Logo
|
Thursday 28th March 2024
Logo

epaper

डेंगु प्रकोप : दक्षिण एसियामा एकै भाइरस



काठमाडौं : एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ। उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन्।

‘दक्षिण एसियाका अन्य मुलुकमा प्रभावित पारिरहेको र नेपालमा संक्रमण बढाइरहेको लामखुट्टेको भाइरस एउटै हो’, भारतका वरिष्ठ किटविज्ञ डा.बीएन नागपालले भने। लामखुट्टेको लार्भा नष्ट गर्नु चुनौती भएको उनले बताए। समुदायस्तरबाट डेंगु नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने सुझाव उनले दिए।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की प्रतिनिधि डा.लुङतेन वाङचुकले डेंगु संक्रमण बढ्नुमा सरसफाइको कमी, अव्यवस्थित सहरीकरण, उच्च जनघनत्व, बसाइसराइ र विश्व उष्णीकरणलगायत कारक तŒव जिम्मेवार रहेको बताइन्। डेंगु उपचारका कुनै निश्चित औषधि एवं खोपसमेत नभएका कारण पनि उपचारमा चुनौती थपिएको विज्ञको भनाइ छ।

लामखुट्टेको अन्डा तथा लार्भा नष्ट गर्नुबाहेक विकल्प नभएको डा.नागपालले बताए। उनीहरू डब्लूएचओ, युनिसेफ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको कार्यक्रममा सहभागी थिए। डब्लूएचओका अनुसार विश्वको करिब आधा जनसंख्या डेंगु संक्रमणको जोखिममा छन्।

६ जनाको मृत्यु

डेंगुबाट यो वर्ष नेपालमा ६ जनाको मृत्यु भएको छ। ७० हजारभन्दा बढी व्यक्ति संक्रमित भएको कीटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.प्रकाश शाहको भनाइ छ। उनीहरूले सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराएको अनुमान छ।

सातै प्रदेशका ६२ जिल्लामा डेंगुको संक्रमण देखिएको छ। सबैभन्दा बढी प्रदेश ३ प्रभावित छ। गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशमा संक्रमण बढ्दो छ।

काठमाडौंमा मात्रै १ हजार १ सय ७० जना संक्रमित छन्। एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार डेंगु भाइरसका चार प्रजाति छन्।

विद्यार्थीको ज्यान गयो

विराटनगर : विराटनगर–९ भूमि प्रशासन चोकका १८ वर्षीय अविनाश शर्माको डेंगुबाट मृत्यु भएको छ। उनले ६ दिनअघि डेंगु संक्रमण पुष्टि भएको थियो। अविनाश विराटनगर–१० स्थित शिक्षादीप कलेजमा कक्षा १२ का विद्यार्थी हुन्। मृतकका काका उमेश शर्माका अनुसार अविनाशलाई भदौ २० गते सामान्य ज्वरो आएको थियो। त्यसपछि सप्तकोसी नर्सिङ होमको बहिरंग विभागमा स्वास्थ्य परीक्षण गराइएको थियो। फिजिसियन डा. अरविन्द साहले अस्पतालमा भर्ना भएका उनलाई डेंगु संक्रमण भएको पुष्टि गरे। बिरामीलाई चिकित्सकको सल्लाहबमोजिम घरमै राखेर औषधि खुवाउने काम भइरहेको थियो। ज्वरो बढ्नुका साथै बान्ता हुन थालेपछि अविनाशलाई पुनः नर्सिङ होममा भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नभएपछि उनलाई थप उपचारका लागि मंगलबार गोल्डेन अस्पतालमा लगिएको थियो। त्यहाँ आईसीयूमा राखेर उपचार थालिएका थियो।

नियन्त्रणबाहिर छैन: सरकारका प्रवक्ता

सरकारले डेंगुबाट सामान्य समस्या भएको तर नियन्त्रणबाहिर नरहेको जनाएको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नागरिकका स्वास्थ्यमा सरकार सचेत रहेको बताए। ‘वैशाखदेखि देखिएको डेंगु नियन्त्रणको प्रयास भइरहेको छ। नियन्त्रणबाहिर छैन’, उनले भने, ‘यसले दुःख दिएको छ। यसप्रति सरकार गम्भीर छ। स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक नै काम गरिरहेको छ।’

उनले डेंगु नेपालको मात्रै नभई विश्वको समस्या भएको बताए। ‘पछिल्लो प्रतिवेदनअनुसार झन्डै ३९ करोड मानिस प्रभावित छन्’, उनले भने, ‘करिब ३ अर्ब मानिस यसको जोखिममा रहेको विश्व स्वास्थ्य संगठनको रेकर्ड छ।’

किट अभावदमौली: डेंगु परीक्षण गराउन आउने बिरामीको संख्या बढे पनि तनहुँको दमौली अस्पतालमा किट अभाव छ। दमौली तथा आसपासका २० जनामा संक्रमण देखिएको थियो। दैनिक ३० जनासम्म परीक्षण गर्न आउने गरेको अस्पतालकी ल्याब इन्चार्ज सुशीला कार्कीले बताइन्। उनका अनुसार अति गम्भीर बिरामीका हकमा मात्र डेंगु परीक्षण गरिएको छ। अन्यको परीक्षण गर्न नसकिएको उनले बताइन्। अस्पतालका अनुसार साउनयता १४ जनामा डेंगु देखिएको छ।

सुनसरी धरानमा कार्यरत सैनिक गोविन्द योगी दमौली आएका बखत बिरामी परे। स्वास्थ्य जाँचका लागि उनी दमौली अस्पताल गएका थिए। परीक्षणका क्रममा डेंगुको संक्रमण भेटिएको अस्पतालले जनाएको छ।

तीन दिनमा ६६ जनामा संक्रमण

भक्तपुुर : भक्तपुुरमा भदौ २१ सम्म २० जनामा डेंगुु संक्रमण भएको थियो। त्यसपछि तीन दिनमा ६६ जनामा संक्रमण पुुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी अस्मिता पवनले मंगलबारसम्म संक्रमितको संख्या ९६ पुगेको बताइन्।

हजार बिरामीको निःशुल्क परीक्षण

चितवन : चितवन मेडिकल कलेजले १ हजार जना बिरामीको निःशुल्क परीक्षण गर्ने भएको छ। कलेजका अस्पताल निर्देशक डा.दयाराम लम्सालले चितवन र असापासका जिल्लामा भाइरल ज्वरो तथा डेंगुलगायत प्रकोप देखिएको बताए। अस्पतालले उपचारमा तदारुकता देखाइरहेको उनले सुनाए। निःशुल्कको सेवा लिन बिरामीले विपन्नको परिचयपत्र तथा सिफारिस ल्याउनुपर्नेछ। कागज ल्याउन नसक्नेलाई पनि अस्पतालकै सामाजिक शाखाले सामान्य सोधपुछका आधारमा परीक्षण गराउन सक्ने उनले बताए।

सदनमा रुलिङ

काठमाडौं : सभामुख कृष्णबहादुर महराले डेंगु नियन्त्रणबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। डेंगु प्रकोप फैलिए पनि नियन्त्रण गर्न ठोस पहल नगरेको भन्दै सांसदले सरकारको आलोचना गरेका थिए।

‘डेंगुको विषयमा प्रश्न उठेको छ। यसबारे सरकार र स्वास्थ्यमन्त्रीको विशेष ध्यानाकर्षण गराउँछु’, प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख महराले भने, ‘म स्वास्थ्यमन्त्रीलाई सदनमा जवाफ दिने निर्देशन गर्दछु।’

नेकपाका सांसद कृष्णगोपाल  श्रेष्ठले डेंगुबारे सरकारको धारणा माग गरेका थिए। नेकपाकै खगराज अधिकारीले डेंगु नियन्त्रणबारे सरकारले उचित पहल नगरेको भन्दै असन्तुष्टि जनाएका थिए।यो समाचार अन्नपुर्णपोष्टबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्