Logo
|
Tuesday 22nd October 2019
NEWS PAPER

रगतको राम कहानी:जब एउटा शल्यक्रिया टेबुलमा १० बर्षीय बालक अचेत अवस्थामा थियो

डा. दिनेशनाथ गोँगल



वीर अस्पतालको शल्यक्रिया कक्ष । २०२० सालको कुरा हुनुपर्छ एउटा शल्यक्रिया गर्ने टेबलमा १० बर्षीय बालक अचेत अवस्थामा सुतिरहेको थियो । उसको टाउकोको केश खौरिएर चिल्लो पारिएको थियो । एनेस्थेटिस्ट डाक्टर साहेबहरु त्यस बालकलाई अप्रेशनका लागि तयार पार्नमा व्यस्त थिए । त्यस बालकको दिमागमा ट्यूमर थियो । यस्तो सानो बालकको दिमागको ट्यूमर पहिलोपलट शल्यक्रिया हुन गइरहेको थियो ।
त्यहि शल्यक्रिया कक्षको अर्को टेबलमा एक व्यक्ति पल्टिरहेको थियो । उनको पाखुराको नसामा एक मोटो सियो घोपेको थियो । त्यो सियोमा एउटा ट्युव जोडिएको थियो । जुन भूइँमा रगत जम्मा गर्ने सिसीमा राखिएको थियो । त्यो सिसीमा रगत जम्मा हुँदै थियो । त्यस व्यक्तिको मुहारमा मलिन मुस्कान थियो, सायद कसैलाई मद्धत गर्न पाएकोमा होला । त्यस व्यक्ति दयाबीर कंसाकार हुनुहुन्थ्यो ।
दयावीर कंसाकारको नेतृत्वमा परोपकार संस्था स्थापना भएपछि रगतको व्यवस्था गर्न हामीलाई धेरै सजिलो भयो । यस संस्थाको अफिस महेन्द्र वहालमा थियो । त्यहाँ स्वयंसेवी रक्तदाताहरुको फोन नम्वर हुन्थ्यो । बिरामीलाई कुन समुहको रगत चाहियो हामी खबर गथ्र्यौं । परोपकारबाट सोही अनुसार व्यक्ति तुरुन्त पठाइदिन्थे । दिन होस् वा रात, उहाँहरु केही मिनेटमा अस्पताल आइपुग्नुहुन्थ्यो । हुन त त्यसबेला रगत चाहिएमा व्यवसायिक रक्तदाताहरु पनि भेटिन्थे, धेरैजसो भरियाहरु हुन्थे । सय रुपैँया लिएर रगत दिन्थे ।
त्यसबेला ब्लड बैँक त थिएन, तर दयाबीर कंसाकार र उहाँका साथीहरु खासगरी जेठा साहु, भाइ साहु, ध्रुवलाल जोशीहरु चल्ती फिर्ती ब्लड बैँक नै हुनुहुन्थ्यो ।

त्यो शल्यक्रिया सफल त भएन, त्यस बच्चालाई हामीले गुमाउनुप¥यो, तर दयाबीरजीले रगत दिइरहनुभएको तस्वीर मेरो मानसपटलमा सधँैका लागि रहिरह्यो । रगत दान साँच्चै जीवनदान नै हो, मानिसहरुले गरेका रक्तदानबाट धेरैले जीवनदान पाएका छन् । तर रगत दिँदा अलि तलमाथि परे, अलिकति पनि हेलचेक्र्याइँ गरे ज्यान पनि जान सक्छ ।

मानिसहरुको चारवटा रक्त समूह हुन्छ, ए, बी, एबी र ओ । रगत दिँदा ग्रुप मिल्नुपर्छ अन्यथा प्रतिक्रिया भई ज्यान जोखिममा पर्नसक्छ । यस्तै एउटा घटना भएको पनि छ । एक ताका मन्त्रालयका सचिवको ससुराको शल्यक्रिया गर्नुपर्ने थियो । उहाँ त्यस्तै ६० वर्षको हुनुहुन्थ्यो । आमाशयमा घाउ भएर धेरै रगत बगिसकेको थियो । त्यसबेला पेटमा क्यामेरा राखेर हेर्ने साधन थिएन । हामीले बेरियम एक्स–रे गरेर रोग पहिचान गथ्र्यौँ । यसमा बेरियमको झोल खुवाइन्थ्यो, जुन एक्स–रे बाट देख्न सकिन्थ्यो । त्यो बेरियम पेटको अल्सरमा बसिदिन्थ्यो र एक्स–रेमा सानो खाल्टोजस्तो देखिन्थ्यो । त्यसरी रोग पत्ता लागेपछि हामीले उहाँलाई शल्यक्रियाका लागि तयार पा¥र्याँै । रगत धेरै बगिसकेकाले अपरेशन गर्नुअघि नै रगत दिन जरुरी थियो । हामीले व्यवसायिक रक्तदाताको व्यवस्था ग¥र्यौँ । ल्याबमा जहाँ रक्तदाताबाट रगत संकलन गरिन्थ्यो, त्यहाँ ठीक त्यहिबेला अर्को बिरामीको अपरेशनका लागि पनि रक्तदाता बोलाइएको रहेछ । संयोगवश दुवैको नाम रामबहादुर परेछ । यो कुरा कसैलाई भान नै भएन । रामबहादुरभित्र आउनुहोस् भनी बोलाए । रामबहादुर भित्र गए र रगत दिए । हामीलाई जुन रगत ल्यावबाट पठाइयो त्यही रगत बिरामीलाई चढायौँ । म राति वार्डमा जाँदा त बिरामीलाई रियाक्सन भइसकेको रहेछ । बचाउन धेरै प्रयास गरियो । तर अन्त्यमा उनको निधन भयो । बाँकी भएको रगत लिएर ल्याब गएर पुनः जाँच्न लगाएँ । बिरामी सँग रगतको ग्रुप नमिल्ने रहेछ । बुझ्दै जाँदा दुई रामबहादुरको किस्सा थाहा भयो र ल्याबमा काम गर्नेहरुलाई सचेत गरायौँ । एउटा सानो गल्तीले ठूलो संकट आइप¥यो । मान्छेको शरीरमा लागेको गोली निकाल्न सकिन्छ । तर रगत एकपटक दिएपछि निकाल्न सकिँदैन । त्यो घटना हाम्रा लागि पाठ भयो । तर त्यस बिरामी र परिवारका लागि त अप्रत्यासित अन्त्य भयो । त्यसपश्चात् हामीले रगत लिँदा दिँदा बढी होस् गर्ने ग¥र्याँै ।
एउटा संयोग पर्दा हामीले बिरामी गुमाउनुप¥र्यो भने त्यस्तै एउटा संयोगले बिरामी बाँचेको पनि छ । एकजना तिब्बती महिलाको प्रसंङ्ग । ती महिला शान्तभवन अस्पतालमा भर्ना भएर बसेकी रहिछन् । उनको दुवै गोडा नचल्ने भएको रहेछ । शान्त भवनबाट मलाई फोन आयो । एउटा बिरामीको अपरेशन गर्नुपर्ने । वीर अस्पताल पठाइ दिन आग्रह गरेँ मैले । बीरमा माइलोग्राम गरी हेर्दा उहाँको मेरुदण्डमा ट्यूमर देखियो । मैले अपरेशनको तयारी गरी शल्यक्रिया कक्षमा बिरामीको पहिलेको सबै रिपोर्ट नियाल्ने क्रममा मेरो ध्यान अनयासै रगतको ग्रुपको रिपोर्टले तान्यो । कहीँ कुनै अदृश्य शक्ति र अव्यक्त अन्तर प्रेरणाले हो, रक्त परीक्षणको रिपोर्टमा मलाई शंका लाग्यो । तुरुन्त ब्लड टेक्नोलोजिस्ट राधा देवीलाई बोलाई रगत जाँच गर्न लगाएँ । नभन्दै पहिलेको रिपोर्टमा रगतको ग्रुप नै गल्ती लेखिएको रहेछ । यदि पहिलेकै ग्रुपको रगत दिइएको भए मृत्यु निश्चित थियो । मेरो मनमा आकस्मिक रुपमा पलाएको शंकाले ज्यान बच्यो । अपरेसन पनि सफल भयो र उहाँ हिड्न सक्ने पनि हुनुभयो । आज पनि सोच्दा त्यो शंका मेरो मनमा किन पलायो ? यसको जवाफ म सँग छैन । सायद नियति भनेको यहि नै हो ।
यसरी हामी रक्तदातालाई अगाडि उभ्याई अपरेसन गथ्र्यौं ।
२०२३ सालमा नेपालमा पहिलो पटक ब्लड बैँक स्थापना भयो लक्ष्मी ब्लड बैँक । केशर शमशेर राणाको पहिलो श्रीमतीको निधनपश्चात् उहाँको छोरीले एउटा रेफ्रीजेरेटर र रु १०,०००।– नगद दान गरेर सुरु गरेकी थिइन् ।
यो बैँकले आजको ट्रमा सेन्टर भएको ठाउँमा एउटा सानो भवनमा जन्म लियो र हाम्रो जीवन धेरै सजिलो भयो । डा. धनन्जय रिमाल बेलायतबाट यसै सम्बन्धि तालिम प्राप्त गरी फर्कनुभएपछि यसमा अझ बढी उर्जा मिल्यो र यसमा राधादेवी श्रेष्ठ तथा वासुदेव पौडेलले प्राविधिकको तालिम लिएर फर्कनुभएपछि यस प्रक्रियामा धेरै सघाउनुभयो । पछि ब्लड बैँकको जिम्मा नेपाल रेडक्रसलाई सुम्पिइयो ।
(डा. गोँगल नेपालको पहिलो मस्तिष्क र मुटु खोल्ने सर्जन हुनुहुन्छ । हाल उहाँ बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा कार्यरत हुनुहुन्छ । यो लेख हामीले ‘एक सर्जनको गाथा’ पुस्तकबाट लिइएको हो । )

NH
Health News
प्रतिक्रिया दिनुहोस्