Logo
|
Saturday 20th April 2024
Logo

epaper

नुवाकोटमा भाइरल ज्वरोका बिरामी बढ्दै



नुवाकोट- नुवाकोटमा केही सातायता भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । मौसम परिवर्तनसँगै संक्रमण बढेको हाे।
नुवाकोटको त्रिशूली अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढ्दै गएको स्वास्थ्यकर्मीले जनाएको छ।

केही सातायता पहिलेको तुलनामा अहिले बिरामी सङ्ख्यामा वृद्धि भएको त्रिशूली अस्पतालले जनाएको छ । अस्पतालको बहिरङ सेवामा दैनिक आउने दुई सयभन्दा बढी बिरामीमध्ये ६० प्रतिशत बढी भाइरल ज्वरोका भएको चिकित्सकहरुले बताए।

भाइरलबाट सबैभन्दा बढी बालबालिका र वृद्ध प्रभावित छन्। अस्पतालमा बिरामी ५० जनासम्म दैनिकरुपमा आउने गरे पनि अहिले दुई सयसम्म पुग्न थालेको जिल्ला अस्पतालका त्रिशूलीका डा जयराम पाण्डेले बताए। त्रिशूली अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरो र टाइफाइडको सङ्क्रमण देखापरेको डा पाण्डेले बताए।

“अस्पतालमा भाइरल ज्वरोका बिरामी थपिँदै जान थालेका छन्, उपचार गर्नमा हामीलाई पनि समस्या हुन थालेको छ”, उनले भने, “हल्का ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जीउ दुख्नेलगायत लक्षण भएका बिरामीको सङ्ख्या प्रतिदिन बढ्दै गएको छ।”

घर वरिपरी सफा राख्ने, पानी जम्ने खाल्टा पुर्ने र सरसफाइमा ध्यान दिनुपर्ने सुझाव चिकित्सकको सुझाव छ। रासस

प्रतिक्रिया दिनुहोस्