Logo
|
Thursday 19th September 2019
NEWS PAPER

‘प्रत्येक वर्ष विश्वभरका ३ करोड मानिसलाई सेप्सिस’– डब्लुएचओ, यस्ता छन् सेप्सिसका लक्षण र बच्ने उपायहरु

आईसीयूमा बिरामीको मृत्यु हुने कारण सेप्सिस



सन्दर्भः विश्व सेप्सिस दिवस : सेप्सिस अर्थात सम्पूर्ण शरीरको एकसाथ संक्रमण। शरीरको एउटा भागबाट सुरु भएको संक्रमण जब रगतबाट शरीरमा सबैतिर फैलन्छ, त्यस्तो अवस्थालाइ मेडिकल भाषामा सेप्सिस भनिन्छ । यसलाई शरीरमा रोग विरुद्ध लड्ने तत्वहरु वा रोग प्रतिरोधात्मक क्षमताले रोगसँग लड्दाखेरी उत्पन्न हुने एक किसिमको शारिरीक प्रतिक्रियाको रुपमा पनि हेर्न सकिन्छ । यो प्रतिक्रियाले ल्याउने परिवर्तनहरुले शरीरका विभिन्न अंग प्रणालीहरुलाई आक्रमण गरेर तिनलाई कमजोर बनाउन सक्छ । यो सेप्सिसको विकराल अवस्था हो । सेप्सिस समयमै निदान नभएमा बिरामीको मृत्युसमेत हुनसक्छ ।
सेप्सिस विश्वब्यापी समस्या हो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वभरका लगभग तीन करोड मानिसलाई सेप्सिस हुने गरेको छ । त्यसमध्ये लगभग ७० देखि ९० लाख मानिसको मृत्यु हुने गर्दछ । सेप्सिसबाट प्रत्येक ३.५ सेकेन्डमा एकजनाको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ ।
नेपालमा सेप्सिसबारे एकिन तथ्याङ्क छैन् । तर दैनिक धेरै मानिसहरु सेप्सिस भएर अस्पतालमा आउने चिकित्सकहरु बताउछन् । आईसीयूमा बिरामीको मृत्यु हुने कारण नै सेप्सिस हुने गरेको नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा. हेमराज पनेरु बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘सेप्सिस भएर बाँच्न सफल मानिसहरूमा समेत लामो समयसम्म नकारात्मक असरहरू रहिरहन्छ ।’
धेरैजसो सुक्ष्मजीवी किटाणु ब्याक्टेरिया, भाइरस, ढुसी तथा परजीवीहरूले सेप्सिस गराउन सक्छन् । अहिलेको अवस्थामा स्वाइन फ्लु, डेंगु, मलेरियाले समेत सेप्सिस गराइरहेको पाइएको छ ।
लक्षण
-असाध्यै कमजोरी महसुस हुनु
-कम्पन हुनु
-बोली लर्बराउनु
-बारम्बार झुक्किनु
-पिसाब कम हुनु वा पिसाब नै नलाग्नु
-सास फेर्न गाह्रो हुनु
-छालाको रङ फेरिनु
ज्वरो आएको अवस्थामा वा किटाणुको संक्रमण भएको शंका भएको अवस्थामा यी लक्षण देखिएमा सेप्सिस भएको हुनसक्छ।

सेप्सिस कसलाई हुन्छ त?
उमेर ढल्केका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका (जस्तै एच.आई.भी. र एड्स, क्यान्सर, अंग प्रत्यारोपण गरेका मानिस) ।
सघन उपचार कक्षका बिरामीहरु ।
चोटपटक लागेका वा पोलेको घाउ भएका बिरामीहरु।
कृत्रिम श्वासप्रश्वास दिएर भेन्टिलेटरमा राखेका बिरामीहरु।
सेप्सिस भएको शंका लागेमा के गर्ने?
यदि सेप्सिस भएको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्यसंस्था अथवा चिकित्सकसंग परामर्श लिनु पर्दछ । औषधि पसलमा गएर जथाभावी एन्टिबायोटिक औषधि सेवन गर्नु हुँदैन । यसका साथै चिकित्सकको सल्लाहमा रगत, खकार, दिसा, पिसाब, वा पिप आदि जाँच गराउँनुपर्छ । यसका साथै परेको खण्डमा भिडियो एक्स–रे, सामान्य एक्स–रे, सिटी स्क्यान अथवा एमआरआई समेत गराई सेप्सिसको कारण पत्ता लगाउनुपर्ने हुन्छ।
उपचार
सेप्सिस भएमा सामान्यतया सलाईन, अक्सिजन वा आवश्यक परेमा कृत्रिम श्वासप्रश्वास र उचित एन्टीबायोटिक दिनुपर्दछ । मिर्गौला खराब भएमा समयमै डाईलाईसीस गर्नुपर्छ । समयमै प्रेशर बढाउने औषधि सेवन गर्नुपर्छ यदि शरीरको कुनै भागमा संक्रमण भएमा शल्यक्रिया गर्नुपर्दछ ।
यसरी बच्न सकिन्छ
बिरामीलाई छुनु आघि र पछि हात धुने ।
संक्रमित वस्तु छोएपछि हात धुने ।
कुनै संक्रमण भएको शंका मात्रै लागेमा तुरुन्तै चिकित्सकको सल्लाह लिने ।
जथाभावी एन्टीबायोटिक औषधि प्रयोग नगर्ने ।
जनचेतना फैलाउने ।

प्रत्यक वर्ष १३ सेप्टेम्बरका दिन विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरेर सेप्सिस दिवस मनाइन्छ । काठमाडौँको मण्डिखाटार स्थित ह्याम्स हस्पिटलले पनि जनचेतनामुलका कार्यक्रम आयोजना गरेर विश्व सेप्सिस दिवस मनाएको छ ।
प्रस्तुतीः सन्देश श्रेष्ठ

NH
Health News
प्रतिक्रिया दिनुहोस्