Logo
|
Tuesday 22nd October 2019
NEWS PAPER

ग्याँष्ट्रिक एक, खतरा अनेक



पेटसम्बन्धि रोग धेरै व्यक्तिमा देखिने समस्या हो । पेटसम्बन्धि रोगहरुमध्ये ग्याँष्ट्रिकको समस्या लिएर आउनेहरुको संख्या अत्यधिक पाइन्छ । यसरी पेटभित्र र पेट बाहिरका रोगले ग्याँष्ट्रिकको लक्षण देखिन्छ । सर्वप्रथम ग्याँष्ट्रिक हुनुको कारण पत्ता लगाउन जरुरी हुन्छ । ग्याँष्ट्रिकलाई सामान्य ठानेर ग्याँष्ट्रिकको झोल वा ट्याब्लेट औषधि सेवन गर्न हुँदैन । ग्याँष्ट्रिक हुने एकिन कारण छुट्याएर मात्र औषधोपचार गर्नुपर्छ ।

सामान्य ग्याँष्ट्रिकका लक्षण
– खानामा रुची नहुने
– पेटमा असुविधा
– पेट दुख्ने, पोल्ने, फूल्ने, डकार आउने
– अपचको समस्या
– पेटमा गडबडी
– कब्जियत
– पटक पटक दिसा लागिरहने आदि ।
यस्ता लक्षणको पछाडि पेटमा धेरै प्रकारका रोग भएको बुझ्न जरुरी हुन्छ । यसरी लक्षणको आधारमा समस्याको प्रकृति छुट्याएर उपचार गर्नुपर्छ ।
पेटमा समस्याको कारक
ओभर इटिङ
यो खानपान नमिलेर हुने समस्या हो । यस्तो अवस्थामा धेरैजसो ग्याँस्ट्रिक हुने गरेको पाइन्छ । आफ्नो क्षमताभन्दा बढी खाने (ओभर इटिङ) कारण पेट ढुस्सिने, दुख्ने, वाकवाक लाग्ने, झाडापखालाजस्ता समस्या देखिनसक्छ । त्यसैले आफ्नो शरीरले पचाउन सक्ने मात्र खाना खानुपर्छ ।
खानाको एलर्जी
कतिपयमा दुध तथा दुधबाट बनेका पदार्थहरु (डेरी प्रोडक्ट) पच्दैन । यस्ता पदार्थ खाएपछि पेट गुडगुड हुने, पेटभित्र ग्याँस नाच्ने, ग्याँस बन्ने र कहिलेकाँही झाडापखाला पनि लाग्ने गर्छ । यसलाई डेरि प्रोडक्ट अर्थात ल्याक्टोज इनटोलोरेन्स भनिन्छ ।
गहुँको खाना
गहुँको रोटी राम्रो मानिएपनि कसैकसैलाई पच्दैन । यसलाई ग्लुट एण्ड कन्टेनिङ डाइट भनिन्छ । गहुँ, जौ वर्गका खाना खाएपछि पेट गुडगुड गर्ने, झाडापखाला लाग्ने, पेट फूल्ने जस्ता अपचजस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा ग्लुट एण्ड फ्री डाइट सेवन नगर्न सल्लाह दिइन्छ । विदेशतिर ग्लुट एण्ड फ्री डाइट भनेर किन्न पाइन्छ ।
इन्फेक्सन
हाइजिन मेन्टेन नगरेको प्रदुषित खाना खाएमा पेटमा इन्फेक्सन भई समस्या देखिनसक्छ प्रदूषित खानामा किटाणुले चाँडै टक्सिन बनाउँछ । यस्तो खाना खाएमा झाडापखाला लाग्ने, बान्ता हुने जस्ता समस्या देखिन्छन् । यसलाई एक्युट ग्याँस्ट्रोइन्टेराइटिस भनिन्छ ।
रियल ग्याँस्ट्रिकको समस्या
नाइटोभन्दा माथि पेट पोल्ने, पेट दुःख्ने मुख्य ग्याँस्ष्ट्रिकको समस्या हो । यस प्रकारको समस्या कसैलाई खाना खाएपछि हुन्छ भने कसैलाई राति भोकै पेटमा हुन्छ । यो खालको ग्याँष्ट्रिक पेट, आमाशयसँग सम्बन्धित हुन्छ । मुख्य ग्याँष्ट्रिकको समस्या ३ वटा कारणले हुने गर्छ ।
एच.पाइलोरी किटाणुको संक्रमण
खानाको माध्यमबाट एच.पाइलोरी व्याक्टेरिया पेटमा प्रवेश गर्छ र कोलोनी बनाएर आमाशयभित्र बसिदिन्छ । यस्तो अवस्थामा आमाशय सुन्निने, अल्सर घाउ हुने र घाउका कारण ब्लिडिङ भएर रगत उल्टी गर्ने, दिशा कालो हुने जस्ता लक्षण देखिन्छन् । कहिलेहाँही एक्कासी पेट पोल्ने र दुःख्ने समस्याले आकस्मिक कक्षमा भर्ना भएको पनि पाइन्छ । एचपाइलोरी ब्याक्टेरियाका कारण ९० प्रतिशत अल्सर हुने गरेको छ । त्यसैले औषधोपचार गरेर एचपाइलोरी व्याक्टेरिया मार्नुपर्छ ।
औषधि सेवनले हुने ग्याँस्ट्राइटिस
पेन किलरलगायतका दुःखाइ कम गर्ने औषधिहरुको सेवनले शरीरलाई निकै नोक्सान पुर्याएको हुन्छ । एकातिर यसले ग्याँस्ट्रिक अल्सर गराउनसक्छ भने अर्कोतिर मिर्गौलालाई समेत नोक्सान पुर्याउनसक्छ । यस्ता औषधिप्रति ध्यान नदिएमा आन्द्राहरुमा घाउ बन्नसक्ने डर हुन्छ ।
स्ट्रेस (तनाव)
तपाईंलाई कुनै प्रकारको तनाव भएमा बेचैन, पेट पोल्ने र दुख्ने, राति निद्रा नपर्ने जस्ता समस्या देखिन सक्छन् । मानसिक विचलन एवं डिप्रेसनमा अल्सरको लक्षण देखिन्छ । तर जाँच गर्दा अल्सर हुँदैन । यसलाई नन अल्सर डिस्पेप्सिया अर्थात फङ्गसनल डिस्पेप्सिया भनिन्छ ।
स्ट्रेस अल्सर कसलाई हुन्छ ?
आईसियूमा भर्ना भएका सिकिस्त बिरामीहरुमा स्ट्रेस अल्सर हुनसक्छ । खासगरी शरीर जलेका, सडक दुर्घटनामा शरीरका विभिन्न भागमा चोट लागेका र कडा खालको इन्फेक्सन भएर आईसियूमा भर्ना भएका बिरामीहरुमा पेटमा घाउ हुनसक्छ । यसलाई स्ट्रेस अल्सर भनिन्छ ।
यसरी एउटा वर्गमा उल्लेखित कारणले ग्याँष्ट्रिकको लक्षण देखिन्छ भने अर्को वर्गमा पेटभित्र आमाशयभन्दा बाहिरी भाग कलेजो, पित्तथैली, खाना पचाउने प्याँक्रियाटिक ग्रन्थी अर्थात प्याँक्रियाजमा भएका रोग र पेट आसपास रहेका महत्वपूर्ण अंगका रोगले ग्याँष्ट्रिक हुनेगर्छ ।
कलेजो सुन्निएर हुने ग्याँष्ट्रिक
कलेजो सुन्निएको अवस्थामा जन्डिसको समस्या, खाना रुची नहुने, उल्टी हुने, वाक वाक लाग्ने, कमजोर महसुस हुने, हल्का ज्वरो आएजस्तो लाग्ने, आँखा र पिसाब पहेँलो हुने, शरीर चिलाउने जस्ता समस्या देखिन्छन् । यस प्रकारको समस्यामा पनि ग्याँष्ट्रिकको लक्षण देखिनसक्छ ।
पित्तथैलीको समस्याले हुने ग्याँष्ट्रिक
पित्तथैलीको पत्थर र पित्तथैली सुन्निने समस्याले पनि ग्याँष्ट्रिकको लक्षण देखाउँछ ।
क्यान्सरले पनि ग्याँष्ट्रिक
पित्तथैली, लिभर, आमाशय, आन्द्रामा भएको क्यान्सरले पनि ग्याँष्ट्रिकको लक्षण देखिनसक्छ ।
प्याँक्रियाटाइटिस रोग
अत्यधिक रक्सी सेवन र विभिन्न संक्रमणले प्याँक्रियाज सुन्निनसक्छ । यस्ता व्यक्तिहरुमा ग्याँष्ट्रिकको लक्षण देखिन्छ ।
बच्चा पाउने उमेरका महिला
गर्भवती भएपछि महिनावारी हुँदैन । यस्तो अवस्थामा तीन महिनासम्म पूर्ण रुपमा ग्याँष्ट्रिकको समस्या हुने गर्छ । यस्तो अवस्थामा वाक वाक लाग्ने, पेट फूल्ने, खाना रुची नहुने, उल्टी हुने जस्ता लक्षण देखिन्छन् ।
मुटुसम्बन्धि रोग
मुटु रोगको शंका गरेर उपचारका लागि अस्पताल आउने ४० प्रतिशतमा ग्याँष्ट्रिकको समस्या हुने गरेको पाइएको छ । यस्तो अवस्थामा अमिलो पानी छातितिर फर्केर पोल्ने, छातितिर असर गरेको जस्तो महसुस हुनसक्छ
निमोनिया
फोक्सोको तलपट्टीको भाग सुन्निएमा ग्याँष्ट्रिकको लक्षण देखिन्छ । यस्ता व्यक्तिहरुलाई खोकी लाग्ने, छाति दुख्ने, सास फेर्न कठिन पर्नेलगायतका समस्या देखिन्छ ।
हृदयघात र ग्याँष्ट्रिक
उमेर पुगेका, मोटा व्यक्ति, मधुमेही, उच्चरक्तचाप, कोलेस्ट्रेरोलका बिरामी, धुम्रपान गर्ने व्यक्तिहरुमा एक्कासी ग्याँष्ट्रिक बढेमा मुटुको समस्याको शंका गर्नुपर्छ ।
कहिलेकाँही मुटुको तल्लो भाग (इन्फेरियर वाल) मा असर गरेर रक्तसञ्चार नहुँदा पेटको तल्लो भाग दुख्छ । यस्ता व्यक्तिको इसिजीलगायत अन्य सपोर्टिभ एभिडेन्सको आधारमा तत्काल मुटु रोग भएनभएको छुट्याउन सकिन्छ । ब्लडका केही स्पेशल टेष्टहरु गरेर पनि रोग पहिचान गरिन्छ ।
लक्षण
हृदयघात भएका व्यक्तिहरुमा छाति छिचेकोजस्तो, छाति भारी भएर आउने, हिँड्दा स्वाँ स्वाँ बढ्ने हुन्छ । कतिलाई आराम गर्दा कम हुन्छ भने कतिलाई हुँदैन । आराम गर्दा निको नभएमा ठूलो हृदयघातको शंका गर्नुपर्छ । पसिना आउने, चिटचिट हुने, छातिको दुखाई कुम च्यापुलगायतका विभिन्न ठाउँमा सर्दै जाने समस्या भएमा तुरुन्त अस्पतालको आकस्मिक कक्षमा पुगेर उपचार शुरु गर्नुपर्छ ।
हृदयघात भएका बिरामीहरुलाई दिइने औषधिले पनि ग्याँष्ट्रिक बढाउँछ । हृदयघात भएका व्यक्तिलाई रगत पातलो बनाउने कोस्प्रिन, कोपिड जस्ता औषधि दिइन्छ । यस्ता औषधिहरुले ब्लिडिङ नै हुनसक्छ । त्यसैले कहिलेकाँही यस्ता औषधि बन्द गराउनुपर्ने अवस्था पनि आउनसक्छ । यस्तो अवस्थामा ब्लिडिङ कम गराएर पुनः मोडिफाइ गरेर औषधि चलाउनुपर्ने हुनसक्छ । तर त्यसको प्याराललमा अल्सर नहोस् भनेर अर्को प्रतिकारात्मक औषधि चलाउनुपर्ने हुनसक्छ ।
ग्याँष्ट्रिक र अल्सरबारे भ्रम
एच.पाइलोरी किटाणु, पेन किलरलगायतका औषधि सेवन र तनावले भएका पेप्टिक अल्सरहरु कहिल्यै पनि क्यान्सरमा परिणत हुँदैनन् । तर अल्सरको रुपमा हुने क्यान्सर छुट्टै प्रकारको हुन्छ । अल्सरको रुपमा हुने क्यान्सर शुरुदेखि नै अल्सर भएर देखापर्छ । यसलाई अल्सरेटेड ग्रोथ भनिन्छ । त्यसैले अल्सर हुनेबित्तिकै क्यान्सर हुँदैन ।
हामीले मेडिकल अध्ययन गर्दाको समय २ दशक अघिमात्र पनि सबैभन्दा धेरै शल्यक्रिया अल्सरका बिरामीको हुने गर्दथ्यो । तर अहिले करिब ९० प्रतिशतभन्दा बढी पेप्टिक अल्सर पूर्णरुपमा औषधिले निको हुन्छ । अहिलेको आधुनिक विज्ञानको माध्यमबाट भविष्यमा पनि नदोहोरिने गरी अल्सर निको पार्न सकिन्छ । यो विधि पत्ता लगाउने अष्ट्रेलियन वैज्ञानिकले नोबेल पुरस्कार समेत पाएका थिए । आजकल अल्सरका बिरामीले धेरै मुख बार्नुपर्दैन । तर धुम्रपान र अल्कोहल सेवन गर्न हुँदैन ।
के हो अल्सर ?
सामान्य खानपिन नमिलेर पेटमा प्रभाव परेर ग्याँष्ट्रिक हुन्छ । ग्याँष्ट्रिकमा आमाशय, ड्युडेनम, वा फूड पाइपको तलपट्टीको भागको पातलो म्युकोसा रातो मात्र हुन्छ । समयमा उपचार नभएमा बेलाबेलामा पोल्ने, पाप्रा उप्किन थाल्छ । यसलाई इरोजन भनिन्छ । यो अवस्थामा धेरै बिरामी उपचारका लागि आउने गर्छन् । यो प्रक्रिया बढ्दै गएमा अल्सर हुन्छ । अल्सर भनेको गहिरो घाउको खाल्टो हो । घाउ भइसकेपछि अल्सरले रगतको नसा छोएमा वा खियाइदिएमा ब्लिडिङ हुने, उल्टी आउने, दिशाबाट कालो रगत जाने गर्छ । नसा छोएमा पेटको माथिपट्टी एकदम दुख्छ ।
पेप्टिक अल्सर औषधिले पूर्ण उपचार हुन्छ । तर क्यान्सरको अल्सर क्यान्सरको पंङ्तीमा उपचार गर्नुपर्छ । बायोप्सी गरी क्यान्सरको प्रकार पत्ता लगाउनुपर्छ र आवश्यक उपचार शुरु गर्नुपर्छ ।
पेट र लिभरको सम्बन्ध
हामीले खाएको खाना आमाशयमा जान्छ । त्यसपछि सानो आन्द्राको माथिपट्टी ड्युडेनममा पुग्छ । अनि पाचन प्रक्रिया शुरु हुन्छ । त्यहाँ विभिन्न प्रकारका रसायन इन्जाइमहरु रिलिज हुन्छन् । ति इन्जाइमहरुले खानालाई नरम र मिहिन अर्थात सानो कम्पोनेन्टमा विच्छेद गरिदिन्छ । जस्तैः हामीले मासु खाएमा एमिनोएसिड, भात खाएमा ग्लुकोज, बोसो र चिल्लोलाई फ्याटी एसिडमा परिणत गरिदिन्छ । यो रगतबाट शरीरका विभिन्न कोषिकाहरुमा पुग्छ ।
कलेजोले वायल पित्त लगायतका विभिन्न तत्वहरु रिलिज गरेको हुन्छ । यो पित्तले फ्याट (बोसो र चिल्लो) पचाउन मद्धत गर्छ । कलेजो बिना बोसो र चिल्लो पच्दैन ।
कलेजोले डाइजेष्ट भएको खाना आफूले लिने, फेरि रिजर्भ (मौज्दात) मा राख्ने, व्यक्ति भोको बसेको बेलामा रिलिज गरिदिने काम गर्छ । यसरी खानाको सम्पूर्ण मेटाबोलिजम (पाच्य प्रणाली) मा कलेजोको भूमिका महत्वपूर्ण हुन्छ ।
लिभर कसरी बिग्रन्छ ?
विभिन्न भाइरसका कारण संक्रमण भएर कलेजोले काम गर्न सक्दैन । जस्तैः हेपाटाईटिस ‘ए’ हेपाटाइटिस ‘बी’, ‘सी’, ‘डी’, ‘ई’ आदि । हेपाटाईटिस ‘ए’ र हेपाटाइटिस ‘ई’ इन्फेक्सनबाट सर्छ । कुनै खाना र पानीबाट सर्छ । हेपाटाईटिस ‘बी’ र ‘सी’ इन्जेक्सन र ब्लडबाट सर्छ । एचआईभी ब्लडबाट सर्छ । यस्ता भाइरसले इन्फेक्सन गराएर लिभर ड्यामेज गरिदिन्छ । लिभर ड्यामेज भएपछि सुन्निन्छ र खाना रुचि नहुने, वाक वाक लाग्ने, पेट फूल्ने, जन्डिस लगायतका विभिन्न लक्षण देखापर्छ । कतिपय अवस्थामा हेपाटाईटिसको सपोर्टिभ उपचार हुन्छ । अहिले हेपाटाईसि ‘बी’ र ‘सी’ को राम्रो उपचार हुने गरेको छ ।
लिभर बिग्रने मुख्य कारण
नेपालमा सबैभन्दा धेरै कलेजो विफल हुने कारण अत्यधिक रक्सीको सेवनलाई लिइएको छ । कलेजोका बिरामीहरुमध्ये ८५ प्रतिशत व्यक्तिको कलेजो बिग्रने मुख्य कारण अत्यधिक रक्सीको सेवन हो । कलेजो विफल भएर अस्पताल भर्ना हुने अधिकांश व्यक्तिहरु यस्तै प्रकृतिका पाइएको छ । पुरुषहरुले हप्तामा २१ युनिटभन्दा बढी र महिलाहरुले १४ युनिटभन्दा बढी रक्सी पिएमा कलेजो बिग्रने सम्भावना धेरै हुन्छ । रक्सीले मुटु, नसा, आँखा, स्मशरण शक्ति सबैलाई कमजोर बनाउँछ । फर्ममेन्स क्षमता ¥ह«ास हुँदै जान्छ ।
छाङ घरमा बनाए पनि रक्सीकै वर्ग हो । कहिलेकाँही गरिने सोसल ड्रिंक्सले त्यति खति नगरेपनि सकेसम्म रक्सी नपिएको राम्रो हो । सरकारले अत्यधिक रक्सी सेवन नियन्त्रण गर्न जरुरी छ ।
बिलासिलता र नसर्ने रोगको प्रकोप
केही समयअघि स्याङ्जाको एक गाउँमा १४ सय स्थानीयबासीको स्वास्थ्य परीक्षण गर्दा २० प्रतिशत व्यक्तिमा उच्च रक्तचाप भेटियो । पहिला मुटु रोग, उच्चरक्तचाप र मधुमेह त्यति हुँदैनथ्यो । हाम्रो खानपान र रहनसहनमा आएको परिवर्तनले यस प्रकारको समस्या बढाइरहेको छ । विगतका पैतल यात्रा धेरै हुने भएकाले शारीरिक अभ्यास हुन्थ्यो । अहिले सवारी साधनको अत्यधिक प्रयोगले शारीरिक अभ्यास र हिँडडूल गर्ने परिपाटी कम हुँदै गएको छ ।
बेलुकाको समयमा पाटी र भोज फेसन नै भइसकेको छ । अल्कोहल नराखेमा पाटीको आकर्षण हुँदैन । इज्जतको सवाल जोडिने गर्छ । अल्कोहल सँगै स्न्याक्स खाने गरिन्छ । यी सबै तारेका चिल्लो खाना हुन्छन् । यस्ता खाना खाएपछि समस्या बढ्दै जान्छ ।
समस्या
२१ औं शताव्दीमा देखिएको यो सामाजिक समस्या हो । यस्ता खानाले क्यालोरी वर्न हुँदैन । हिँडडूल नहुँदा केटा मान्छेको पेट बढ्न थाल्छ । तौल बढ्दै जान्छ । फ्याट कलेजोमा जम्मा हुन्छ । यसलाई हामी फ्याटी लिभर भन्दछौं । यस्तो अवस्थामा खाना नियन्त्रण गर्ने, लो क्यालोरीमा खाना खाने, शारीरिक अभ्यास गर्ने, पेट घटाउने र बोसो पगाल्न सकेमा समस्या बढ्दैन । तर यसलाई दिनप्रतिदिन थप्दै गएमा समस्या बढ्दै फ्याटी लिभर डिजिजमा परिणत भई लिभर नै ड्यामेज हुन्छ ।
शरीरमा उच्च क्यालोरी भएमा डायबिटिज, उच्चरक्तचाप, कोलेस्टेरोल, युरिक एसिड बढ्न थाल्छ । त्यसैले अहिले अकाल मृत्यु गराउने नसर्ने रोगहरु एकपछि अर्को गरी बढिरहेका छन् । सरकारले नसर्ने रोग न्युनिकरणतर्फ ध्यान केन्द्रित गर्नुपर्छ ।
के गर्ने ?
स्वस्थ्य खाना
समयमा खाना खानुपर्छ । तर ओभर खान हुँदैन । ताजा खाना, पर्याप्त सागसब्जी र फलफूलहरुको सेवन गर्नुपर्छ । रिफाइन खाना र जङ्क फूड सेवनमा कमी ल्याउनुपर्छ । बेलुकाको समयमा ठिक्क मात्रामा प्राकृतिक खाना खानुपर्छ । ब्रेकफास्ट, लञ्च, खाजा र डिनरमा नेपाली खाना राम्रो मानिन्छ । एक दिनमा ३ देखि ४ लिटरसम्म पानी पिउनुपर्छ । झोल पदार्थ पर्याप्त खानुपर्छ ।
स्वस्थ्य जीवनशैली
हरेक दिन बिहान समयमा उठ्ने, एक घण्टा फिजिकल हेल्थका लागि समय दिनुपर्छ । सकेसम्म पैदल हिँड्ने कोशिस गर्नुपर्छ । बिहानको समयमा हिँड्दा मात्र पनि धेरै हदसम्म फाइदा पुग्छ । तनाव लिन हुँदैन । नियमित शारीरिक चेक अप गर्नुपर्छ । (प्रा.डा. शर्मा मेडिसिन, पेट तथा लिभर विषयमा एमडी गरेको चिकित्सक हुनुहुन्छ । एक दशकभन्दा बढी समयदेखि कार्यरत प्रा.डा. शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ह्याम्स हस्पिटल र सुमेरु हस्पिटलमा कार्यरत हुनुहुन्छ । )

NH
Health News
प्रतिक्रिया दिनुहोस्