Logo
|
Saturday 16th November 2019
NEWS PAPER

आईसियूमै सुत्थे प्रा.डा. भगवान कोइराला



प्रा.डा. भगवान कोइरालाले कार्डियाक सर्जन भएर सेवा शुरु गरेको २४ वर्ष बितिसकेको छ । उहाँले सन् १९९५ बाट कार्डियाक सर्जरी सेवा शुरु गर्नुभएको थियो । त्यो बेला त्रि.बि.शिक्षण अस्पतालमा वरिष्ठ कार्डियोथोरासिक सर्जन प्रा.डा. गोविन्द शर्माको नेतृत्वमा काम शुरु गर्नुभयो । पछि डा. कोइराला आफैंले ओपन हार्ट सर्जरीको नेतृत्व लिनुभयो । सन् १९८९ तिर जुनियर मेम्मर हाउस अफिसरका रुपमा काम शुरु गर्नुभएका प्रा.डा. कोइरालाले सर्जरी अध्ययन गरेर आएपछि जुनियर टिम मेम्मरका रुपमा काम गर्नुभएको थियो । जुनियर हुँदाहुँदै उत्कृष्ठ सीप र क्षमताका आधारमा ओपन हार्ट सर्जरीको नेतृत्व लिन सफल हुनुभयो । विस्तारै ओभरअल सर्जिकल टिमको लिडरसिप पोजिसनमा आउनुभयो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा होस् वा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्डियाक सर्जरीको टिम लिडर भएर काम गरेको पनि धेरै भइसकेको छ । त्यसैले प्रा.डा. कोइरालासँग उत्कृष्ठ उपचारमा टिमको डायनामिक्स इन्ट्रेष्टिङ जोडिएको छ । जनस्वास्थ्य सरोकारसँग कुरा गरिएको प्रा.डा. कोइरालाको आफ्नै शव्द…

जीवन पाउनेहरु

विगतदेखिको टिमवर्कले धेरैलाई स्वास्थ्य लाभ गर्न मद्धत मिलेको छ । प्रत्यक्ष जीवन बचेकाहरु पनि धेरै छन् । सिधै मृत्युको मुखमा पुगेका बिरामीहरु बाँच्न सफल भएका छन् । कतिले क्वालिटी अफ लाइफ प्राप्त गरेका छन् । म आफैं र मेरो सुपरभिजनमा अहिलेसम्म १५ हजार भन्दा बढीले शल्यक्रिया सेवा प्राप्त गरिसकेका छन् । लाखौंले बहिरंग सेवा प्राप्त गरेका छन् । पब्लिक फिगर छ । ‘प्रा.डा.भगवान कोइरालालाई देखाउन पाएमा जीवन बाँच्छ’ कि भन्ने धेरैलाई आश र भरोसा छ ।

लामो समयसम्म सेवा गरेका प्रोफेसनल चिकित्सकहरु संसारमा प्रायः धेरै कम हुन्छन् । दक्ष, सिनियर र वेष्ट चिकित्सक बन्न आफ्नो पेशामा ठूलो त्याग र तपस्या गर्नुपर्छ । हामीले सिनियारिटीमा उक्लिदै गर्दा उपचारमा प्रत्यक्ष संलग्नता कायम राख्न जरुरी हुन्छ । सिनियर हुँदै जाँदा बिरामीहरुसँग टाढिदै गइन्छ । नयाँले त्यसलाई टेकओभर गर्दै जान्छन् । धेरैजसो हुने फेनोमिनन पनि यही हो ।

चिकित्सा शिक्षामा निरन्तर अपग्रेड हुँदै जानुपर्छ । पढ्नुपर्छ । कन्फरेन्सहरुमा भाग लिन पछि पर्नुहुँदैन । यसरी आफू पढ्दै र अरुलाई पढाउँदै सम्बन्धित विषयमा निखारिदै जानुपर्छ ।

आफू सिनियर हुँदै जाँदा आफ्ना टिमलाई पनि त्यत्तिकै सुदृढ, सक्षम र समन्वयात्मक तरिकाले काम गराउन जान्नुपर्छ । टिम लिडरको महत्व बुझेर सोही अनुसारको भूमिका खेल्नुपर्छ । २४ सै घण्टा आफू खट्न न सम्भव छ न जरुरी छ नै । त्यसैले सक्षम, दक्ष र रिलायवल टिमको विकास गरेर परिचालन गर्नुपर्छ ।

टिमवर्कको भूमिका

टिम वर्क रिलायबल नभएमा जतिसुकै कम्पलेक्स शल्यक्रिया गरेपनि बिरामीहरु खतरामा रहन्छन् । सिनियर चिकित्सकले टिवर्क मिलाउनुपर्छ । यो उसको जिम्मेवारी हो । टिम लिडरले टिम मेम्मरलाई दक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्छ । उनीहरुका लागि साझा प्रोटोकल बनाउने र उपचारमा स्टैण्र्डड मेन्टेन गर्नुपर्छ । उपचारमा हुनसक्ने सम्भावित खतरा र उपचारमा सफलता प्राप्त गर्ने विषयमा टिममा छलफल गर्नुपर्छ । संयुक्त रुपमा विरामीको भोलममा डिस्कसन गर्नुपर्छ । टिम मातहतमा काम गर्ने नर्सिङ पारामेडिक्सको भूमिका पनि त्यतिकै महत्वपूर्ण छ ।

आफू सोसरहको दक्ष चिकित्सक बनाउन टिम मेम्मरका चिकित्सकहरुलाई सिकाउने, प्रोटोकलहरु लेख्न लगाउने र आफ्नो निगरानीमा प्राक्टिस गर्न लगाउनुपर्छ । प्रत्येक घटनामा छलफल गर्न पछि पर्न हुँदैन । आफ्नो अनुपस्थितिमा पनि समस्याको सही डायग्नोसिस गरी समयमा रिपोर्ट गर्न सक्ने बनाउनुपर्छ । कतिपय अवस्थामा प्रोटोकल बेसमा उपचार गर्नुपर्ने हुनसक्छ ।

आईसियूमा सुत्थेँ

पहिला म रातिको समयमा विरामीको अवस्थाबारे अस्पतालमा अनुगमन गथेँं । लोकल ब्याकअप भरपर्दो र सन्तोषजनक नभइसकेको अवस्थामा आफूहरु नै धेरै खट्नुपर्दथ्यो । टिचिङको ओपन हार्ट सर्जरी शुरु गर्ने ताका त म आइसियूमा नै सुत्थेँ । आइसियूभित्र खाना मगाएर खान्थेँ । गंगालालमा त्यति गर्नुुपरेन । तर रातीको समयमा राउन्डिङ गर्दथे । त्यो बेला प्रशासनिक जिम्मेवारी पनि थियो । तर दिन बित्दै जाँदा टिवर्कको विकास भयो । आईसियूमा बस्ने जिम्मेवार चिकित्सकहरु विकास भएका छन् । रातिको समयमा सेवा दिने चिकित्सकको पनि अभाव छैन । सिस्टम र टिम बिल्डिङ भनेको पनि यही हो । आफूले मात्र सधै सेक्रिफाइज गरेर देश बन्ने होइन । आफ्नो अनुपस्थितिमा काममा अवरोध आउन नदिन र सुरक्षित तवरले काम सम्पन्न गराउन सिस्टम बनाउनुपर्छ । यसका लागि शुरुका दिनहरुमा निकै मिहिनेत गर्नुपर्छ । मलाई पहिला जस्तो आजकल रातिको समयमा आउन जरुरत छैन । तर मेरो अभाव खड्किएमा बिरामीको सेवाका लागि मध्यरात पनि भन्दिनँ ।

NH
Health News
प्रतिक्रिया दिनुहोस्