Logo
|
Friday 19th April 2024
Logo

epaper

डेङ्गु रोगका बिरामीको चाप बढ्दो



सरकारीमा अस्पतालमा मात्र होइन, निजी अस्पतालमा पनि डेङ्गु रोगका बिरामीको चाप बढेको छ । सरकारी अस्पतालहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्जलगायतका अस्पतालमा बिरामीको चाप बढ्दो छ ।
रोगीको सङ्ख्या बढ्दै गएपछि सरकार तथा स्थानीय तहले समेत रोकथामका लागि विभिन्न प्रयास गरिरहेका छन् । सरकारले डेङ्गु नियन्त्रण गर्न ‘डेङ्गु खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।

सरुवा रोग अस्पतालमा भीड
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सबैभन्दा धेरै बिरामी पुग्ने गरेका छन् । दैनिक ५०० जनाको डेङ्गु परीक्षण हुने गरेकोमा २५० देखि तीन सयसम्मलाई डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । विगत १० दिनदेखि सरुवा रोग अस्पतालमा डेङ्गु पोजेटिभ बिरामीको सङ्ख्या एक हजार ५०० पुगिसकेको छ । डा. शेरबहादुर पुनलगायतको पाँच जनाको टोलीबाट अस्पताल जानेबित्तिकै डेङ्गुका लागि छुट्टै एकाइ स्थापना गरेर बिरामीको उपचार भइरहेको छ । डेङ्गुको आशङ्का गरिएका बिरामीको स्वास्थ्य परीक्षण गरिन्छ ।
डा. पुनलगायतका चिकित्सक टोलीले दैनिक ८० देखि १२० जना बिरामीलाई जाँच गरिरहेको छ । डा. पुनले आफूले डेङ्गुको लक्षण लिएर आएका बिरामीको दैनिक १२० जनासम्मको स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो । मलगायत अन्य चिकित्सकले पनि त्यही हाराहारीमा बिरामी हेरिरहनुभएको छ, डा. पुनले भन्नुभयो, “अहिलेसम्म डेङ्गुका बिरामीको सङ्ख्या घट्ने होइन, झन् बढ्दो छ । ”
टेकु अस्पतालमा आएका बिरामीमध्ये ताहचल, भोटेबहाल, कुलेश्वर र डल्लुका बिरामी धेरै छन् । डा. पुन भन्नुहुन्छ, “डल्लु क्षेत्रका बिरामी घरैपिच्छे आएका छन्, कुनै घरका परिवारसमेतलाई डेङ्गु फैलिएको छ । ” उहाँले तत्काल डेङ्गुका बिरामीको सङ्ख्या घट्ने क्रममा नरहेको बताउनुहुन्छ । यही अवस्था रहे अझै डेढ महिनासम्म बिरामी घट्नेभन्दा बढ्ने बढी हुन्छ, पुनले भन्नुभयो, “जबसम्म लामखुट्टेको सिजन रहिरहन्छ तबसम्म डेङ्गु घट्दैन । ”
त्रासको अवस्था छैन डा. पुनले भन्नुभयो, “घरघरमा डेङ्गुको सङ्क्रमण हुँदा आफूलाई पनि डेङ्गु सर्ने हो कि भन्ने चिन्ता सबैमा देखिन्छ । ” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले गाउँका भन्दा सहरी क्षेत्रका बासिन्दा जोखिममा रहेको बताउनुभयो । डेङ्गु नियन्त्रण गर्न सबै पक्ष एकजुट हुनुपर्ने उहाँको भनाइ छ । अहिले एसिया क्षेत्रमा डेङ्गुले महामारीको रूप लिएको भन्दै उहाँले कतिपय देशमा स्वास्थ्य सङ्कटकालको समेत घोषणा गरिसकेको बताउनुभयो ।
टाउको र शरीर दुख्ने, ज्वरो आउने, थकाइ लाग्नेजस्ता लक्षण देखापर्नासाथ चिकित्सककहाँ जानुपर्ने उहाँको भनाइ छ । डेङ्गुले कुनै व्यक्ति पनि सुरक्षित नहुने भन्दै उहाँले नियन्त्रणका लागि सरकारले अभियान सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकका ५४ जिल्लालगायत राजधानीमा समेत डेङ्गुको सङ्क्रमण देखिएकाले
यसलाई राष्ट्रिय विषय बनाउनुपर्ने बताउनुभयो ।

वीरमा ४५ जनालाई डेङ्गु
यसैगरी वीर अस्पतालमा आइतबार र सोमबार डेङ्गु परीक्षण गरिएकोमा ४५ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले ९८ जनाको डेङ्गु परीक्षण गरिएकोमा ५५ जनामा पोजेटिभ देखिएको बताउनुभयो । उहाँले तीमध्ये केहीलाई अस्पतालमै भर्ना गरेर उपचार सुरु गरिएको जानकारी दिनुभयो । अस्पतालले डेङ्गुका बिरामी सरुवा रोग अस्पतालमा रेफर गर्ने गरेकोमा बिरामी अत्यधिक आउन थालेपछि वीरमै डेङ्गुको किटको व्यवस्थासहित उपचार गर्न सुरु गरेको हो ।

पाँच हजार ९५ जनामा डेङ्गु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनदेखि भदौ २३ सम्म पाँच हजार ९५ जनामा डेङ्गु सङ्क्रमित भएको तथ्याङ्क रहेको छ । महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम प्याकुरेलले गत वैशाखदेखि असारसम्म जम्मा तीन हजार ४२५ र साउनदेखि हालसम्म पाँच हजार ९५ जनामा डेङ्गु भएको बताउनुभयो । उहाँले तीमध्ये काठमाडाँै, डोटी, रुपन्देही, चितवनमा पाँच जनाको मृत्यु भइसकेको बताउनुभयो ।

भक्तपुरमा ९७ लाई डेङ्गु
विगत केही दिनयता भक्तपुरमा फैलिएको डेङ्गु नियन्त्रण बाहिर गएको छ । भक्तपुर स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार हालसम्म भक्तपुरमा ९७ जनामा डेङ्गुको सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।
उहाँले केही दिनयता भक्तपुरमा अत्यधिक डेङ्गुका बिरामी देखा परेको जानकारी दिँदै नियन्त्रणका लागि समेत प्रयास भइरहेको बताउनुभयो । विद्यालयमा गएर जनचेतना फैलाउने काम भइरहेको जानकारी दिँदै स्वास्थ्य प्रमुख मिजारले स्वास्थ्य कार्यालयबाट टोलटोलमा गई डेङ्गुबारे सचेतना जगाउने काम पनि भइरहेको बताउनुभयो । उहाँले विशेषगरी भक्तपुर नगरपालिका क्षेत्रमा डेङ्गुका बिरामी अत्यधिक देखिएको बताउनुभयो ।

निजी अस्पतालमा पनि चाप
यसैगरी उपत्यकाका निजी अस्पतालहरू अल्का अस्पताल, नर्भिक अस्पताल, ग्रान्डी अस्पताल, ग्रिनसिटी, पिपल्स, कान्तिपुरलगायतका अस्पतालमा डेङ्गु रोगका बिरामीको चापले अस्पतालका शøया भरिभराउ छन् । सरकारले सबै क्षेत्र मिलेर डेङ्गु नियन्त्रण गर्न सम्बन्धित मन्त्रालय, स्थानीय निकाय, सुरक्षा संयन्त्रलाई निर्देशन दिइसकेको छ । प्राइभेट हस्पिटल एसोसिएसन अफ नेपाल (अफिन)का वरिष्ठ उपाध्यक्ष कुमार थापाले डेङ्गुले उपत्यकामा त्रास फैलाएको बताउनुभयो । अस्पतालमा डेङ्गुका लक्षण लिएर आउने बिरामीको सङ्ख्या अत्यधिक रहेको जानकारी दिँदै उहाँले विगतका तुलनामा ६० प्रतिशतका दरले बिरामी बढेको बताउनुभयो । ४० जना डेङ्गुका बिरामी अल्का अस्पतालमा भर्ना भएको जानकारी दिँदै उहाँले भर्ना नहुने बिरामी ओपिडिबाटै फर्कने गरेको बताउनुभयो ।
यता ग्रिनसिटी अस्पतालका अध्यक्ष एलबी टण्डनले आफू चक्रपथ एरियाको सरसफाइ संयोजक रहेकाले त्यही क्रममा डेङ्गु लागेको जानकारी दिँदै दुई हप्तापछि मात्र ठीक भएको जानकारी दिनुभयो । ग्रिनसिटी अस्पतालमा अहिले पनि पाँच जना गम्भीर प्रकृतिका डेङ्गुका बिरामी भर्ना गरेर उपचार गराइरहेको बताउनुभयो । टण्डनले उपचारपछि ३० जना बिरामी डिस्चार्ज गरिसकेको जानकारी दिँदै डडेङ्गु लागेका सबैलाई भर्ना नगरेको बताउनुभयो ।
टोखास्थित ग्रान्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले अहिले पनि अस्पतालमा ३० जना बिरामी भर्ना गरेर उपचार भइरहेको जानकारी दिनुभयो । ठीक भएर डिस्चार्ज हुने र थपिने क्रम जारी रहेको भन्दै उहाँले डेङ्गु पोजेटिभ भएका बिरामीलाई भने अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरेको बताउनुभयो । आजको गोरखापत्रदैनिकमा सरोज ढुङ्गेलले लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्