Logo
|
Wednesday 24th April 2024
Logo

epaper



आयुर्वेदिक चिकित्सा पद्धति पछिल्लो समयमा चिकित्सा क्षेत्रको बलियो पाटो बन्दै गएको छ । आयुर्वेद औषधि  प्राकृतिक जडीबुटीबाट बन्ने गर्छ । खासगरी, बोटबिरुवा, जनावर र खनिजपदार्थ आर्युवेदिक औषधिका स्रोत हुन् । जो कच्चा पदार्थ संकलन, प्रशोधन गरेर वा सीधै प्रयोगमा ल्याइन्छ ।  आयुर्वेद औषधिमा केमिकलको प्रयोग गरिँदैन । त्यसैगरी, यसको सेवनबाट अन्य असर हुँदैन । आयुर्वेदिक चिकित्साअन्तर्गत विभिन्न पद्धतिबाट उपचार गरिन्छ ।

उपचार पद्धतिऔषधि तथा जडीबुटी
आयुर्वेदिक औषधिको प्रयोगबाट जुनसुकै रोगको उपचार सम्भव छ । रोगको अवस्था हेरेर जडीबुटीको प्रयोग गरी रोगबाट बच्न सकिन्छ । भुइँअमला, त्रिफला, चिराइतो, कुटकी, तितेपाती, निम, सतावरी, अतिसार, बेल, पाँचऔंले, मधुमेहा, अश्वगन्धा आदि मुख्य जडीबुटी हुन् । यस्ता जडीबुटीको प्रशोधन गरेर विभिन्न रोगको औषधि बनाइने गरिन्छ ।

योग
योग शारीरिक, मानसिक तथा आध्यात्मिक अनुशासन हो । जसको माध्यमले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । योग एक उपचार पद्धति पनि हो, जसको माध्यमबाट विभिन्न समस्याबाट राहत पाउन सकिन्छ । स्त्रीरोग, हृदयरोग, अम्लपित्त, गठिया बाथ, नसाका समस्या, कम्मर र ढाडका समस्याका साथै मानसिक रोगका लागिसमेत प्रभावकारी मानिन्छ ।

पञ्चकर्म
आयुर्वेदिक मान्यताअनुसार  कुनै पनि औषधिको प्रयोग गर्नुभन्दा अगाडि पञ्चकर्म गर्न आवश्यक छ । पञ्चकर्मको माध्यमबाट हाम्रो शरीरका बिकार वस्तु बाहिर निकाल्न सकिन्छ । पञ्चकर्मभित्र धेरै विधा पर्छन् । जसमध्ये वमन, विरेचन, शिरोधरा, अनुवासन वस्ती र निरुह प्रमुख हुन् ।

कुन–कुन रोगको उपचार ? 
आयुर्वेद उपचार पद्धतिबाट सबैखाले रोगको उपचार गर्न सकिन्छ । खासगरी, ब्याक्टेरियल, भाइरल र फन्गल इन्फेक्सनजस्ता सरुवा रोगको उपचार सम्भव छ । जडिबुटीजन्य औषधिबाट यस्ता रोग निको पार्न सकिन्छ ।

आयुर्वेद औषधिको प्रयोगले रोग निको हुन बढी समय लाग्छ भन्ने आममानिसमा भ्रम रहेको पाइन्छ । जुन सत्य होइन । अनुपात (कुन वस्तुसँग के मिसाएर खाने भन्ने) मिलाएर यस्ता औषधि सेवन गरेमा छोटो समयमै रोग निको हुन्छ ।

नसर्ने रोग अहिलेका विकराल समस्या हुन् । जीवनशैली र रहनसहनका कारण यस्ता रोग बल्झिने गर्छन् । तसर्थ, उपचारसँगै जीवनशैली पनि परिवर्तन गर्नुपर्ने हुन्छ । जो आयुर्वेद उपचार पद्धतिसँग जोडिएको हुन्छ । हरेर रोगका लागि विशेष औषधि बनाइएका हुन्छन् । रोगको अवस्था हेरेर चिकित्सकको सल्लाहमा औषधि सेवन गर्दा हरेकखाले स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

क्षारसूत्र
क्षारसूत्र आयुर्वेदको मुख्य उपचार पद्धति हो । विभिन्न क्षारको प्रयोग गरी पायल्स, फिस्टुला, कुष्टरोग, ट्युमर, साइनसजस्ता रोगको उपचारका लागि प्रभावकारी मानिन्छ । औषधियुक्त धागोको प्रगोगगरी उपचार गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्