Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस गरेको करिब दुई महिनामा अल्ट्रा–फिल्ट्रेसन उपचार



जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी ओली अस्वस्थ भएपछि बुधबार बिहान धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पताल भर्ना भएका छन् । नियमित जाँचका लागि अस्पताल पुगेका उनलाई चिकित्सकहरूले भर्ना नै गरेर उपचार गरिरहेका छन् ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको रगतमा हानिकारक तत्व क्रियटाइन बढी देखिएपछि अल्ट्रा–फिल्ट्रेसन गरिएको छ । ‘शरीरको एन्टिबडिज हटाउन प्लाज्मा फेरेसिस र हेमोडायलाइसिस गरेभन्दा यो फरक तरिका हो,’ ती चिकित्सकले नयाँ पत्रिकासँग भने, ‘तत्कालका लागि जरुरत पर्दा अल्ट्रा–फिल्ट्रेसनमार्फत रगत शुद्धीकरण गरिन्छ ।’ बुधबार रातिसम्म पनि प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको सबै रिपोर्ट आइनसकेकाले डायलाइसिस गर्नुपर्ने वा नपर्ने यकिन नभएको चिकित्सकको भनाइ छ ।

प्रधानमन्त्रीको अनुहार र शरीरका केही भागमा स्वायलिङ (सुन्निने) समस्या देखिएको अस्पताल स्रोतले जनायो । ज्वरोसमेत बढेको छ । विगतमा पनि कहिलेकाहीँ यस्तो समस्या देखिँदै आएको थियो । अस्पतालले भने विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जनाएको छ ।

‘उहाँको स्वास्थ्य स्थिति सामान्य छ । सम्माननीयज्यूको आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलि (बिहीबार) बिहानसम्म डिस्चार्ज गरिनेछ,’ ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीको निजी चिकित्सकसमेत रहेकी ग्रान्डीकै नेफ्रोलोजी विभागकी अध्यक्ष डा. दिव्या सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दसैँअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नियमित स्वास्थ्य परीक्षण गरेकोमा प्रधानमन्त्री यसपटक सहजताका लागि निजी चिकित्सक सिंह नै नेफ्रोलोजी विभाग प्रमुख रहेकाले ग्रान्डी गएका हुन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई धपेडी नगर्न र भिडभाडबाट टाढै रहन चिकित्सकहरूले सुझाब दिँदै आएका छन् । तर, तिहारमा सिस्नुपानी नेपालको देउसी–भैलो कार्यक्रममा सहभागी भएका थिए । भेटघाटसहितका नियमित काममा पनि सक्रिय रहँदै आएका छन् ।

स्वास्थ्य परीक्षण बाँकी रहेकाले अस्पतालमै बस्नुपरेको हो : डा. कुन्दन अर्याल
प्रधानमन्त्रीका प्रेस सल्लाहकार 

प्रधानमन्त्रीज्यू नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल जानुभएको थियो । चिकित्सकहरूको परामर्शअनुसार स्वास्थ्य परीक्षण बाँकी नै रहेकाले अस्पतालमै बस्नुभएको हो ।

गत भदौमा सिंगापुरमा गरिएको थियो ‘प्लाज्मा फेरेसिस’

१२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएपछि गत साउन र भदौमा प्रधानमन्त्री केपी ओलीले सिंगापुरमा उपचार गराएका थिए । १८ साउनमा सिंगापुर गएका प्रधानमन्त्री ओली त्यहाँको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर २७ साउनमा फर्किएका थिए । त्यसको १० दिनपछि ५ भदौमा उनी फेरि सिंगापुर गएका थिए । त्यतिखेर ‘प्लाज्मा फेरेसिस’ गरेर उनी २० भदौमा स्वदेश फर्किएका थिए ।

मिर्गौला अथवा कुनै पनि अंग प्रत्यारोपण गरिएपछि शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाइन्छ । किनकि, प्रत्यारोपण गरिएको अंगलाई शरीरले अस्वीकार नगरोस् भनेर औषधि दिइएको हुन्छ । त्यो औषधि प्रयोग भएपछि शरीरमा आएका अन्य कीटाणुलाई चिन्ने र अस्वीकार गर्ने क्षमता पनि कमजोर हुन्छ । अर्काको मिर्गौला राखेको शरीरले नचिन्दासम्म निरन्तर काम गरिरहन्छ । तर, चिनेपछि समस्या देखिन थाल्छ, एन्टिबडिज बनाउन थाल्छ ।

शरीरबाट ‘एन्टिबडिज’ हटाउन प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो । यो प्रक्रियामा रगतबाट एन्टिबडिज निकालिन्छ अथवा एन्टिबडिज बढ्न नदिने औषधि प्रयोग गरिन्छ । यसले कसैलाई फाइदा पनि गर्छ, कसैलाई नगर्न सक्छ । यसबाट सुधार नभए मिर्गौला प्रत्यारोपण वा डायलाइसिसमै जानुपर्छ । मिर्गौलाले पिसाबबाट फाल्न नसकेर रगतमा जाम भएको फोहोर डायलाइसिस गरेर हटाइन्छ । डायलाइसिसमा रगत क्रमशः बाहिर निकालिन्छ, सफा गरिन्छ र पुनः राखिन्छ । यसको चक्र हुन्छ ।

के हो अल्ट्रा–फिल्ट्रेसन ?

रगतमा बिकारको मात्रा अत्यधिक भएमा र तत्कालै उपचार गर्नुपर्ने भएमा अल्ट्रा–फिल्ट्रेसन प्रक्रिया अपनाइन्छ

शरीरमा सञ्चार हुने रगतलाई स्वच्छ राख्न मिर्गौला सबैभन्दा महत्वपूर्ण अंग हो । शरीरमा उत्पन्न सम्पूर्ण बिकार छान्ने काम मिर्गौलाले गर्छ । अनावश्यक तत्व पिसाबबाट बाहिर निकाल्छ । आवश्यक तत्व रगतमार्फत शरीरमा सञ्चार गर्छ । मिर्गौला सामान्य अवस्थामा भएसम्म यो सबै भइरहन्छ ।

तर, मिर्गौला आफैँले सही मात्रामा काम गर्न नसकेमा शरीरलाई आवश्यक पर्ने प्रोटिनजस्ता तत्वहरू पनि पिसाबमार्फत बाहिर फालिदिन्छ । युरियाजस्ता तत्वहरू पनि रगतमा पठाइदिन्छ । जसले गर्दा रगतमा बिकारजन्य पदार्थहरू बढ्दै जान्छन् ।

तर, मिर्गौला आफैँ स्वस्थ नभए शरीरको रगत स्वतः बिकारयुक्त हुन्छ । शरीरमा भएका बिकारहरू एकमुष्ट रूपमा बाहिर फाल्न र रगतलाई लामो समयसम्म स्वच्छ राख्नका लागि प्लाज्मा फेरेसिस गरिन्छ । यो प्रक्रियामा शरीरमा उत्पन्न एन्टिबडी बाहिर निकालिन्छ र जसले प्रत्यारोपण भएको मिर्गौलालाई काम गर्न सहज बनाउँछ ।

शरीरमा भएको बिकार बाहिर निकाल्ने प्रक्रियाअन्तर्गत हेमोडायलाइसिस अर्थात् डायलाइसिस गरिन्छ । यो भनेको शरीरको बिकार छान्ने प्रक्रिया नै हो । तर, रगतमा बिकारको मात्रा अत्यधिक भएमा र तत्कालै उपचार गर्नुपर्ने भएमा अल्ट्रा–फिल्ट्रेसन प्रक्रिया अपनाइन्छ । हेमोडायलाइसिस एकपटक गरेर पुग्दैन । अल्ट्रा–फिल्ट्रेसन पनि त्यस्तै हो । तर, रगतमा सञ्चार हुने बिकारको गति हेरेर अल्ट्रा–फिल्ट्रेसन कतिपटक गर्ने भनेर डाक्टरहरूले निश्चित गर्छन् । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्