Logo
|
Thursday 28th March 2024
Logo

epaper

गर्भपतनका औषधि जथाभावी बिक्री



उदयपुर — सरकारले नयाँ रणनीति बनाएर शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतन (मेडिकल एबर्सन) को गलत प्रयोग रोक्न खोजेको थियो । तर ग्रामीण क्षेत्रमा गर्भपतनका औषधिको बिक्री अनियन्त्रित बनेको छ ।

मुलुक संघीयतामा गएसँगै स्वास्थ्य सबै अधिकार स्थानीय तहलाई छ । औषधि/स्वास्थ्य संस्था दर्ता, दर्ता खारेजी, नवीकरण, नियन्त्रण र कारबाही प्रदेश र स्थानीय तहले गर्ने भनिएको छ । तर, प्रदेश र स्थानीय सरकारले नियमन तथा नियन्त्रण गर्न नसक्दा उदयपुरका बजारमा खुलेका औषधि पसलले गर्भपतनका औषधिको खुला बिक्री–वितरण गरिरहेका छन् ।

सूचीकृत स्वास्थ्य संस्थाले तालिम प्राप्त चिकित्सकको स्वीकृतिमा मात्रै गर्भपतनका औषधि बिक्री–वितरण तथा गर्भपतन गराउन पाउने नियम छ । ग्रामीण क्षेत्रमा अहेवा र अनमीले समेत मेडिकल एबर्सन गर्ने गरेको स्थानीय बताउँछन् । त्यसमा पनि सरकारले स्वीकृत गरेको औषधि मात्रै बिक्रीगर्न पाइन्छ ।

तर, उदयपुरका बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिकाको मुख्य बजार क्षेत्रमा अधिकांश औषधि पसलले खुलेयाम गर्भपतनका औषधि बिक्री–वितरण गरिरहेका छन् । कटारी नगरपालिको कटारी बजार क्षेत्रका ९० प्रतिशत औषधि पसलले जथाभवी गर्भपतका औषधि बिक्री गरिरहेका छन् ।

त्यसैगरी गाईघाट, बेल्टार र रामपुर बजारसँगै ग्रामीण क्षेत्रका दजनौं बजारमा गर्भपतका औषधि अन्य सामान्य औषधि जस्तै बिक्री भइरहेको स्थानीयले बताए । भारतीय बजारबाट अवैध आयत गरिएका मेडावन, वान वानटेड, प्रिनेट (२/३ किसिमका), मेजायपोस्ट, आइपिल, एमटिपी, प्रिमेन्टोजस्ता औषधि पसलमा सजाएर राखिएका छन् ।

विशेषगरेर कटारी, बेल्टार, मुर्कुची र रामपुर क्षेत्रका बजारमा यी औषधि बिक्री भइरहेका छन् । यीमध्ये मेडावन नेपाल सरकराले मान्यत दिएको औषधि हो । मेडिकल एबर्सनका औषधिको गलत प्रयोगबाट महिलाको ज्यान जोखिममा परेको छ । युवायुवतीले यस्ता औषधि परिवार नियोजनका साधनका रूपमा प्रयोग गरिरहेका छन् । मेडिकल एबर्सनले महिलामा जोखिम बढाइरहेको छ ।

त्यसैले ३ वर्षअघि नै स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले यस्ता औषधिको नियमन तथा व्यवस्थापन गर्न नयाँ रणनीति योजना आवश्यक ठाने पनि स्थानीय तहका कार्यान्वयन नहुँदा समस्या बढ्दै गएको हो ।

औषधिको लापरबाहीपूर्ण प्रयोगबाट गर्भपतनपछि देखिने जटिलता (पोस्ट एबर्सन केयर अर्थात् ‘प्याक’) का समस्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एबर्सन गर्ने महिला र वितरकलाई औषधिको प्रयोगबारे ज्ञान नहुँदा गर्भपतनसम्बन्धी जोखिम उच्च रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

औषधि प्रयोगलाई व्यवस्थित र जोखिमलाई कम गराउन नयाँ रणनीति बनाउने भने पनि अहिलेसम्म त्यस्तो केही नआएको चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले बताए
।आजको कान्तिपुरदैनिकमा डिल्लीराम खतिवडाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्