Logo
|
Friday 29th March 2024
Logo

epaper

नीजि स्वास्थ्य संस्थाहरुले एक अर्कासँग स्वस्थ प्रतिस्पर्धा र समन्वय गरी बिरामीलाई उच्चतम सेवा किन नदिने

नियमन निकायले सेवा सुविधामा नीजिलाई पनि सहुलियत दिनु नितान्त आवश्यक



हालका दिनहरुमा नेपालमा नीजि स्वास्थ्य संस्था वर्षेनी धेरै संख्यामा खुल्ने गरेका छन् । यस क्षेत्रमा खुलेका संस्थाहरु यदाकदा मात्र घाटामा गई बन्द गरेको हामीले सुन्न पाउँछौँ नत्र भने दशकौँसम्म सेवा दिइरहेको स्वास्थ्य संस्थाहरुको राम्रै उपस्थिति रहेको छ । यसै कारणले नै नीजि स्वास्थ्य संस्था खोल्ने आकर्षण बढ्दो रुपमा हाम्रो देशमा देखिएको विगतका केही वर्षहरुमा देख्न सक्छौँ । यसको उदाहरण नयाँ नीजि ठूला अस्पतालहरु वर्षैनी खुल्नु, नयाँ चिकित्सापद्धति तथा उपचार नेपालममा नै उपलब्ध हुनु, मानिसको औसत आयु बढ्दै जानु, जटिल शल्यक्रियाहरु नेपालमा नै सम्भव हुनु जस्ता उदाहरण दैनिक समाचारमा हामीले सुन्न पाएका छौँ । केही दशक अघि सम्म गाउँघरमा हसिँयाले काटेर टिटानसलागि मानिसलाई बचाउन गाह्रो हुने स्थितिबाट आज ओपन हर्ट सर्जरी देखि प्लाज्मा रिप्लेस्मेन्ट थेरापी सम्मको युगमा आइपुगेका छौँ भने अंग प्रत्यारोपण सम्म नेपालमै संभव हुनुले नेपालको चिकित्सा क्षेत्रले पनि आधुनिक युगमा प्रवेश गरिसकेको कुरामा दुइमत छैन ।
एकातिर मुलुकले प्राविधिक चिकित्सा क्षेत्रमा दिन प्रतिदिन प्रगतिका पाइला चाल्दै गएको छ भने अर्कोतर्फ भने विगतमा जस्तो डाक्टर र विरामीको सुमधुर सम्बन्धमा केही समयदेखि नराम्रो वातावरण बन्न गएकोे अनुभव छ । कुनैपनि विरामी कुनै ठूलो, सानो, मझौला जुनसुकै संस्थामा गई निर्धक्क भई उपचार प्रक्रियामा सजिलै चिकित्सकको विश्वास गर्न सक्ने वातावरण नरहेको देखिन्छ । यस्तो वातावरणमा विरामीलाई मात्र गाह्रो हुने नभई भयावित वातावरणमा इमान्दारीपूर्वक चिकित्सकले उपचार सेवा दिन सक्ने अवस्था समेत रहदैन । चिकित्सकले विरामीलाई राम्ररी जाँच्नु अघि नै विरामीको बारेमा पूर्व मनस्थिति राख्नु हुदैन भन्ने नैतिकता समेत आज हाम्रो समाजमा पालना गर्न सक्ने अवस्था रहेको पाइदैन ।
विरामीले चिकित्सकलाई शंका, उपशंका गरी हेर्नुपर्ने र त्यस्तै चिकित्सकले पनि भयको वातावरणमा आफ्नो आत्मसुरक्षा तथा आत्मसम्मानको प्रत्येक विरामीको स्वास्थ्य परीक्षण गर्दा पुनः समीक्षा गर्नुपर्ने वातावरण भने नेपालमा धेरै अगाडी उत्पन्न भएको होइन । विगतमा यदाकदा अस्पतालमा भएका मृत्युको घटनालाई जनमानसमा प्रस्तुत गर्दा भएका विकृतिको कारणले गर्दा आज हाम्रो देशमा यस्तो कठिन समस्या उत्पन्न हुन गएको छ ।
यसरी कुनै मृत्युवरण भएको विरामीको मृत्युलाई जे–जस्तो कारणले गर्दा भएपनि चिकित्सकलाई दोषि तुल्याउने रुपान्तरीत गराइ अपराधीलाई जस्तो व्यवहार गर्ने परम्परामा प्रवेश गरेका छौँ । निष्पक्ष रुपमा समीक्षा गर्ने हो भने कुनै विरामीले मृत्युवरण गर्दा सो घटनालाई विरामीको परिवार र पक्ष अस्पताल र चिकित्सकको व्यक्तिगत जिम्मेवारीको रुपमा नलिई सो घटनालाई केही संचार माध्यमले आफ्नो क्षणिक प्रचारको लागि प्रयोग गर्ने, विरामीको पक्षले सकेसम्म दवाव सृजना गरी क्षतिपूर्ति माग्ने र सोही क्षतिपूर्ति माग्न भाडामा समेत हुल जम्मा गर्ने प्रवृतिले आज हाम्रो समाजमा चिकित्सक र विरामी बीचको उच्चतम सेवाको सम्बन्धलाई नराम्रोसँग असर गरेको छ । यसमा के बुझ्न जरुरी छ भने यसरी दवाव तथा नराम्रो प्रचार गरी कुनै चिकित्सक वा स्वास्थ्य संस्था माथि दोष थुपार्नु भन्दा यसको स्थायी निराकरण गर्नतिर समाज अग्रसर हुनुपर्दछ । अन्यथा हाम्रो जस्तो गरीब मुलुकले भर्खरै चिकित्सा क्षेत्रमा दशकौँ लगाएर हाँसिल गरेका उपलब्धि माथि नै नराम्रो असर पुग्ने देखिन्छ ।
तसर्थ आज हामी उभिएको ठाउँबाट हेर्दा चिकित्सक तथा विरामी पक्षको बीचको बिग्रिएको सम्बन्धबाट तेस्रो पक्षले दबाव सिर्जना गरी दुवैबाट फाइदा उठाइ आफ्नो झोला भर्ने काम गरेको स्पष्ट हुन्छ । त्यसैकारण आज कुनै अस्पतालमा असामायिक रुपमा कुनै विरामीले मृत्युवरण गरेमा सो घटनाले उग्र रुप लिदै गएको देख्छौँ र यस्तो वातावरण सिर्जना हुनुको कारण आज हाम्रो देशको चिकित्सा क्षेत्रको भविष्य नै अन्योलमा छ ।
यो समीक्षा कुनै एक घटना अथवा स्वास्थ्य संस्थामा सीमित रहेर होइन आजको दिनमा नेपालमा दिनानुदिन स्वास्थ्य संस्था र चिकित्सकमाथि लक्षित गरिएको घटनाहरुबाट उत्पन्न भय, त्रास र अन्यौलको समिक्षा हो । हाम्रो देशमा स्वास्थ्य संस्थाहरु विगतमा भन्दा धेरै खुलेका कारण प्रतिस्पर्धाको वातावरण सिर्जना भएको छ । यस्तो वातावरणमा स्वस्थ्य प्रतिस्पर्धा भएमा देशवासीलाई फाइदा नै पुग्ने हुन्छ । तर स्वस्थ प्रतिस्पर्धाको वातावरण नबनाइ एउटा अस्पतालले अर्को अस्पतालमा हुल हुज्जत भएको समाचार सुन्दा आफ्नोमा बिरामी बढ्ने र प्रतिस्पर्धा कम हुने भनी दङ्ग पर्ने र आवश्यक परेमा सो विषयमा टिका टिप्पणी समेत गर्ने वातावरण रहेको छ । यसरी अस्वस्थ प्रतिस्पर्धाको वातावरण अस्पतालमा मात्र नभई चिकित्सकहरु एक आपसमा समेत रहेको हुँदा सो विषयमा गम्भीर हुनु आवश्यक छ । यसरी विकृति फैलिएको अवस्थामा एक अर्कालाई देखाई हाँस्नु, खुसी हुनु भनेको मुर्खता मात्र नभई सिङ्गो समाजलाई नै आफ्नो स्वार्थतिर डो¥याउनु जस्तै नै हो । यस्तो मनस्थिति समाजमा व्याप्त भएमा कुनै दिन चिकित्सक पेशा र स्वास्थ्य संस्था मात्र धरापमा नपरी सो संस्थामा आवद्ध कयौँ कर्मचारीहरुको र उनीहरुको परिवारको रोजीरोटी खोसिने मात्र नभई सुलभ स्वास्थ्य सेवाबाट नै सेवाग्राही वञ्चित हुनुपर्ने अवस्था नआउला भन्न सकिदैन ।
यस विषयमा गम्भिर ध्यानाकर्षण हुनु जरुरी रहेको छ तर वास्तविकता हेर्ने हो भने यस्ता विषयमा हामी कसैको ध्यान र विवेक पुगेको भने देखिदैन । बरु विरामीले मृत्युवरण गरिसकेपछि सो घटनाको राजनितिकरण गर्न÷गराउन सबै पक्ष एकजुट भएको हामी देख्छौँ । साधारणतया राजनितिकरणको अर्थ कुनै पक्ष लिनु भन्ने बुझ्नुपर्दछ । मृत्युवरण गर्नुअघि आफ्नो परिवारको मात्र साथ पाएको विरामीलाई मृत्यु पर्यन्त कुनै राजनीतिक दल, क्लब, समिति आदीले आफ्नो पक्ष बनाई सो घटनाको माध्यमबाट आफ्नो प्रचारवाजी समेत गर्ने गरेको हाम्रो यथार्थ भोगाई रहेको छ । तसर्थ यस किसिमको विकृति ल्याउनमा मृत्युपश्चात् बिरामीको राजनितिकरणको पनि ठूलो भूमिका रहेको बिषयमा समेत सम्बन्धित सबैको ध्यानाकर्षण हुन जरुरी भइसकेको छ ।
यस्ता चुनौतिहरुको सामना गर्दै आजको दिनमा देशवासीहरुको ठूलो, सानो स्वास्थ्य समस्यालाई कुनै न कुनै रुपमा उपचार सेवा पुर्याईरहेको सम्पूर्ण स्वास्थ्य संस्थाहरुप्रति सहृदयी भावनाको साथमा यी चुनौतिहरुसँग जुध्न ऐक्यवद्धता जनाउँदै बिरामीको मृत्युवरणको घटना लापरवाही हो वा होइन, के–कस्तो अवस्थामा सो बिरामीको मृत्यु भएको हो भन्ने बारे प्रारम्भिक अवस्थादेखि नै सरकारी विशेषज्ञहरुको संलग्नतामा सरकारी नियमन निकायद्धारा स्पष्ट रुपमा छानविन हुनुपर्दछ । दोषीलाई कानुनको दायरामा उपस्थित गराउन सकिएमा मात्र यस्तो समस्याको स्थायी समाधान हुन्छ । कुनै स्वास्थ्य संस्थामा दबाव दिई, हातपात गरी सानो, ठूलो रकम हात पार्ने संस्कृतिले समस्यालाई झन् झन् जटिल बनाउँदै लग्दछ । यसको प्रत्यक्ष उदाहरण विगतको दिनका समाचारहरुमा हामी देख्न पाउँछौँ ।
देशमा रहेका साना, ठूला, स्वास्थ्य संस्था चाहे जतिसुकै सानो किन नहोस् स्थानीय तहमा त्यसको समाजिक देन ठूलो हुन्छ । टाढाको ठूलो अस्पताल भन्दा नजिकै रहेको सानो क्लिनिकले आपतकालीन अवस्थामा मानिसको ज्यान बचाएको उदाहरणहरु प्रशस्तै भेटिन्छन् । तसर्थ कुनै स्वास्थ्य संस्था बन्द हुनु भनेको समाजलाई ठूलो घाटा लाग्नु हो यो कुरा हामी सबैले बुझ्नुपर्दछ । संस्थालाई नियम, कानुनको दायरामा ल्याई उचित व्यवस्थापन सरकारी र संस्था आफै नीजि स्तरमा गरी उच्चतम सेवा पु¥याउनु सबैले सहयोग गर्नुपर्दछ किनभने स्वास्थ्य संस्था सबैको साझा हो । नेपालको परिप्रेक्ष्यमा त ७०% विरामी नीजि स्वास्थ्य संस्थामा जाने तथ्याङ्क नै सार्वजनिक छ । संस्थाहरुले निःशुल्क उच्चतम सेवा (जटिल शल्यक्रियाहरु) समेत उपलब्ध गराई हातेमालो गरेका छन् ।
तसर्थ सरकारसँग नेपालका नीजि स्वास्थ्य संस्थाहरुको सामाजिक देनको पनि उचित मुल्याङ्कन गरिनु जरुरी रहेको छ । यदि राम्रोसँग समिक्षा गर्ने हो भने नीजि स्वास्थ्य संस्थाहरु विना सरकारको स्वास्थ्य नीति नै धरासायी हुने वातावरणमा उचित व्यवस्थापन गरिनुपर्दछ । तर नियमन निकायले सेवा सुविधामा भने नीजिलाई पनि सहुलियत दिनु नितान्त आवश्यक छ । त्यस्तै नीजि स्वास्थ्य संस्थाहरुले पनि एक अर्कासँग स्वस्थ प्रतिस्पर्धा र समन्वय गरी बिरामीलाई उच्चतम सेवा दिनु जरुरी छ । स्वास्थ्य संस्था र चिकित्सकहरु सबैको लक्ष्य विरामीलाई उच्चतम सेवा दिने हुनुपर्दछ, अस्वस्थ प्रतिस्पर्धा र विरामी तानातानको वातावरण हुनहँुदैन । यसको अन्त्य भएमा नेपालको स्वास्थ्य क्षेत्रमा अनुकरणीय सुधार भई आउँदा दिनहरुमा देश र देशवासीको स्वास्थ्य सेवामा सुधार आई समन्वयताको वातावरणमा सेवा संचालन गर्न सकिने अवस्था सिर्जना हुन सक्दछ । यसमा सम्बन्धित सबैले पहल गरी नीति निर्माण गर्नु जरुरी छ । चिकित्सक, स्वास्थ्य संस्था र बिरामीको सम्बन्धबाट कसैले पनि व्यक्तिगत फाइदा उठाउने वातावरणको अन्त्य गरी सबैले स्वास्थ्य संस्थाप्रति सकारात्मक सोचाई राख्नु आजको चरम आवश्यकता हो । यसबाट देशको कुनै पनि व्यक्ति, स्वास्थ्य संस्था, चिकित्सक, समाज, टोल, पृथक छैन, यो हामी आफैँले छिटो भन्दा छिटो गरी उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मेवारी बोध आजको दिनमा अत्यन्तै आवश्यक देखिएको हुँदा यस विषयमा सबैले एकजुट भई कार्य गर्नुपर्ने अवस्था टड्कारो भइसकेको छ ।
(लेखक काठमाडौंको चावहीलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा प्रशासनिक व्यवस्थापक पदमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्