किल हुने परिवार भने जतिदिन कुर्नुपरे पनि सरकारी अस्पतालमै बस्छन्। –एक सय शै्याका लागि ४५ जना स्थायी चिकित्सकको दरबन्दी छ। प्रथम श्रेणी ११ औं तहमा एउटा पनि कर्मचारी छैनन्। ९ औं र १० औं तहका २४ कर्मचारीको दरबन्दी भए पनि ९ जना मात्र कार्यरत छन्। यस्तै त्यसैगरी ८ औं तहका १२ दरबन्दी भए पनि तीन जना मात्रै कार्यरत कार्यरत रहेको अन्नपूर्णपोष्टमा समाचार छ ।

४५ मध्ये १२ जना मात्रै स्थायी चिकित्सक छन्। अरु दरबन्दी रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ। केही अस्पताल विकास समितिबाट, केही डोर हाजिरीमा र केही करारमा राखिए पनि उनीहरु फेरबदल भइरहन्छन्। संरचना र कर्मचारी नहुँदा स्वास्थ्य सेवा प्रवाहमा कठिननाई उत्पन्न भएको मेसु यादवले गुनासो गरे। ‘पटक–पटक दरबन्दी माग गरेका छौं’ उनले भने, ‘थप नभए पनि हाल भएका शै्या अनुसारका चिकित्सक उपलब्ध भए पनि सेवा प्रवाहमा सहजता आउनेथियो।’

प्रतिक्रिया दिनुहोस्