Logo
|
Saturday 21st September 2019
NEWS PAPER

डेंगु प्रकोप : ‘फगिङ’ होइन, ‘सर्च एन्ड डेस्ट्रोय’



वैशाखयता फैलिएको डेंगु नियन्त्रणमा प्रभावकारी उपाय अपनाउन नसक्दा यसले प्रकोपको रूप लिएको छ । राजधानी काठमाडौंलगायत ४८ जिल्लामा यसको संक्रमण देखिएको छ ।
विशेषज्ञहरूका अनुसार लामखुट्टेका अन्डा, प्युपा र लार्भा खोजेर नष्ट गर्ने (सर्च एन्ड डेस्ट्रोय) विधि अपनाउनुको साटो लामखुट्टे मार्न औषधि छर्कने (फगिङ) उपाय अपनाइँदा डेंगु नियन्त्रण हुन नसकेको हो ।

स्वास्थ्यसम्बन्धी अधिकार स्थानीय सरकारमा रहेकाले केन्द्रीय सरकारबाट सावधानी अपनाउनका लागि अपिल र प्राविधिक सहयोग गर्नेबाहेक कुनै अभियान चलाइएको छैन । स्थानीय तहले फगिङ मेसिन प्रयोग गरिरहेका छन् । जसलाई विशेषज्ञहरू अनावश्यक भन्छन् । कतिपय मुलुकमा यसरी लामखुट्टे नष्ट गर्न प्रतिबन्ध लगाइएको छ ।

‘फगिङ डेंगु नियन्त्रणमा प्रभावकारी हुँदैन,’ स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले भनिन्, ‘स्थानीय सरकार सर्च एन्ड डेस्ट्रोय अभियानमा नजाँदा डेंगु नियन्त्रण हुन नसकेको हो ।’विशेषज्ञहरूले रोग फैलाउने लामखुट्टे खोजेर मास्ने अभियानलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले लामखुट्टेको प्रजनन प्रक्रिया पूरा हुन नदिनका लागि पानी राख्ने भाँडा छोप्ने, घर वरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने उपाय अपनाउनुपर्ने बताएका छन् ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. प्रकाश शाहले धरानमा व्यापक फगिङ गरिए पनि डेंगु फैलाउने लामखुट्टेको संख्या नघटेको बताए । ‘धरानमा लामखुट्टेको बासस्थान खोजेर मास्ने क्रम बढाएपछि प्रकोपमा कमी आयो,’ उनले भने । सरोकारवाला, आमजनसमुदाय सबै मिलेर लामखुट्टेले फुल पार्न सक्ने सबै स्थान खोजेर नष्ट गर्नुको विकल्प नरहेको उनी बताउँछन् ।

डा. शाहका अनुसार फगिङले घरबाहिर रहेका र त्यसमा समेत फुल र लार्भा नभई लामखुट्टे मात्र मर्ने भएकाले प्रभावकारी हुँदैन । ‘एउटा मात्र संक्रमित लामखुट्टे बाँच्यो भने त्यसले एक वर्षमा रोग सार्न सक्ने करोडौं लामखुट्टे उत्पादन गर्न सक्छ,’ उनले भने । उनका अनुसार एक संक्रमित लामखुट्टेले आफ्नो अधिकतम ३० दिनको जीवनकालमा ५ सयदेखि एक हजार संक्रमित फुल पार्छ । यी सबै फुल लामखुट्टेमा परिणत भए महिनामै रोग सार्ने लाखौं लामखुट्टे उत्पादन हुन्छन् । डेंगुको बढ्दो विस्तार नियन्त्रण गर्न सरोकारवाला सबै निकाय र नागरिक समाजले समन्वय गर्नुपर्ने उनले बताए ।

काठमाडौं, पोखरा, धरानजस्ता ठूला सहरमा डेंगु नियन्त्रण गर्नु सजिलो नरहेको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताए । ‘यहाँ गमला, फ्रिज, खाल्डाखुल्डी, टायर, प्लास्टिकका बोतल–बट्टा, टुक्राटाक्री बढी हुन्छन् । पानीको नियमित आपूर्ति नहुँदा जम्मा गरेर राख्ने चलन पनि छ । यसले लामखुट्टे फैलिन सहयोग गरेको छ,’ उनले भने ।

स्वास्थ्य सचिव चौधरीले डेंगु नियन्त्रण प्रक्रियामा स्वास्थ्य मन्त्रालयभन्दा पनि प्रादेशिक र स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने दाबी गरिन् । ‘स्वास्थ्य मन्त्रालयको भूमिका रोग नियन्त्रणको उपाय सम्झाउनु मात्र हो,’ उनले भनिन् ।

राजधानी काठमाडौंका स्थानीय तहका पदाधिकारी डेंगु नियन्त्रणमा खासै संवेदनशील नरहेको आरोप स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘गत भदौ १२ गते स्वास्थ्य मन्त्रालयमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा डेंगु नियन्त्रणबारे छलफल गर्न राजधानीका स्थानीय तहका पदाधिकारीलाई बोलाइएको थियो । तर उहाँहरू आउनुभएन ।’

स्वास्थ्य सचिव चौधरीका अनुसार डेंगुका करिब ९३ प्रतिशत बिरामीलाई सामान्य ज्वरोको उपचारसँगै आराम गरे पुग्छ । ‘तैपनि स्वास्थ्य मन्त्रालयले डेंगु उपचारका लागि टेकुलगायतका अस्पतालमा सेवा प्रवाह बढाउँदै लगेको छ,’ उनले भनिन् ।

एडिस एजिप्टाइ र एल्बोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ । इपिडिमोयोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मुलुकमा ७ हजार ३ सय २५ जना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन् । निजी स्वास्थ्य संस्थामा समेत उपचार गराएकाले संक्रमितको संख्या ७० हजार नाघिसकेको विशेषज्ञहरूले अनुमान गरेका छन् ।

सरकारी तथ्यांकअनुसार सन् २०१० मा ५ जना, २०१५ मा १ जना, २०१६ मा २ जना र २०१७ एवं २०१८ मा तीन–तीन जना गरी डेंगुले १४ जनाको मृत्यु भएको थियो । यो वर्ष सन् २०१९ मा डेंगुले ६ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।

डेंगुको पहिलो रिपोर्टेड केस नेपालमा सन् २००४ मा चितवनमा एक विदेशीमा देखिएको थियो । यो संक्रमणको पहिलो प्रकोप सन् २००६ मा चितवनमै देखिएको थियो ।

डेंगु नियन्त्रण विधि

रोग फैलाउने लामखुट्टे खोजेर मास्ने

पानी राख्ने भाँडा छोप्ने, घर वरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने
कान्तिपुरदैनिकबाट
NH
Health News
प्रतिक्रिया दिनुहोस्