Logo
|
Friday 29th March 2024
Logo

epaper

५८ प्रतिशत महिलाले अझै पनि असुरक्षित गर्भपतन गराउने



जनस्वास्थ्य सरोकार, असोज १०, काठमाडौँ । अझै पनि ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गरेका छन् । करिब ७ प्रतिशतको असुरक्षित गर्भपतनकै कारण आमा र बच्चाको कारण ज्यान जाने गरेको छ । ‘पाँचौ राष्ट्रिय सुरक्षित गर्भपतन दिवस’ २०७६ का अवसरमा स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य कल्याण महाशाखाले राजधानीमा आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको हो ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. भिम सिंह तिंकरीले अझै पनि तालिम नभएका स्वास्थ्यकर्मी र सुचीकृत नभएका स्वास्थ्य संस्थाहरुले असुरक्षित गर्भपतन गराउनु चिन्ताको विषय भएको बताउँदै परिवार नियोजन सेवाको उपयोग र उपलब्धतामा बृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

राष्ट्रिय महिला आयोगका सचिव दिपेन्द्र काफ्लेले सुरक्षित गर्भपतन सेवालाई सबैको पहुँचभित्र पुर्याउनुपर्ने र असुरक्षित गर्भपतनबाट हुनसक्ने आमा र बच्चाको जोखिमबारे व्यापक जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।

हरेक वर्ष ३ लाख २३ हजार महिलाले गर्भपतन गराउने महाशाखाको अनुमान छ । करिब ५९ प्रतिशत महिलालाई गर्भपतनले कानुनी मान्यता पाएकोबारे नै थाहा छैन । करिब ५२ प्रतिशत महिलाहरु सुरक्षित गर्भपतन गराउने ठाउँबारे जानकार छैनन् । करिब १९ प्रतिशत महिलाहरुको अनिच्छित गर्भ रहने महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्