Logo
|
Friday 29th March 2024
Logo

epaper

डेंगु रोग नियन्त्रण गर्न असफल भएको भन्दै सत्तापक्ष तथा विपक्षी दलका सांसदले सरकारको आलोचना

डेंगु नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने भन्दै संसद्मा सत्तापक्ष र प्रतिपक्षी दल एक ठाउँमा उभिए



डेंगु रोग नियन्त्रण गर्न असफल भएको भन्दै सत्तापक्ष तथा विपक्षी दलका सांसदले सरकारको आलोचना गरेका छन् । डेंगु नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने भन्दै संसद्मा सत्तापक्ष र प्रतिपक्षी दल एक ठाउँमा उभिएका हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य र विशेष समयमा सांसदहरूले जनसरोकार तथा अहिलेको जल्दोबल्दो समस्याबारे सरकारको ध्यानाकर्षण गराए । डेंगु रोगले मुलुक संक्रमित भइरहेको र संक्रमितमध्ये अधिकांश महँगा निजी अस्पतालमा जान बाध्य भएकोप्रति सत्तारुढ दल नेकपाकै सांसदले सरकारमाथि प्रश्न गरेका छन् ।

नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले हालसम्म देशभर २५ सय ५९ जना डेंगुबाट संक्रमित रहेको भन्दै यसप्रति सरकार गम्भीर बन्न नसकेको औल्याए । ‘डेंगु रोगको प्रकोपबाट आज सिंगो मुलुक प्रभावित भइरहेको छ ।

सरकार के गरिरहेको छ ? म सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखा टेकुका अनुसार प्रदेश नम्बर १ मा ७५३, प्रदेश नम्बर २ मा २३, ३ नम्बर प्रदेशमा एक हजार ९३, गण्डकी प्रदेशमा ५७२, प्रदेश नम्बर ५ मा १०४, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा १२ गरी मुलुकभर २५ सय ५९ जनामा डेंगु संक्रमण देखिएको सांसद श्रेष्ठले बताए ।

प्रमुख विपक्षी दल कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले डेंगु रोग नियन्त्रणबारे सरकारले आफ्नो कार्यविधि संसद्लाई जानकारी गराउनुपर्ने बताइन् । ‘सरकारले डेंगु नियन्त्रण गर्न भेक्टर कन्ट्रोल नियन्त्रक भन्ने पद नराखेको भए त्यहाँको जनशक्ति गाउँमा गएर केही गर्नसक्थ्यो कि । स्वास्थ्य मन्त्रालयले यो दरबन्दी नै खारेज गरेको छ । स्वास्थ्य मन्त्रालय केही गर्न सक्दैनौँ भन्छ,’ उनले भनिन् ।

कांग्रेस सांसद डा.डिला संग्रौला पन्तले डेंगु नियन्त्रणमा सरकार प्रभावकारी रूपमा लाग्न नसकेकाले भयावह रूपमा यो रोग फैलिरहेको बताइन् । ‘स्वास्थ्यमन्त्रीले डेंगुको नियन्त्रण गर्न सेना परिचालन गर्ने हो कि भन्ने भनाइ आउँछ । अर्कोतर्फ औलोको प्रकोप नियन्त्रण गर्न बैठक बस्ने भन्ने सुनिन्छ,’ उनले भनिन् ।

 एसिड हान्नेलाई मृत्युदण्डको  सजाय दिनुपर्छ : सांसद
एसिड आक्रमण गर्नेमाथि मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्नेमा केही सांसद एक मत देखिएका छन् । भएको कानुन संशोधन गरी एसिड आक्रमणकारीलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा उनीहरूको जोड छ । वीरगन्जमा विद्यालय हिँडिरहेकी १५ वर्षीया बालिका मुस्कान खातुनमाथि एसिड प्रहार भएको घटनाप्रति निन्दा व्यक्त गर्दै सत्तारुढ दल तथा विपक्षी दलका सांसदहरूले उनको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्नुपर्ने र दोषीमाथि कानुन संशोधन गरेरै भए  पनि हदैसम्मको सजाय दिनुपर्ने बताए ।

डेंगु रोगको प्रकोपबाट आज सिंगो मुलुक प्रभावित भइरहेको छ । सरकार के गरिरहेको छ ? म सरकारको ध्यानाकर्षण गराउँछु । कृष्णगोपाल श्रेष्ठ सांसद, नेकपा

संसद् बैठकको प्रारम्भमै नेकपाकी सांसद जुलीकुमारी महतोले बालिका खातुनमाथि दुई युवकले एसिड प्रहार गरेको, बालिकाको अवस्था नाजुक रहेको भन्दै प्रदेश नम्बर २ मा छोरीमाथि एसिड आक्रमणको घटना बढिरहेको भन्दै चिन्ता व्यक्त गरिन् । ‘प्रदेश नम्बर २ सरकारले बेटी पढाउ, बेटी जोगाउ अभियानलाई जोडतोडले लागू गरेको छ । बेटी नै बाँचेनन् भने पढाउ र जोगाउ अभियानको औचित्य हुने छैन,’ उनले भनिन् ।

नेकपाकै सांसद पुष्पाकुमारी कर्ण कायस्तले एसिड आक्रमण गर्नेलाई मृत्युदण्डको सजाय दिनुपर्ने बताइन् । ‘कहिलेसम्म बालबालिकाले असुरक्षित जीवनयापन गर्न बाध्य हुने ? कानुन संशोधन गरेर भए पनि यस्ता अपराधीलाई मृत्युदण्डको सजाय दिनुपर्छ,’ उनले भनिन् । समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले मुस्कान खातुनको एसिड आक्रमणकारीलाई कानुन संशोधन गरेर मृत्युदण्ड दिनुपर्ने वा जन्मकैद गर्नुपर्ने बताए । कांग्रेस सांसद उमा रेग्मीले भनिन्, ‘मुलुकमा दण्डहीनता बढेको छ । सरकार संवेदनशील भएन । मृत्युदण्डको सजाय हुने कानुन किन ल्याउँदैन ?’

कांग्रेस सांसदले भने–किरियापुत्रीको अगाडि राष्ट्रिय गान बजाउनु अशोभनीय
सरकारले हाल पशुपति क्षेत्रमा साँझपख हुने आरतीमा राष्ट्रिय गान बजाउने निर्णय गरेको छ । त्यस्तै, सिनेमा हलहरूमा समेत सिनेमा प्रारम्भ हुनुअघि राष्ट्रिय गान बजाउन भनेको छ । प्रमुख विपक्षी दल कांग्रेसका सांसद भीमसेनदास प्रधानले संसद्मा सरकारको यो कदमको विरोध गरेका छन् ।

‘पशुपतिमा आरती मात्र हुन्न । आर्यघाटमा मलामी पनि गएका हुन्छन् । राष्ट्रिय गान बज्दा किरियापुत्री उठ्ने कि नउठ्ने ? सिनेमा हलमा पनि राष्ट्रिय गान बजाउनुपर्ने भनेको छ । सरकारको यस्तो काम पञ्चायतकालको पुनरावृत्ति भयो । राष्ट्रिय गानको सम्मान भएन,’ उनले भने । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्