डेंगु भाइरस पहिचानमा गरिएको व्यापार अस्वीकार्य
डेंगु रोगको जाँच निःशुल्क गर्ने भनी सरकारले निर्देशन जारी गरेपनि रोेग परीक्षणका नाममा अस्पताल तथा क्लिनिकलले चर्को फिस लिने गरेका छन् । डेंगु रोगले महामारीको रूप लिई देशव्यापी फैलदै गएपछि सर्वसाधारण यसबाट निकै आतंकित हुन पुगेका छन् । डेंगु रोगको उपचारका लागि औषधि पनि नबनिसकेको र शरीरमा रहेको रोग प्रतिरोधक शक्तिले मात्र त्यसलाई हराउन र पचाउन सक्ने भनी प्रचारमा आएकाले पनि बिरामी आफूलाई डेंगु लागे/ नलागेको भनी विश्वस्त हुन निरीक्षणका सबै विधिहरू खोज्न थालेका छन् । अनावश्यक चिन्तित र आतंकित नहुन आग्रह गर्दै सरकारले डेंगु परीक्षणका लागि किट प्रयोगमा रोकसमेत लगाएको छ । तर, निजी तथा सरकारी अस्पतालले नै डेंगु निरीक्षणका नाममा महँगो रकम असुल्दै आएका छन् । अस्पतालले सरकारी निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । आफ्नै नागरिक यसरी ठगिँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका रोग नियन्त्रण महाशाखालगायतका निकाय रमिते बनिरहेका छन् ।
डेंगु नियन्त्रणका लागि संकटकाल घोषणा गरेर भए पनि स्वास्थ्य सेवा र सुविधा देशव्यापी पु¥याउन संसद्मा समेत चर्को आवाज उठिरहेको छ । स्वास्थ्यमन्त्रीको लापर्बाहीबारे धेरै टिप्पणी भइरहँदा पनि ततकाल राहत प्रदानका लागि सरकार मातहतका स्वास्थ्य निकायमा आवश्यक बजेटसहित औषधोपचारका सामग्रीहरू पुगिसकेका छैनन् ।
स्वास्थ्य मन्त्रालयको अभियानात्मक सेवाहरू डेंगु संक्रमित इलाकामा पु¥याउनका लागि कार्यक्रम त बनेका छैनन् नै, आवश्यकअनुगमन र निरीक्षणसम्म पनि भएका छैनन् । डेंगुको महामारी फैलिइरहेको छ, रोकथामका प्रभावकारी उपायहरू अवलम्बन गरिएका छैनन् । लामखुट्टेको वासस्थानमा औषधि छर्कनेसम्मको काम त गरिएको छ तर त्यो प्रयास प्रभावकारी नभएकोमा चिकित्सक स्वयं असन्तुष्ट छन् । उनीहरूका अनुसार डेंगु फैलाउने लामखुट्टेको माउ मात्र नष्ट गरेर हुँदैन, त्यसका लार्भा र फुल पनि नष्ट गर्नु पर्दछ । सरकारका यस्ताखाले कमजोरी, सर्वसाधारणका बीचमा फैलिएको डेंगु आतंक र रोग परीक्षणका लागि लाग्ने गरेको सर्वसाधरणको घुइँचो आदिको फाइदा उठाउँदै अस्पताल तथा क्लिनिकले व्यापार गरिरहेका छन् । यसबाट धेरै आतंकित नहुन तर सतर्क र सचेत रहन भन्दै डेंगुको कुन प्रकारको भाइरस बिरामीमा लागेको छ भनी जाँच गर्न किटको प्रयोग जरुरी नभएको रोग नियन्त्रण महाशाखाले बताउँदै आएको छ । यसबाट थाहा हुन्छ, डेंगु डायग्नोसिसका लागि किट आवश्यक छैन ।चिकित्सकका अनुसार सामान्यतया ह्वाइट ब्लड सेल काउन्ट, टोटल प्लेटलेट काउन्ट र हेमाटोक्रिट जाँच गरियो भने डेंगु भएन/ भएकोजानकारी हुन्छ ।
जाँचसँगै लक्षणहरू हेरेर पनि डेंगु पत्ता लगाउन सकिन्छ । चिकित्सकका अनुसार रगत परीक्षणका क्रममा ह्वाइटब्लड काउन्ट ४ हजारभन्दा कम र प्लेटलेट काउन्ट १ लाख वा सोभन्दा कम देखिएमा डेंगु रोग भएको थाहा हुन्छ । अहिलेसम्मको रेकर्डअनुसार ५६ जिल्लामा करिब ५ हजारभन्दा बढी मानिस डेंगुबाट संक्रमित भएकाको तथ्याङ्क रोग नियन्त्रण महाशाखामा छ । सरकारले सञ्चालन गरेको डेंगु रोकथामका लागि ‘खोज र नष्ट गर’ भन्ने जनचेतना अभियान प्रभावकारी हुन सकिरहेको छैन । ज्वरो आउने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, टाउको दुख्ने जोर्नी तथा मांसपेशी कडा रूपमा दुख्ने, पेटमा गडबडी देखिने आदि लक्षणहरूबाट डेंगु लागेको सहज अनुमान गर्न सकिन्छ । तर, पनि कुनचाहिँ भाइरस हो भनी पत्ता लगाउने नाममा किटको प्रयोग गरी स्वास्थ्य सेवालाई नाफामूलक व्यापारका रूपमा अघि बढाएर बिरामीबाट नाजायज फाइदा लिने कार्य अस्वीकार्य छ । स्वास्थ्य मन्त्रालयले यस विषयमा छिटोभन्दा छिटो अनुगमन गरी नाजायज फाइदा लिनेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । यो समाचार राजधानीदैनिकबाट लिइएको हो ।