Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कस्तो अवस्थामा मेरुदण्डको शल्यक्रिया गर्ने ?



आजभोलि विशेषगरी वयस्क मानिसमा ढाड, कम्मर तथा गर्दन दुख्ने समस्या बढ्दै गएको पाइन्छ । यसलाई समग्रमा मेरुदण्ड (स्पाइन)सम्बन्धी समस्या भएको बुझ्नुपर्छ । यद्यपि, अधिकांशले यसको उपचार गराउँदैनन् । व्यस्त जीवनशैली, बसाइको तरिका नमिल्दा, अत्यधिक तौल, मानसिक चिन्ता र काम गर्दा ढाडमा असर पर्ने कारणले गर्दा उनीहरूमा मेरुदण्ड दुखाइ हुने गर्छ । यसबाहेक चोटपटक, संक्रमण, हड्डीमा ट्युमर तथा क्षयरोगका कारण पनि स्पाइनमा समस्या आउने हुन्छ ।

९० प्रतिशतको शल्यक्रिया गर्नुपर्दैन
मेरुदण्डसम्बन्धी ९० प्रतिशत समस्या शल्यक्रियाविना नै सन्चो हुन्छ । बस्दा वा काम गर्दा ढाडलाई असर नपर्ने गरी बस्ने, नियमित व्यायाम गर्ने, औषधि सेवन तथा फिजियोथेरापीबाट मेरुदण्ड दुख्ने समस्याको उपचार गर्न सकिन्छ । नसा च्यापिएर हुने दुखाइको उपचार कहिलेकाहीँ प्यारालाइसिस हुने डरले शल्यक्रिया गरिन्छ । तर, बिरामीको अवस्था सामान्य भएमा फिजियोथेरापी, प्राकृतिक चिकित्सा पद्धतिबाट समेत उपचार गर्न सकिन्छ ।

गर्नैपर्ने अवस्था
मेरुदण्डसम्बन्धी बिरामीमध्ये करिब १० प्रतिशतको मात्रै शल्यक्रिया गर्न जरुरी छ । अत्यधिक दुखाइका कारण संक्रमण र ट्युमर हुन सक्ने भएकाले शल्यक्रिया (स्पाइनल सर्जरी)को आवश्यकता पर्छ ।
मेरुदण्ड बांगिने समस्या स्कोेलियोसिस र किफोसिस भएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
ढाडमा चोटपटक लागेर हड्डीमा समस्या आएमा पनि शल्यक्रिया आवश्यक छ ।
विभिन्न कारणले नसा च्यापिएर प्यारालाइसिस हुने स्थिति आएमा चिकित्सकसँग सल्लाह गरेर तुरुन्त शल्यक्रिया गर्नुपर्छ ।

कारण, रोकथाम र उपचार
– मेरुदण्डमा समस्या आउँदा कुप्रिँदै जाने हुन्छ । यसले मुटु, फोक्सो र छातीमा समेत असर पार्छ । यसर्थ, मेरुदण्डमा समस्या आउन नदिन समयमै यसबारे सचेत हुन जरुरी छ ।
-गर्दनलाई असर पर्ने गरी भारी सामान उठाउने गर्नु हुँदैन । यसले मेरुदण्डको हड्डीलाई असर पर्छ ।
– दैनिक घोप्टो परेर सुत्दा मेरुदण्डलाई असर पर्छ । पेटको बलले मेरुदण्ड, गर्दन र जोर्नीमा दुखाइ उत्पन्न गराउँछ ।
-क्याल्सियमको कमीले पनि मेरुदण्डमा समस्या देखा पर्छ । यसर्थ, क्याल्सियमजन्य खाद्यपदार्थ नियमित सेवन गर्नुपर्छ ।
-लामो समयसम्म फोन प्रयोग गर्ने मानिसमा समेत मेरुदण्डसम्बन्धी समस्या देखिन सक्छ । एकातिर मात्र निहुरिएर बस्दा मेरुदण्डको माथिल्लो भागमा दुखाइ उत्पन्न हुन्छ ।
– धूम्रपानमा हुने निकोटिनले रक्तसञ्चारमा असर पार्दछ । त्यस्तै, मेरुदण्डमा समेत समस्या देखिने भएकाले धूम्रपान छोड्न अत्यावश्यक छ ।  (स्पाइन सर्जन डा. गौरव ढकाल राष्ट्रिय ट्रमा सेन्टर कार्यरत हुनुहुन्छ । )

 

प्रतिक्रिया दिनुहोस्