Logo
|
Thursday 28th March 2024
Logo

epaper

कपालको  चाया हटाउने घरेलु उपाय



जाडो महिनामा छालासम्बन्धी समस्या अलि बढी हुन्छ । त्यसमध्ये एक हो, कपालमा चाया पर्नु । तुलनात्मक रूपमा जाडो महिनामा कपालमा बढी चाया पर्ने समस्या हुन्छ । त्यसको कारण स्काल्प सुक्खा हुनु, कपालको जरा सुक्खा हुनु हो ।हामी सबैजसो कामकाजी नै हुन्छाैँ, जसले गर्दा हाम्रो दैनिकी व्यस्त हुन्छ । व्यस्तताका कारण जुनसुकै काम पनि हतारमा गर्छौं । कपाल धुने, नुहाउने जस्ता काम पनि हतार–हतारमै गर्छौं । कपाल धुँदा हतारले राम्ररी पखाल्दैनाैँ । त्यसमाथि जाडो महिनामा बढी चिसो भएकाले स्याम्पु गरिसकेपछि धेरैबेर पखाल्न अल्छी पनि गर्छाै।

चाया पर्न नदिने हो या परेको चाया हटाउन खोज्ने हो भने जतिसुकै हतार भए पनि साबुन वा स्याम्पु राम्ररी पखाल्न अल्छी गर्नु हुँदैन । यति गर्दा पनि कपालमा चाया पर्न कम भएन भने चाया हटाउने केही घरेलु उपाय पनि छन् । यी उपाय अल्छी नगरी अपनाउने हो भने चायाबाट छुटकारा पाउनुका साथै कपाल पनि स्वस्थ र चम्किलो हुन्छ ।

चाया हटाउने घरेलु उपायहरू

– ठूलो दाँत भएको काइँयोको प्रयोग गर्न राम्रो हुन्छ । ठूलो दाँत भएको काइँयोले हरेक साँझ कपाल राम्ररी कोर्ने । यसले गर्दा कपालमा भएका फोहोरमैला जान्छ ।

– तपार्इंले कपाल कोर्ने काइँयो अथवा ब्रस सफा हुन जरुरी छ । कतिपयले काइँयो सफा गर्न ध्यान नदिने गरेको पाइन्छ । काइँयो तथा ब्रस डेटोल पानीमा सफा गरिरहनुपर्छ ।

– समय–समयमा तेलले कपालको जरामा राम्ररी मसाज गर्नुपर्छ, जसले कपालको जरा बलियो बनाउँछ ।

– अदुवाको रसमा मेथीको धुलो फिटेर जरा–जरामा राम्ररी लगाउनुपर्छ । १५ मिनेटजति राखेर राम्ररी पखाल्नुपर्छ । यसले कपाल पनि बाक्लो हुन्छ ।

– मेथीको धुलो, कागती वा दही राखेर फिटी कपालको जरा–जरामा राम्ररी लगाउनुपर्छ र १५ मिनेटजति राखेर पखाल्नुपर्छ । कागती र दही दुवैमा एसिड भएकाले यो दुई चिज एकैपटक कहिल्यै पनि लगाउनु हुँदैन ।

– हप्तामा एकपटक एन्टिडेन्ड्रफ स्याम्पु प्रयोग गर्नुपर्छ । एन्टिडेन्ड्रफ स्याम्पु कडा हुन्छ । धेरै प्रयोग गर्दा अलि बढी सुक्खा हुने हुँदा हप्तामा एकपटक मात्र यसको प्रयोग गर्नुपर्छ । एन्टिडेन्ड्रफ स्याम्पुको प्रयोग गरिसकेपछि अनिवार्य रूपमा कन्डिसनरको प्रयोग गर्नुपर्छ ।

– यसरी कपालको ख्याल गर्नुभयो भने तपार्इंको कपालको चाया हट्नुका साथै सुन्दर र स्वस्थ कपाल हुन्छ । यसका लागि केवल जाँगरको आवश्यकता पर्छ ।  (कमला श्रेष्ठ वरिष्ठ ब्युटिसियन हुन् । )

प्रतिक्रिया दिनुहोस्