Logo
|
Thursday 25th April 2024
Logo

epaper

गर्मीमा पिसाब संक्रमणको जोखिम



मिर्गौलाबाट पिसाब थैली हुँदै नलीबाट बाहिरिने जुनसुकै ठाउँमा कीटाणुबाट हुने संक्रमण नै पिसाबको संक्रमण हो । सामान्यतया शरीरभित्रका विषाक्त पदार्थलाई मिर्गौलाले पिसाबको माध्यमबाट बाहिर पठाउँछ । तर, गर्मीमा धेरैजसो पानी पसिनाबाट बाहिरिन्छ र विषाक्त वस्तु बाहिर निस्कन पाउँदैन । प्रशस्त पिसाब नहुँदा पानी कम पिउने मानिसको शरीरमा रहेका विषाक्त वस्तुहरू नलीमै रहन्छन्, जसका कारण संक्रमणको सम्भावना उच्च रहन्छ ।

रोगप्रतिरोधी क्षमता कमजोर रहेका व्यक्तिलाई पनि पिसाबको संक्रमण बढी हुने गर्छ । यो जुनसुकै उमेर समूहका मानिसमा हुन सक्छ । पुरुषको तुलनामा महिलामा पिसाब संक्रमण बढी हुने गर्छ । पिसाब नली सानो, महिनावारी तथा पिसाब र दिसा गर्ने नली सँगसँगै हुने भएकाले संक्रमणको सम्भावना बढी रहन्छ । वृद्ध पुरुषमा हुने प्रोस्टेट ग्रन्थीको समस्याका कारण पिसाब नली साघुँरो हुँदै जान्छ ।

त्यसबाट पनि संक्रमण हुने गर्छ । पुरुषहरूमा पिसाब फर्केर माथि जाने, ननिख्रिने र विभिन्न कारणले नली साँघुरो भएमा संक्रमणको जोखिम धेरै हुन्छ । शरीरमा अन्यखाले संक्रमण भइरहने र मधुमेहका बिरामीमा पनि पिसाबको संक्रमण हुने जोखिम हुन्छ । कतिपयको पिसाब नली नै छोटो हुन्छ, जसले पनि संक्रमण निम्त्याउँछ ।

कसरी थाहा पाउने ?
पिसाब गर्दा पोल्ने, बारम्बार पिसाब लाग्ने, बिस्तारै पिसाब कम हुँदै जाने, पिसाब गर्दा कोखा दुख्ने, नलीबाट पिसाबसँगै पिप बग्नेजस्ता संक्रमणका लक्षण हुन् । यस्तै, पिसाब गर्दा तल्लो पेट दुख्ने, शरीर कम्पन हुने र बालबालिकामा ज्वरो आइरहने समस्या पनि देखिन्छ । कतिपयमा पिसाबको मात्रा कम हुँदै जाने र कडा ज्वरो आउन समस्या देखापर्छ । संक्रमण बढ्दै जाँदा रगत बग्ने सम्भावना पनि हुन्छ । त्यसका कारण मिर्गौलामा असर पर्छ र संक्रमण अन्य अंग फैलिएर ज्यानसमेत जान सक्छ ।

रोकथाम र उपचार
यस्ता लक्षण देखिएका प्रशस्त पानी पिउनुपर्छ । यस्ता बिरामीले समय–समयमा जाँच गराउनुपर्छ । लामो समय बेवास्ता गर्दा मिर्गौला खराब हुने सम्भावना बढेर जान्छ । त्यसैले हेल्चेक्र्याइँ गर्नुहुँदैन । एन्टिबायोटिक औषधिको सेवनबाट यसको उपचार गर्न सकिन्छ । ( पिसाबरोग विशेषज्ञ प्रा.डा.उत्तम शर्मा त्रिवि शिक्षण अस्पतालमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्