‘कण्डम बक्स’ सँधै रित्तो, निलो प्लेटको गाडीमा बजारमा बिक्री
जनस्वास्थ्य सरोकार, रोल्पा – नेपाल सरकारले गर्भनिरोधका लागि भन्दै ठूलो लगानी गरेर निशुल्क वितरणका लागि पठाएको कण्डम सेवाग्राहीले पाउनेभन्दा स्वास्थ्य संस्थाका गोदाममा थन्किन्छन्। सेवा ग्राहीले माग्न लाज मान्छन् भनेर प्रत्येक स्वास्थ्य सस्था र सार्वजनिक स्थानमा सुलभ पहुँचका लागि झुण्डाइएका कण्डम बक्सहरु प्राय रित्तै हुन्छन्। बाहिर चाहिए जती लानुहोस लेखिए पनि भित्र सँधै खाली रहने यी बक्स सरकारी उजुरी पेटिका जस्तै भएका छन्।
गाउँघरमा आज पनि मानिसहरु कण्डम माग्न वा किन्न असजिलो मान्छन्। ‘अस्पतालमा माग्न लाज लाग्छ। झुण्डाइएको भाडो सँधै रित्तो हुन्छ। कहिले आवस्यक परेको बेला मेडिकलमा किन्न गयो त्यहाँ पनि घेरै मान्छे देखेर नकिनेरै फर्किनुपर्छ।’ एक युवा भन्छन् ‘सरकारले निशुल्क दिने भनेको चिज त सहज उपलब्ध भए सजिलो हुन्थ्यो।’
जिल्लाका ५२ सरकारी स्वास्थ्य सस्था र अन्य सार्वजनिक स्थानमा गरी करिब ५ दर्जन ठाउँमा झुण्डाइएका कण्डम बक्स प्राय रित्तै छन्। ‘कार्यालयले बेवास्ता गरेकाले यसो भएको हो। कोहि स्वास्थ्यकर्मी कण्डम खुला राख्नु छाडा प्रवृति हो भन्नेमा छन् भने कोहि चाहिए माग्न आउछ भन्ने मान्यता राख्छन्। तर हरेक दिन भर्नु पर्ने हो।’ जिल्ला अस्पतालका सिनियर अहेब कुलबहादुर डागी भन्छन् ‘प्राय बच्चाले दुरुपयोग गर्छन् भनेर पनि बाकसमा राखेको पाइदैन।’
निलो प्लेटको गाडीमा कण्डम बिक्री
एकातिर सरकारी संस्थामा कण्डम सुलभ रुपमा उपलब्ध छैन भने अर्कोतिर नेपाल सिआरएस कम्पनीले भने युएसएआईडीको निलो प्लेटको गाडिमा कण्डम राखेर निजी मेडिकलहरुमा बिक्रि गर्न हिडिरहेको पाइन्छ। सरकारी निकायले नियमन गर्न नपाउने यी साधनहरुमा बिषेश गरी नेपालस्थित बिदेशी नियोगका मानिसहरु चढ्ने गर्दछन्। यसलाई बन्दमा समेत छोड्नुपर्छ।’ रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी भन्छन ‘ब्यापारिक प्रयोजनमा प्रयोग नहुनु पर्ने हो।’
यसरी निलो प्लेटको गाडीमा गर्भ निरोधका साधन बित्रीm गर्न हिड्ने सिआरएस कम्पनीका ब्यापारीले बिल भने अन्य निजी औषधि पसलको नामबाट काट्ने गरेका छन्। ‘पहिलेदेखि नै यस्तो चलिरहेको छ। निलो प्लेटको गाडीमा अस्थायी साधन ल्याउछन् बिल भने निजी डिस्टीब्युटरका नामबाट काट्छन्।’ औषधि ब्यबसायी शिब आचार्यले भने ‘नियमले त निलो प्लेटका गाडीले अस्थायी साधन बेच्न नपाउने हो जस्तो लाग्छ।’
देख्दा सामान्य देखिने तर अर्थ ठूलो राख्ने यस्ता विषयमा राज्य स्तरबाट समयमै ध्यान दिनु पर्ने देखिन्छ। निशुल्क पाइने भनिएका गर्भनिरोधका साधन सरकारी सस्थामा सुलभ रुपमा नपाइनु तर निलो प्लेटको गाडीले बेच्दै हिड्नुलाई सरकारको कमजोरीका रुपमा हेर्न सकिन्छ। नागरिकन्युजबाट