Logo
|
Friday 29th March 2024
Logo

epaper

 डोल्पामा औषधि अभाव



डोल्पा : माथिल्लो डोल्पाका स्वास्थ्य चौकीमा औषधि अभाव छ। स्वास्थ्य चौकीमा औषधि नहुँदा बिरामी रित्तो हात फर्किन बाध्य छन्। शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ, भिजेर, फोक्सुण्डो स्वास्थ्य चौकी, डोल्पोबुद्ध गाउँपालिकाको धो, तराप र तिन्जे स्वास्थ्य चौकी र छार्काताङसोङ गाउँपालिकाको मुकोट र छार्का स्वास्थ्य चौकीमा औषधि छैनन्।

यी स्वास्थ्य चौकीमा सिटामोल समेत नभएको भिजेर स्वास्थ्य चौकीकी स्टाप नर्स टासीबुटी लामाले जानकारी दिइन्। ‘स्थानीय सरकारले औषधि दिएको छैन, रित्ता स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीमात्रै बसेर के गर्नु ? ’ उनले भनिन्, ‘बिरामी रित्तै फर्कन्छन्, हामी गफ गर्दै बस्नुको विकल्प छैन।’

शे–फोक्सुण्डो गाउँपालिका स्वास्थ्य प्रमुख रनबहादुर बुढाले अघिल्लो आर्थिक वर्षको बजेटबाट औषधि खरिद गरिएको जानकारी दिँदै स्वास्थ्य चौकीलाई वितरण गर्ने तयारी भएको बताए।

अधिकांश स्वास्थ्य चौकीले गैरसरकारी संस्थाले उपलब्ध गराएको औषधि बिरामीलाई वितरण गरिरहेको स्थानीय पेमा ङोईजोर गुरुङले बताए। स्वास्थ्य जस्तो महत्त्वपूर्ण क्षेत्रमा स्थानीय सरकारले ध्यान नदिएपछि बिरामीले समस्या भोग्नुपरेको स्थानीय आङमुक्याल्जेन गुरुङले दुखेसो गरिन्।

उनले भनिन्, ‘गाउँका महिला विभिन्न रोगले ग्रसित छन्, उपचारका लागि बाहिर जाने पैसा हुँदैन, स्थानीय स्वास्थ्य चौकीमा औषधि पाईंदैन।’

औषधि खरिदको जिम्मा स्थानीय सरकारलाई भएकाले स्थास्थ्य चौकीको माग अनुसार औषधि ब्यवस्थापन गर्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका स्टोरकिपर देबबहादुर बिसीले बताए। यता छार्का ताङसोङ गाउँपालिका स्वास्थ्य प्रमुख खड्गबहादुर बुढाले औषधि खरिद भइसकेकोले खोप र औषधिसँगै स्वास्थ्य चौकीलाई वितरण गर्ने तयारी भइरहेको बताए। आजको अन्नपूर्णपोष्टमा टेकबहादुर शाहीले लेखेको छन् ।

प्रतिक्रिया दिनुहोस्