Logo
|
Friday 29th March 2024
Logo

epaper

के हो मोतीबिन्दु ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आँखाको पारदर्शितामा धमिलोपन आई हेर्ने क्षमतामा कमी आउनुलाई मोतिबिन्दु भएको भनिन्छ । नेपालमा अन्धोपन तथा न्यून दृष्टि गराउने आँखाको समस्यामध्ये मोतिबिन्दु प्रमुख कारण हो । प्रायः उमेर बढ्दै गएपछि अधिकांश मानिसमा यो देखिने गर्छ ।
किसिम र लक्षण
मोतीबिन्दु विभिन्न किसिमका हुन्छन् । आँखाको देख्ने क्षमता वा भिजुअल एक्युटी, स्लिट ल्याम्प आदिको परीक्षण गरी मोतीबिन्दुको अवस्था पत्ता लगाउन सकिन्छ ।  मोतिबिन्दु भएमा आँखामा धमिलोपन बढ्दै जाने, बाहिर हेर्दा बादलले ढाकेजस्तो देखिने, लगाएको चस्मा पुछिरहन मन लाग्ने, लेन्स फेर्दा पनि आँखा नदेख्ने वा सजिलैसँग देख्न नसक्नु आदि मोतिबिन्दुका लक्षण हुन् ।
कारण
जुनसुकै उमेरका मानिसमा मोतीबिन्दुको समस्या देखिन सक्छ । तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतीबिन्दु हुने सम्भावना बढी भएको पाइन्छ । खासगरी, बुढेसकालमा प्रोटिनको कमीका कारण आँखाको लेन्स क्षमतामा आउँछ । फलस्वरूप आँखाले धमिलो देख्न थाल्छ ।  मधुमेह तथा हाइपरटेन्सनजस्ता रोगका कारणसमेत मोतीबिन्दु हुने गरेको पाइन्छ । शरीरमा विषाक्त पदार्थको मात्रा बढ्नु, विकिरण, सूर्यको परावैजनी किरण, सूर्तीजन्य पदार्थको सेवन आदि बाह्य कारणले आँखामा असर गर्छ ।
कतिपय अवस्थामा वंशानुगत गुणका कारण पनि मोतीबिन्दु हुन सक्छ । तर, यस्तो एकदमै कम मात्र हुन्छ ।
 रोकथाम तथा उपचार
मोतीबिन्दुबाट बच्न निकोटिन वा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, आँखाको नियमित परीक्षण गर्ने गर्नुपर्छ । बालबालिकाको आँखा ठीक भए÷नभएको जाँच गराउने, चोटपटक लाग्नबाट बचाउने र नियमित पौष्टिक आहार सेवन गरेमा मोतिबिन्दुको समस्याबाट केही हदसम्म बच्न सकिन्छ । मोतीबिन्दु भइसकेपछि सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधिले ठीक हुँदैन । शल्यक्रिया भनेको पुरानो लेन्स निकालेर कृत्रिम लेन्स राख्ने हो । आँखामा रहेको लेन्सलाई ढाक्ने झिल्ली सानो प्वाल पारेर लेन्स निकालिन्छ । यो सानो, तर सुरक्षित शल्यक्रिया हो । मोतीबिन्दुको कारण आँखाको दृष्टिमा समस्या भएमा शल्यक्रियाबाट पूर्ण रूपमा ठीक गर्न सकिन्छ । (आँखारोग विशेषज्ञ डा. संयुक्ता विष्ट कार्की दृष्टि आँखा केन्द्रमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्