Logo
|
Thursday 18th April 2024
Logo

epaper

सुत्केरीलाई दिनुपर्ने रकम नगरपालिकाबाटै गायब



बाजुरा : संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ। १८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ।

आर्थिक वर्ष २०७५\७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराएवापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको हो।

दुर्गम पहाडी क्षेत्रका महिलाले संस्थागत सुत्केरी गराएवापत पाउने तीन हजार रूपैयाँ र नियमति चारपटक गर्भ जाँचवापतको २०० रूपैयाँका दरले ८०० गरी तीन हजार ८०० सहित न्यानो झोला पाउने व्यवस्था गरिएको थियो।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा १३६, पाण्डुसैन स्वास्थ्यचौकीमा ३४ र बाँधु स्वास्थ्यचौकीमा १८ ले भत्ता नपाएका हुन्।  रकम नगरपालिकामा आइसके पनि स्वास्थ्य संयोजकसहितको टोलीले खबर नगरेको सम्बन्धित स्वास्थ्यचौकीले आरोप लगाएका छन्।

स्वास्थ्य संयोजककै लापरवाहीले  भत्ता नपाइएको अधिकांशको गुनासो छ। संयोजक जसी लुहारले भने सबैलाई पुग्ने गरी रकम नआएकाले आधा पैसा नबाँडेको बताए। कतिलाई सो भत्ता दिन बाँकी छ भन्दा उहाँले नै अपुग संख्याबारे जानकारी नभएको जानकारी दिए।

संयोजक लुहारले १३ लाख ५० हजार रूपैयाँ मात्र आएको बताए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझ्दा भने रकम त्योभन्दा थप १५ लाख रूपैयाँ नगरपालिकामा पठाएको जनाएको छ। मन्त्रालयका योजना शाखा प्रमुख सूर्य खड्काले भने तीनपटक गरी २८ लाख ५० हजार रूपैयाँ नगरपालिकामा पठाइएको जानकारी दिए।

नगरपालिकाका पदाधिकारी तथा स्वास्थ्य संयोजकले भने यसबारे कुनै जवाफ दिएनन् । प्रदेशको सम्बन्धित मन्त्रालयले असारमै उक्त भत्ता कम भए माग गर्न स्थानीय तहलाई सूचित गरेकामा कसैले पनि माग नगरेको बताइएको छ।

नगरपालिका उपप्रमुख सृष्टि रेग्मीले पनि आफूलाई थप पैसा आएकोबारे जानकारी नभएको र संयोजकले पैसा अपुग भएर नदिएको भन्ने मात्र खबर गरेको बताउनुभयो । नगरपालिका निमित्त प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले आफूहरुलाई पैसा अपुग रहेको जानकारी मात्र गराइएको थप पैसा आए नआएको थाहा नभएको जानकारी दिए।रासस

प्रतिक्रिया दिनुहोस्