Logo
|
Friday 29th March 2024
Logo

epaper

किन हुन्छ फोक्सोमा क्यान्सर ?



फोक्सोमा हुने श्वासनली र कोषिका असामान्य रूपमा बढ्नुलाई फोक्सोको क्यान्सर भनिन्छ । फोक्सोमा हुने क्यान्सर मुख्यतः दुई किसिमका हुन्छन्, स्मल सेल र नन् स्मल सेल । नेपालमा हाल रहेका क्यान्सरका रोगीमध्ये सबैभन्दा बढी नन् स्मल क्यान्सर भएका पाइएका छन् । जो ४० प्रतिशत रहेको तथ्यांक छ । नन् स्मल सेलमा पनि तीन किसिमले क्यान्सर हुने गर्छन् । ती हुन्, एडेनो कार्सिनोमा, स्क्वामस सेल कार्सिनोमा र लार्ज सेल कार्सिनोमा ।

कारण
फोक्सोमा क्यान्सर हुने कारण धेरै छन् । यद्यपि, धुम्रपान, प्रदूषित वायु, बाहिर जथाभाबी राखिएका खानेकुरा आदिको सेवनले क्यान्सर हुने गर्छ ।
अध्ययनअनुसार धूम्रपान तथा सुर्तीजन्य चिजहरूमा हुने निकोटिन, सल्फर डाइअक्साइड, कार्बन, नाइट्रोजन अक्साइडजस्ता पदार्थका कारणले क्यान्सर हुन्छ ।
विषादी प्रयोगबाट पनि क्यान्सर हुने गर्छ । वायुमा हुने क्यान्सरजन्य वस्तुको सम्पर्कबाट पनि यो रोग लाग्छ ।
यसबाहेक, कतिपयमा वंशानुगत कारणले पनि क्यान्सर हुन्छ ।

लक्षण

-छाती दुख्नु फोक्सोको क्यान्सरको पहिलो लक्षण हो ।  संक्रमण भएमा छाती दुख्ने गर्छ ।
-लामो समयदेखि निमोनिया र क्षयरोगको उपचार गराइरहेका बिरामीमा पनि फोक्सोको क्यान्सर हुने गर्छ ।
– नियमित चुरोट खाने व्यक्तिमा सुक्खा खोकी लाग्ने र खकारमा रगत देखापर्ने हुन्छ ।
-सास फेर्न गाह्रो हुने र सानो काम गर्दा पनि स्वाँ–स्वाँ हुन्छ । साथै, दमको बिरामीमा फोक्सोको क्यान्सर हुने सम्भावना उच्च रहन्छ ।
-फोक्सोमा क्यान्सरको अर्को लक्षण तौल घट्नु हो ।
– फोक्सोको क्यान्सर कहिलेकाहीँ एक ठाउँबाट अर्को ठाउँमा सर्दै गएमा घाँटीमा गाँठागुँठी  देखिने पनि हुन सक्छ ।

रोकथाम र उपचार
धूम्रपान, अस्वस्थ खानपान र प्रदूषणबाट जोगिन सकेमा फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ ।  रोगको लक्षण देखिनेबित्तिकै तुरुन्त सम्बन्धित चिकित्सकसँग सल्लाह लिन आवश्यक हुन्छ । तर, नेपालमा ज्ञानको कमी र स्वास्थ्य सेवाको सहज पहुँचको अभावका कारण अधिकांश बिरामी क्यान्सरको अन्तिम स्टेजमा मात्र अस्पताल पुग्ने गरेको पाइन्छ । क्यान्सरको स्टेजको आधारमा शल्यक्रिया, रेडियोथेरापी र किमोथेरापी आदिको माध्यमबाट उपचार गर्न सकिन्छ । रोगको स्टेज सिटीस्क्यान र मासुको जाँच गरेर पत्ता लगाइन्छ ।
यसरी पहिलो र दोस्रो स्टेजको बिरामीलाई शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । तेस्रो र चौथो स्टेजका बिरामीका लागि किमोथेरापी र रेडियोथेरापीको माध्यम अपनाउनुपर्छ ।

(छातीरोग विशेषज्ञ प्रा.डा. नीरज बम त्रिवि शिक्षण अस्पतालमा कार्यरत हुनुुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्