Logo
|
Saturday 20th April 2024
Logo

epaper

स्तन प्रत्यारोपण: दुर्लभ किसिमको क्यान्सर हुने सम्भावना, चिकित्सकविरुद्ध मुद्दा पर्दै



लिन्जी ब्रोमफील्डले सन् २००५ मा स्तन प्रत्यारोपण गरिन् तर पछि उनलाई प्रत्यारोपणसँग सम्बन्धित क्यान्सर भयो
लिन्जी ब्रोमफील्डले सन् २००५ मा स्तन प्रत्यारोपण गरिन् तर पछि उनलाई प्रत्यारोपणसँग सम्बन्धित क्यान्सर भयो

स्तन प्रत्यारोपणसँग सम्बन्धित एक किसिमको दुर्लभ क्यान्सर देखा परेका महिलाहरूको एउटा समूहले सरोकारवालाविरुद्ध कानुनी सङ्घर्ष थालेका छन्। क्षतिपूर्तिको माग गर्दै उक्त समूहले औषधि कम्पनी र त्यहाँका चिकित्सकविरुद्ध मुद्दा हाल्न लागेका हुन्।

अहिलेसम्म विश्वभरि स्तन प्रत्यारोपणसँग सम्बन्धित एनाप्लाप्टिक लार्ज सेल लिम्फोमा (बीआईए-एएलसीएल) क्यान्सरका पाँच सय ७३ बिरामी भेटिइसकेको पुष्टि भएको छ। तीमध्ये ३३ महिलाको मृत्यु भइसकेको छ।

अहिले भने यूकेमा २० जना महिलाले कानुनी उपचार खोज्न लागेका हुन्। प्लास्टिक सर्जरीकी एक अग्रणी चिकित्सकले महिलाहरूलाई “प्रयोगको विषय” जस्तो रूपमा हेरिएको बताइन्। एउटा उत्पादकले विश्वव्यापी रूपमा प्रत्यारोपणमा देखिएको त्यस्तो समस्या देखाउन आह्वान गरेको छ।

यूकेस्थित चिकित्सा उपकरणको एउटा नियामक निकाय मेडिसिन्स एन्ड हेल्थकेअर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले प्रभावित महिलाहरूको तथ्याङ्क अहिले सङ्कलन गरिरहेको छ।

उक्त निकायले सबै खालका प्रत्यारोपण हेरी २४ हजार प्रत्यारोपणमध्ये एक जनामा त्यस्तो खतरा हुने आकलन गरेको छ। यूकेमा मात्रै प्रत्येक वर्ष दशौँ हजार जनाले स्तन प्रत्यारोपण गर्ने गरेको बताइन्छ। खासगरी त्यस्ता प्रत्यारोपण निजी क्लिनिकमा हुने गर्छन्।

‘अब मर्दैछु भनेर म चिन्तित थिएँ’

प्रत्यारोपणमा प्रयोग हुने इम्प्लान्टका उत्पादकविरुद्ध मुद्दा हाल्न लागेकी एक महिला हुन्, ५० वर्षीया लिन्जी ब्रोमफील्ड। उनले सन् २००५ मा स्तन ठूलो बनाउन गोप्य रूपमा पैसा बुझाइन्। दुई सन्तान भइसकेपछि उनी आफ्नो ब्राको नाप ‘बी’बाट ‘डी’ बनाउन चाहन्थिन्।

उनी त्यसरी स्तन ठूलो बनाएकामा निकै सन्तुष्ट थिइन्। तर त्यसरी स्तनको आकार ठूलो बनाएको १३ वर्षपछि ब्रा लगाउनै नसकिनेगरी बायाँ स्तन सुन्निएको उनले थाहा पाइन्।

एनएजएस अस्पतालमा उपचारका क्रममा उनको स्तनबाट पीपजस्तो पदार्थ बग्यो र पछि उनमा प्रत्यारोपणसँग सम्बन्धित लिम्फोमा क्यान्सर भएको थाहा भयो।

“म धेरै रोएँ। म आक्रोशित भए र मेरो चित्त पनि दुख्यो। मैले त्यो सत्यलाई सुरुमा स्वीकार्नै सकिनँ। म मर्दैछु भनेर साँच्चै चिन्तित भएँ।” “मलाई लाग्छ त्यो क्यान्सर शब्द सुनेपछि ‘के म मर्दैछु? भन्ने लाग्ने रहेछ।”

त्यतिबेलै उनमा गरिएको प्रत्यारोपण हटाइयो र त्यसयता उनी उक्त रोगबाट मुक्त छिन्। यद्यपि अन्य महिलाहरूले त किमोथेरापी र अन्य थप उपचारमा जानुपर्‍यो।

प्रत्यारोपणसम्बन्धी लिम्फोमा भनेको के हो?

यो स्तन क्यान्सरको कुनै एउटा प्रकार नभई रोगसँग लड्ने क्षमतासम्बन्धी प्रणालीको क्यान्सर हो। र, यो दुर्लभ प्रकारको क्यान्सर मानिन्छ।

एमएचआरएका लागि क्यान्सरका बिरामीहरूको अनुगमन गर्ने सल्लाहकार समूहका प्रमुख पनि रहेका प्लास्टिक सर्जन नाइजल मर्सरले भने, “यस्तै खालको प्रत्यारोपण हुन थालेको करिब ३० वर्ष भयो, तर हामीले यस्तो खालको रोग हालसालै मात्र देखेका हौँ। त्यसैले यो साँच्चै नै नयाँ रोगजस्तो देखिएको छ।”

प्राय: क्यान्सरको कोशिका घाउ भएको तन्तुनजिकै र पीपजस्तो पदार्थ प्रत्यारोपण गरिएको ठाउँनजिकै पाइन्छ तर थोरै घटनामा मात्रै तिनीहरू फैलन्छन्।

छिट्टै पत्ता लागे प्रत्यारोपित इम्प्लान्ट हटाएपछि लिम्फोमा निको हुन्छ। स्तन प्रत्यारोपण गरेको तीन देखि १४ वर्षसम्ममा समस्याहरू देखिएका छन्।

यो प्रकृतिको लिम्फोमा क्यान्सर कसरी हुन्छ भन्नेमा चिकित्सकहरू स्पष्ट छैनन्। तर वैज्ञानिकहरू चाहिँ प्रत्यारोपण गरिएको सतहमा हुने सङ्क्रमणका कारण हुन सक्ने ठान्छन्।

के भन्छन् शल्यचिकित्सकहरू?

लिन्जीका शल्यचिकित्सक प्राध्यापक जेम्स फ्रेम उनको अवस्था देखेर चकित भएका थिए। एसेक्सस्थित चेल्मस्फोर्डमा कार्यरत उनले गरेका ३० हजारभन्दा बढी स्तनको शल्यचिकित्सामा उनले त्यस्तो रोग लिन्जीमा मात्र देखेका थिए। उनले विभिन्न खालका स्तन प्रत्यारोपणसँग जोडिएका सम्भावित खतराबारे शल्यचिकित्सकहरूसँग पर्याप्त सूचना नभएको बताए।

“जसले सेवा दिइरहेका छन् उनीहरूसँग यसबारे बलियो जानकारीहरू हुन आवश्यक छ। यसबारे यूकेको अनुसन्धान भयानक छ।”

लिन्जीका शल्यचिकित्सक प्राध्यापक फ्रेम
लिन्जीका शल्यचिकित्सक प्राध्यापक फ्रेम

निजी रूपमा शल्यक्रिया गर्न चाहने बिरामीहरूले निरन्तर रेखदेख पाऊन् भन्ने सुनिश्चित गर्न बीमाको प्याकेजहरू सम्भव बनाइनुपर्ने प्राध्यापक फ्रेम ठान्छन्।

मर्सरले स्तन प्रत्यारोपणबारे थाहा नभएको कुरा धेरै भएको र आफ्ना बिरामीहरूलाई त्यसबारे भन्नु चिकित्सकहरूको नैतिक दायित्व भएको बताए। उनले यूकेमा महिलाहरूलाई “स्तन प्रत्यारोपण जीवनभरिका लागि होइन भनेर राम्ररी सचेत नगराइएको” बताए।

“कुनै पनि प्रत्यारोपणबारे अनभिज्ञता रहेको तर त्यसको अर्थ हामीले पूरै जनसङ्ख्यालाई त्यसबारे पत्ता लगाउन प्रयोग गरिरहेका छौँ भन्ने होइन।”

मर्सर र प्राध्यापक फ्रेम दुवैले विश्वभरिका क्लिनिकहरूबीचको स्तन प्रत्यारोपणसम्बन्धी तथ्याङ्क वितरण गर्न अन्तर्राष्ट्रिय समन्वयका लागि आह्वान गरेका छन्।

महिलाहरूलाई के छ सुझाव?

एमएचआरएले यूकेका अग्रणी शल्यचिकित्सा सङ्गठनहरूलाई जुलाईमा एउटा संयुक्त वक्तव्य जारी गरेको थियो। उक्त विज्ञप्तिमा शल्यचिकित्सकले सौन्दर्यका लागि स्तन प्रत्यारोपण गर्न वा आकार बढाउन चाहने व्यक्तिलाई त्यसको सम्भावित खतराबारे पूर्ण रुपमा सचेत गराउन “आवश्यक” रहेको बताएको थियो। उक्त सङ्गठनले धेरै मानिसहरूले प्रयोग गर्नुअगाडि स्तन प्रत्यारोपणको खतराबारे स्वीकृतिको कठिन प्रक्रिया पार गर्नुपर्ने पनि जनाएको थियो।

टेक्सचर्ड प्रत्यारोपण गरे पछि त्यो हटाउन नपर्ने पनि हुन सक्छ तर केही लक्षण देखिए वा चासो भए महिलाहरूले क्लिनिकमा परामर्श गर्नुपर्छ। प्रत्यारोपित इम्प्लान्ट हटाउने प्रक्रियाले पनि अनावश्यक रूपमा थप जटिलता ल्याउन सक्ने हुन सक्छ।

अब के?

सन् २००५ मा लिन्जीले प्रत्यारोपण गर्दा बीआईए-एएलसीएलबारे यति धेरै जानकारी थिएन। त्यसैले न बिरामी न चिकित्सक नै यसको खतराबारे सचेत थिए। शल्यक्रियाबाट प्रत्यारोपित इम्प्लान्ट हटाएर अहिले आफू ठिक भए पनि लिन्जाले केही महिलाहरू भने भविष्यमा झिक्न नसक्ने हुनसक्ने बताइन्। महिलाहरू शल्यचिकित्सक र उत्पादकविरुद्ध मुद्दा हाल्दैछन्।

उनीहरू प्रत्यारोपणमा भएको खर्च फिर्ता चाहन्छन् र अब फेरि हटाउन चाहिने रकम अनि व्यक्तिगत रूपमा भएको चोट र सम्भावित खर्चको क्षतिपूर्ति चाहन्छन्। मुद्दा हाल्नुअघिको परिपत्र यो महिनामा उनीहरू सम्बन्धित पक्षलाई पठाउँदैछन्।

उनीहरूकी वकिल जहरा नान्जीले भनिन्, “म साँच्चै ठान्छु कि प्रत्यारोपणका उत्पादनकर्ता, निर्माता र विक्रेताले यसबारे जिम्मेवारी लिनुपर्छ।” उत्पादनकर्ता एलेर्गानले उपचारमा आउनेहरूको सुरक्षा प्राथमिकतामा रहेको र उसले सूचना दिने सन्देशमा “स्तन प्रत्यारोपणका उत्पादनहरूको सुरक्षित प्रयोगको विकास र प्रचारका लागि” भनेर लेख्ने जनाएको छ।

“हामी बीआईए-एएलसीएलबारे सचेतना वृद्धि गर्न र थप बुझ्नका लागि कामहरू गर्नेछौँ र त्यसका लागि निरन्तर लगानी पनि गर्छौँ,” कम्पनीले भनेको छ।

प्रतिक्रिया दिनुहोस्