Logo
|
Friday 19th April 2024
Logo

epaper

स्तन क्यान्सर सचेतना महिना २०१९ः डा. कस्तुरीले सुनाइन् आफ्नो क्यान्सर कथा



जनस्वास्थ्य सरोकार, ललितपुर । स्तन क्यान्सरबारे जागरुकता बढाउन अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाईंदैछ । स्तन क्यान्सरको जोखिमबारे सचेतना बढाउने र यसको कारण, पहिचान, रोकथाम गर्ने उद्देश्यले अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाइन्छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउन लागिएको हो ।
यो महिना भर गुलाबी रंगको लुगा लगाउने या गुलाबी रिबन झुण्डाउने गरिन्छ । नेपालमा स्तन क्यान्सर लागेका, उपचार गराईरहेका र उपचारपछि निको भएका महिलाहरुप्रति ऐक्यबद्धता जनाउन र उनीहरुलाई प्रोत्साहित गर्न तथा क्यान्सर विरुद्ध लड्न प्रेरित गर्ने उद्देश्यले महिनाभर सचेतनामूलक कार्यक्रमहरु शुरु भएका छन् ।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा आज सुदिप्त ब्रेष्ट क्यान्सर सर्भाभर मिट सम्पन्न भएको छ । क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा भएको सो कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रशुति रोग विशेषज्ञ डा. कस्तुरी मल्लले आफू १८ वर्षदेखि स्तन क्यान्सरलाई जितेर सक्रिय जीवन बिताइरहेको कथा सुनाउनुभयो । उहाँले स्तन क्यान्सर शुरुको अवस्थामा पहिचान भई सही उपचार पाएमा कुनै समस्या नहुने अनुभव साट्नुभयो ।
सो अवसरमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले नेपालीहरुको क्यान्सर नेपालमा नै सम्भव भइरहेको बताउँदै स्तन क्यान्सर शुरुको अवस्थामा पहिचान गर्न सबै आ—आफ्नो क्षेत्रबाट वकालत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । वरिष्ठ स्तन क्यान्सर विशेषज्ञ डा. कपेन्द्र शेखर अमात्यले स्तन क्यान्सरबाट हुनसक्ने मृत्युबाट बच्न एक मात्र उपाय समयमै रोग पत्ता लगाउने र विशेषज्ञबाट उपचार गराउनुपर्ने बताउनुभयो । सो अवसरमा कार्यक्रमकी संयोजक स्वरुपा श्रेष्ठले क्यान्सर विरुद्ध सबैको एक्यवद्धता आवश्यक रहेको औंल्याउनुभयो ।
यसैबीच स्तन क्यान्सर सचेतना अभियानलाई व्यापक बनाउन नेपाल क्यान्सर हस्पिटल परिसरमा दिप प्रज्वल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्