Logo
|
Thursday 25th April 2024
Logo

epaper

नि:शुल्क औषधि नपाएपछि आयुर्वेद अस्पतालमा बिरामी घटे

२३ प्रकारका औषधि नि:शुल्क पाइने अस्पतालमा अहिले २–३ प्रकारका मात्रै



बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा लामो समयदेखि औषधि उपलब्ध नभएपछि बिरामी समस्यामा परेका छन् । नि:शुल्क पाउनुपर्ने औषधि नपाएपछि उपचार गर्न आउनेको संख्यासमेत घट्दै गएको छ । नि:शुल्क पाइने आसमा उपचार गर्न आउनेहरू अस्पतालभित्र औषधि नपाएपछि निजी औषधि पसलबाट खरिद गर्नुपर्ने बाध्यता छ । नि:शुल्क उपचार र औषधिसमेत पाइने भन्दै दैनिक औसत ५० बिरामी आउने गरेका छन् । तर, अस्पतालमा एक वर्ष अघिदेखि पर्याप्त औषधि पाएका छैनन् । कहिले ल्याइन्छ भन्ने अझै टुंगो छैन । विगतमा निःशुल्क औषधि प्राप्त हुँदा दैनिक सयजनासम्म बिरामी आउने अस्पतालमा औषधि नै पाइन छाडेपछि सेवाग्राही पनि घट्दो छ ।

बिरामी दैनिक आएर स्वास्थ्य जाँच गरे पनि औषधि नपाएपछि निराश भएर फर्कने गरेका छन् । अस्पतालका प्रमुख आयुर्वेद चिकित्सक नलिनाथ तिवारीले अस्पतालमा औषधि अभाव रहेको कुरा सम्बन्धित निकायमा राखेको र अब केही दिनभित्रैमा औषधिका लागि आवश्यक व्यवस्था हुने अपेक्षा राखेको बताए । अस्पतालमा २३ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराउने भनिए पनि अहिले दुई/तीन प्रकारका औषधिले काम चलाउनुपरेको उनले बताए ।

विगतमा केन्द्र सरकारअन्तर्गत आयुर्वेद अस्पतालमा औषधि आउने गरेको थियो । गत वर्ष सुरुमा स्थानीय तह वा प्रदेशमार्फत औषधि आउने भन्ने विषयले राम्रो सेवा दिन सकेको थिएन । यस आर्थिक वर्षमा भने प्रदेशको सामाजिक विकास मन्त्रालयबाट आवश्यक बजेट प्राप्त हुने र समस्या हल हुने विश्वास लिइएको अस्पतालले जनाएको छ ।

०४१ सालमा बनेको भवनमा ओपिडी सेवा मात्रै सञ्चालनमा रहेको छ । अस्पतालका योग तथा पञ्चकर्म संयोजक विष्णुहरि आर्चायका अनुसार पञ्चकर्मअन्तर्गत पूर्वकर्म स्नेहन स्वेदन पनि गराइन्छ । ढाड तथा हाड जोर्नी दुख्ने समस्याबाट पीडित भएकालाई यहाँ बाफ दिएर उपचार गर्ने व्यवस्था छ । सातामा दुई दिन मात्र सेवा उपलब्ध यस स्थानमा बिरामीको चाप छ ।

यस अस्पतालमा पेट दुख्ने (ग्यास्ट्रिक) समस्या भएका बिरामी बढी आउने गरेका छन् । जसमा युवादेखि वृद्धवृद्धासम्म रहने गरेका छन् । त्यस्तै, महिलामा हुने सेतोपानी बग्ने समस्यादेखि तल्लो पेट दुख्ने समस्याका बिरामी पनि अस्पतालमा आउने गरेको स्वस्थ्यकर्मीको भनाई छ । योग संयोजकसमेत रहेका स्वास्थ्यकर्मी विष्णुहरि आचार्यले अस्पतालले नसर्ने रोगबारेमा पनि सचेत हुन चेतनामूलक जानकारी दिने गरेको बताए ।

अस्पतालमा नि:शुल्क योगा
अस्पतालमा हरेक दिन बिहान पाँचदेखि साढे ६ बजेसम्म निःशुल्क योगा सिकाउने व्यवस्था छ । योग संयोजक आचार्यका अनुसार अस्पतालले विगत तीन वर्षदेखि नि:शुल्क रूपमा योग सिकाउँदै आएको छ । आचार्यका अनुसार योग गर्न बुटवलबाहेक आसपासका बासिन्दा हरेक बिहान आउने गर्छन् । पछिल्ला दिनमा आहारबिहार तथा बदलिँदो जीवनशैलीले नसर्ने रोगको समस्या मानिसमा बढ्दो रहेकाले योग तथा आहार विहार, विचार र व्यवहारमा परिवर्तन गरेमा यस्ता रोग व्यवस्थापन गर्न सकिने भएकाले योगासहित सेवा दिन थालिएको आचार्यको भनाइ छ ।

डेंगुका बिरामी बढे
लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका बिरामी रूपन्देहीमा बढेका छन् । साउनयता रूपन्देहीमा डेंगुका बिरामीको संख्या पाँच सय पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डाक्टर रामचन्द्र गिरीका अनुसार साउनदेखि असोज ३ गतेसम्ममा चार सय ८४ जना भर्ना भएकामा चार सय ५५ जना उपचारपछि घर
फर्किएका छन् ।

डेंगुबाट एकजनाको मृत्यु भएको र २८ जना उपचाररत रहेको जानकारी उनले बताए । तर, जिल्लामा त्यसभन्दा पनि बढी संक्रमित रहेका छन् । चार सय ८४ मध्ये सबैभन्दा बढी बुटवलका छन् । बुटवलका दुई सय ५२ जना रहेको उनले बताए ।

डेंगु फैलिन नदिन सचेतनामूलक कार्यक्रममा जोड दिइएको उनले बताए । विभिन्न तहसँग समन्वय गरेर प्राविधिकदेखि विभिन्न सहयोग पुर्‍याउँदै आएको उनले बताए । रूपन्देहीमा डेंगुका बिरामी बढे पनि नियन्त्रणका लागि स्थानीय तहहहरूको प्रभावकारी कार्यक्रम नगरेको गुनासो बढ्दो छ ।

सामाजिक विकासमन्त्री सुदर्शन बराल भन्छन्– औषधि उत्पादनमा सरकार केन्द्रित
प्रदेशमा आयुर्वेद अस्पतालहरूमा सेवा बढी प्रभावकारी बनाउन प्रदेश सरकारले विशेष चासो दिएको छ । आयुर्वेद उपचार पद्धतिका लागि अस्पतालमा औषधिको अभाव नहोस् भन्नेमा प्रदेश सरकार सचेत छ । प्रदेशमा आयुर्वेद औषधिको उत्पादन गर्ने गरी प्रदेश सरकारले योजना अगाडि बढाएको छ । यसै आर्थिक वर्षदेखि बुटवल तथा दाङमा औषधि उत्पादन प्रक्रिया अगाडि बढाउन आवश्यक काम अगाडि बढाउदै छौँ । तत्काल औषधिको अभावका सम्बन्धमा पनि प्रदेश सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएर समस्या समाधान गर्छ ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्