Logo
|
Friday 19th April 2024
Logo

epaper

औषधि आफैं किनेर खाऊ भन्दै बाहिर निकाले

राजनीतिक दलका नेता, सांसद, कर्मचारी र डाक्टरका आफन्तबाहेक अरु विपन्न र ज्येष्ठ नागरिकले बिरलै पाउँछन् औषधि



बुटवल : अर्घाखाँचीका ८१ बर्से नित्यानन्द पाण्डे मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टको कार्यकक्षमा गुनासो गरिरहेका थिए। अस्पतालमा ज्येष्ठ नागरिक र विपन्नका लागि निःशुल्क औषधि पाइन्छ। तर उनले लगातार चार दिन धाउँदा समेत औषधि पाएका थिएनन्।

‘शुक्रबार आएँ पाइनँ, आइतबार र सोमबार पनि छैन भनेर फर्काए,’ उनले गुनासो गरे, ‘मंगलबार त औषधि आफैं किनेर खाऊ भन्दै बाहिर निकाले।’ उनले अस्पतालबाट औषधि नपाएको यो पहिलो घटना होइन। हाडजोर्नी दुखेर परीक्षणका लागि आएका पाण्डेले यही गुनासो प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग पनि गरेका थिए। तर न औषधि नै पाए न त अस्पतालका कर्मचारीबाट ज्येष्ठ नागरिकप्रतिको सम्मान नै।

लुम्बिनी प्रादेशिक अस्पतालमा यी घटना सामान्य जस्तै भएका छन्। राजनीतिक दलका नेता, सांसद, कर्मचारी र डाक्टरका आफन्तबाहेक अरु विपन्न र ज्येष्ठ नागरिकले बिरलै औषधि पाउँछन्। अस्पतालले गत वर्ष मात्र ४५ लाखको औषधि ज्येष्ठ नागरिक र विपन्न समुदायका बिरामीलाई दिनका लागि खरिद गरेको थियो।

स्टोर शाखाका एक कर्मचारीका अनुसार त्यो औषधि कर्मचारीहरूले चलाएका मेडिकलमा लैजानुका साथै आसेपासेलाई दिएर नै सकिएको छ। केही औषधि म्याद गुज्रिएर थन्क्याइएको छ। केही वर्षदेखि लाखौंको औषधि म्याद गुजारेर फाल्ने गरिएको छ।

अस्पतालका स्टोर अधिकृत खेमराज भुसालले म्याद गुज्रिने औषधि नगन्य रहेको दाबी गरे। ‘यति ठूलो स्टोरमा केही औषधिको म्याद सकिनु सामान्य हो,’ उनले भने। अस्पतालमा गत वर्ष पनि २५ प्रकारका औषधि म्याद सकिएर फालिएको थियो। उच्च रक्तचापलगायत विभिन्न रोगका औषधि वितरण नगरी फालिएको थियो। भुसाल भने बिरामीले औषधिको स्वाद मन नपराएकाले औषधि खपत नभएको दाबी गर्छन्।

अस्पतालले अत्यधिक महँगोमा किनेका औषधि भने स्थानीय ब्रान्डका छन्। ‘भारतीय कम्पनीका औषधि ल्याउने भन्दै ठेक्का लिन्छन् अनि यहीँ उत्पादित औषधि ल्याइदिन्छन्,’ स्टोरका एक कर्मचारी भन्छन्, ‘डाक्टरले यहाँ भएका औषधिको नामै लेखिँदैनन्, म्याद सकिएर त्यत्तिकै फाल्नुपर्छ।’यो समाचार अन्नपूर्णपोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्