Logo
|
Friday 29th March 2024
Logo

epaper

यसकारण च्यापिन्छ नसा



मेरुदण्डमा नसासम्बन्धी अनेकौँ समस्या देखिन्छन् । तीमध्ये एक हो, नसा च्यापिने समस्या । यो कुनै ठूलो रोग नभई मेरुदण्डमा हुने मांसपेशी र नसाको कमजोरीका कारण हुने यान्त्रिक समस्या हो । एक नसाले अर्को नसालाई च्यापेको अवस्थालाई नसा च्यापिनु भन्ने सामान्य बुझाइ छ, जुन गलत हो । भनिन्छ, जो गलत हो ।

कारण र लक्षण 
– हाम्रो शरीरका प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिक्स विभिन्न कारणले बाहिर निस्केर नसालाई च्याप्ने गर्छ ।
– नसा च्यापिने समस्या शरीरका जुनसुकै भागमा हुन सक्छ । तर, मेरुदण्ड वा कम्मरमा यो समस्या बढी हुन्छ । नेपालमा ढाड दुखेर वा हड्डीसम्बन्धी कुनै समस्या लिएर अस्पताल आएका बिरामीमध्ये अधिकांशमा नसा च्यापिने समस्या भएको पाइन्छ ।
– नसा च्यापिनुको मुख्य लक्षण दुखाइ हो । कम्मरको नसा च्यापिएमा ढाडका हड्डी बेस्सरी दुख्ने, एकै ठाउँमा धेरैबेर बस्न नसक्ने, लामो समस्यसम्म उभिँदा वा हिँड्दा दुख्ने, खुट्टा झम्झमाउने र पोल्ने आदि हुन्छ । यसको असर विशेषगरी खुट्टामा पर्छ ।
– उमेर बढ्दै जाँदा अधिकांशमा नसा च्यापिने समस्या स्वतः हुने गरेको पनि पाइन्छ ।
– लामो समयसम्म कुर्सीमा बसेर वा अगाडि झुकेर काम गर्नेमा समेत यस्तो समस्या बढी देखिन्छ । साथै, खेलकुद दौरान खेलाडीमा, गर्भावस्था, अत्यधिक मोटोपना भएमा र दुर्घटनाका कारण पनि नसा च्यापिने गर्छ ।

रोकथाम र उपचार
– ढाड र मांसपेशीमा असर पर्नेगरी भारी काम नगर्ने, तौल नियन्त्रण गर्ने, बसाइको व्यवस्थापन गर्ने गरेमा नसा च्यापिने समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।
– नसा च्यापिएको जस्तो लाग्नेगरी ढाड दुखेमा तुरुन्त चिकित्सककोमा जानुपर्छ । एमआरआई गरेर यसको अवस्थाबारे थाहा पाउन सकिन्छ ।
– अवस्था हेरेर कन्जरभेटिभ र अपरेटिभ उपचार पद्धति अपनाएर उपचार गर्न सकिन्छ । यदि, दुखाइ प्रारम्भिक चरणमा छ भने, औषधिको प्रयोग तथा फिजियोथेरापीबाट यसको उपचार गर्न सम्भव छ ।
– यसबाहेक नसा च्यापिएको ठाँउमा सानो शल्यक्रिया गरेर उपचार गरिन्छ । खासगरी अर्थोपेडिक सर्जन र न्युरो सर्जनले  मेरुदण्डको शल्यक्रिया गर्छन् । (हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. दीपक श्रेष्ठ सहिद मेमोरियल अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्